अफगान सरकार ढाल्न तालिबानले बनायो खतरनाक रणनीति

अफगानिस्तानमा सरकारभन्दा तालिबानको कब्जा धेरै ठाउँमा छ । 

तालिबानले त्यहाँ ठूलै रणनीतिक अग्रता हासिल गरिसकेको छ । सीमा चौकीहरूमा तालिबानले कब्जा गरेकाले अफगान सरकारको राजस्व र आपूर्तिमा कमी आएको छ ।


Advertisement

एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, तालिबानले पाकिस्तान, इरान, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई जोड्ने हेरात, फरहा, कन्दहार, कुन्दुज, तखर र बदख्शाँ प्रान्त भएर जाने सातवटा महत्त्वपूर्ण बाटोमा कब्जा गरेको छ । ती चौकीहरू हुँदै २.९ अर्ब अमेरिकी डलरको आयात निर्यात हुने गरेको छ । 

राष्ट्रपति अशरफ गानीको सरकारले नंगरहार, पत्त्या, पक्तिका, खोस्त र निमरोज प्रान्तमा पाकिस्तान र इरानसँगको सीमामा रहेका चौकीमा नियन्त्रण जमाएको छ । यी बाटो हुँदै दुई अर्ब डलरभन्दा बढीको कारोबार हुन्छ । 

जोवजान र बल्ख प्रान्तमा सीमा चौकीमाथि नियन्त्रणका लागि अफगान सेना र तालिबानबीच भयंकर लडाइँ भइरहेको छ । 

पाकिस्तानको बलुचिस्तान प्रान्तीय सरकारका पूर्व सल्लाहकार जान अचकजईले बताए, ‘गानी सरकार लामो समय टिक्नेछैन किनकि तालिबानले रणनीतिक आपूर्ति लाइन बन्द गर्न, सीमामा कब्जा गर्न र खाद्य आपूर्ति रोक्न थालेको छ । शक्ति सन्तुलन तालिबानको पक्षमा छ र क्षेत्रीय देशहरूले यसलाई परिवर्तन गर्न सक्दैनन् । तालिबानले अफगानिस्तान सजिलो गरी प्राप्त गर्न लागेको छ ।’

विश्लेषकहरूका अनुसार, तालिबानको आक्रामकता यसरी नै जारी रहेमा राजधानी काबुल तथा सरकार नियन्त्रित अन्य क्षेत्रमा भोजन र ऊर्जाको भयंकर कमी हुन सक्छ । यस्तै नाकाबन्दीमार्फत तालिबानले सरकारलाई आत्मसमर्पण गराउन खोजिरहेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्