गरीब घरमा जन्मिएका डगेन्द्रको संघर्ष : ज्यालादारी श्रमिकदेखि जनस्वास्थ्य अधिकृतसम्म

उत्तम पोखरेल
उत्तम पोखरेल

पोखरेल लोकान्तर डट्कमका प्रदेश १ प्रतिनिधि हुन् ।

लेखापालको जागिर खाने उद्देश्य लिएर मोरङको उर्लाबारीका डगेन्द्र घोर्सानेले उच्च शिक्षा पढ्न तेह्रथुमको म्याङलुङ क्याम्पस गए तर आर्थिक अवस्था कमजोर भएका कारण उनले सोचेको विषय पढ्न सकेनन् ।

ऐच्छिक अंग्रेजी विषय लिएर प्रविणता प्रमाणपत्र तह पढेका उनले १२ कक्षा पास गरेपछि आर्थिक अभावकै कारण पढाइलाई निरन्तरता दिन सकेनन् ।


Advertisement

पढाइमा अब्बल हुँदाहुँदै पनि पर्याप्त पैसा नभएपछि उनले वैदेशिक रोजगारीमा जानुपर्ने भयो । गाउँमै महंगो व्याजमा ऋण खोजेर उनी गहभरी आँसु पार्दै आमाबुवाबाट इराक जान बिदा भए । 

२०६४ सालमा घरबाट फूलमाला लगाएर इराक हिँडेपनि उनको मनमा पढाइ नै थियो । विदेशबाट पैसा कमाएर स्वदेश फर्किंदै फेरि पढ्ने योजना थियो उनको ।

इराकमा उनले ३४ महिना दिनरात नभनी काम गरे । कुनै सीप नभएकाले उनले इराकमा कहिले ज्यालादारी श्रमिक, कहिले सुरक्षा गार्ड, कहिले पेट्रोल पम्पको काम गरे । कम्प्युटर चलाउन जान्ने भएकाले उनले कहिलेकाहीँ कम्प्युटरको काम पनि पाउँथे । इराकमा उनले मासिक २५–८० हजार रुपैयाँसम्म कमाए ।

चरम गरीबीमा मल्हम लगाउने मिल्ने गरी अलिकति पैसा ल्याएर उनी स्वदेश फर्किए । तर अझै पर्याप्त पैसा जुटिसकेको थिएन । आमाबुवा र पत्नीका चाहना पूरा गर्न नसकेकोमा उनलाई चिन्ता लागिरहन्थ्यो । तर उनले चिन्ता छाडेर आफ्नो लक्ष्यमा अगाडि बढ्ने निधो गरे ।

एकदिन सुत्नेबेला उनले पत्नीलाई सोधे, ‘मेरो पढ्ने चाहना छ, कुन विषय लिएर पढुँ ?’ पत्नी रेनुका भण्डारीले सल्लाह लिइन्, ‘प्राविधिक शिक्षा पढ्नू ।’

रेनुकाकै सल्लाह बमोजिम उनले मोरङको उर्लाबारीस्थित मदन भण्डारी प्रतिष्ठानमा गएर अध्ययन गर्ने सोच बनाए । तर भर्ना हुन राजनीतिक पहुँच चाहिने भएका कारण उनको चाहना पूरा हुन सकेन । गरीब र कसैसँग चिनजान नभएका कारण उनले प्रतिष्ठानमा भर्ना पाएनन् ।

पढ्न नपाएपछि उनी फेरि वैदेशिक रोजगारीमै जाने सोच बनाइरहेका थिए । तर एक जना स्वास्थ्यकर्मीसँग उनको भेट भयो । ती स्वास्थ्यकर्मीले धनकुटामा रहेको धनुकटा इन्स्टिच्युट अफ  हेल्थ साइन्स कलेजमा पढ्न सल्लाह दिए । उनले कलेजमा हेल्थ असिस्टेन्ट पढे ।

कोर्स पूरा गरेको केही समयमा नै उनले उर्लाबारीको अरनिको अस्पतालमा जागिर पाए । १० महिना अरनिको अस्पतालमा काम गरेका घोर्सानेले त्यसपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयको करार सेवामा प्रवेश गरे ।

तेह्रथुमको ईसिबु स्वास्थ्य चौकीमा जागिर खाँदै गर्दा लोक सेवा आयोगको विज्ञापन गरेको सूचना देखे । उनको एउटै लक्ष्य थियो जागिर खाने । उनले लोक सेवा परीक्षाका लागि तयारी पनि गरिरहेका थिए । ‘मौका आएकाले चौका हान्नुपर्छ भन्ने लागेर राति पनि नसुती परीक्षाको तयारी गरें,’ घोर्साने भन्छन्, ‘नभन्दै परीक्षाको नतिजा पनि राम्रो आयो ।’ उनी २०७२ सालमा लोक सेवा पास गरेर सोलुखुम्बु पुगे । 

२०७२ मंसिर ९ गते जनस्वास्थय कार्यालय सोलुखुम्बुमा हाजिर भएर उनी बिरामीको उपचार गर्न थाले । ३ दिनपछि जनस्वास्थय कार्यालयले उनलाई साप्तिङ स्वास्थ्य चौकी पठायो । २०७३ सालमा उनी साप्तिङबाट आफ्नो जन्मथलो तेह्रथुमको हमरजुङ गएका थिए ।

आफ्नै पुर्ख्यौली ठाउँमा आएर सेवा गर्न पाउँदा उनलाई हौसला मिल्यो । जागिरे भएर जाँदा ‘फलानाको छोरा डाक्टर भएर आएछ, अब यसलाई कतै जान दिनु हुँदैन’ भनेर गाउँमा चर्चा भएछ । त्यसअघि नै उनका बुवा, आमा र पत्नी उर्लाबारी बसाइ सरेर आइसकेका थिए । उनले पनि जागिर घरपायक पर्ने स्थानमा सरुवाका लागि कसरत गरिरहेका थिए ।

त्यतिकैमा सरकारले ल्याएको समायोजमा घोर्साने पथरीशनिश्चरे नगरपालिकामा आइपुगे । नगरपालिकाले घोर्सानेलाई हसन्दह स्वास्थ्य चौकीमा खटाएको छ । केही दिनअघि मात्रै घोर्साने जनस्वास्थ्य निरीक्षक अधिकृत स्तर छैठौंमा बढुवा भएका छन् । 

उनीसँगै पत्नी रेनुकाले पनि अहेबको कोर्स पूरा गरेकी थिइन् । पत्नी रेनुकाले पनि छथरको ओख्रेमा जागिर खाएकी थिइन् । तर बिरामी भएका कारण पत्नीले जागिर छाडेको घोर्साने बताउँछन् ।

गरीबीका कारण थिलथिलो बनेको घोर्सानेको दिनचर्या सहज बन्दै गइरहेको छ । ‘लगनशील भएर मेहनत गरे लक्ष्य प्राप्ति गर्न कठिन छैन,’ उनले भोगाइ सुनाए ।

उत्तम पोखरेल
उत्तम पोखरेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्