परिकार

किराँत, राई, लिम्बुहरूको विशेष परिकार वाचिपा अर्थात् तिते

आर. बी. बुढाथोकी
आर. बी. बुढाथोकी

दि सोल्टी होटल काठमाडौंमा 'सुसेफ'को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् 

किराँत, राई, लिम्बुहरूको विशेष परिकार वाचिपा अर्थात् तिते

किराँत, राई, लिम्बुहरूको विशेष परिकार वाचिपा अर्थात् तिते धेरैको रोजाइको परिकार मानिन्छ । किराँतहरूको उधौली उभौली (चण्डी) पर्वमा या विशेष पाहुनाको लागि तयार गरिने यो खानाको छुट्टै पहिचान छ ।


Advertisement

लोकल कुखुराको टाउको, खुट्टा, भित्री भागलाई मसिनो गरी काटेर, कुखुराको रगत, पोलेको कुखुराको प्वाखको झुर्का र चामलको भात मिसाएर पकाएको हुन्छ ।


Advertisement

किराँत, राई, लिम्बुहरूको विशेष परिकार वाचिपा अर्थात् तिते बनाउन चाहिने सामग्री :

लोकल कुखुराको टाउको, खुट्टा, कलेजो, आन्द्रा, जाते, मुटु, कलेजो सहितको मसिनो गरी टुक्र्याएको मासु १/२ किलोग्राम, कुखुराको रगत–२५ एमएल, पाकेको चामलको भात २ कप, तेल–३० एमएल, काटेको प्याज १ पिस, अदुवा लसुन, जिरा, खुर्सानी पिसेको २ चम्चा, नून स्वाद अनुसार, कागतीको रस ५ एमएल ।


Advertisement

किराँत, राई, लिम्बुहरूको विशेष परिकार वाचिपा बनाउने तरिका :

सर्वप्रथम बाक्लो कराइ बसालेर तेल तताउने र प्याज भुट्ने । खैरो कलर हुनासाथ काटेको मासु हालेर मज्जाले भुट्ने । ७–१० मिनेट भुट्नासाथ पिसेको मसला हालेर एकछिन पकाउने र आवश्यकता अनुसार नून हाल्ने । मसिनो गरी काटेको गोलभेडा हालेर चलाउने । राम्ररी पाकेपछि ताजा कुखुराको रगत पोलेको प्वाखको झुर्कामा पाकेको चामल हालेर मिक्स गर्नासाथ पाकेको मासुमा हालेर चलाउने र एकछिनमा निकालेर सर्भ गर्ने । 

यो परिकार बनाउँदा धेरै ख्याल पुर्‍याउनुपर्छ । काटेको कुखुराको भुत्लालाई राम्ररी पोलेर पहिलो लटको पूरै फ्याकेर छालामा रहेको डढेको कालो झुर्कालाई मात्र संकलन गरेर रगतमा मिसाउनुपर्छ । यो परिकार हल्का तितो, अमिलो खालको निकै स्वादिष्ट हुन्छ । गैरराइ लिम्बुले यो परिकार बनाउन अलि गाह्रो नै हुने हुँदा इच्छा लाग्नेले किराँत, राई, लिम्बु विज्ञहरूसँग सल्लाह लिएर मात्र पकाउँदा अझ राम्रो हुन्छ ।

शाकाहारी वाचिपा खान चाहनेहरूका लागि मासुको सट्टा डमलपा नामको तितो फूलको पत्ता हालेर चामल पकाइन्छ । वाचिपा नेपालको पूर्वीय किराँत जाति र दार्जलिङ, सिक्किमतिर पनि लोकप्रिय छ ।

आर. बी. बुढाथोकी
आर. बी. बुढाथोकी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्