डिजिटल भुक्तानी प्रणालीमा जोडियो आयल निगम

नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको   औपचारिक रुपमा थालनी गरेको छ । 

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपिएस (वेब , मोबाइल एप तथा गेटवे), कर्पोरेट्पे तथा बैंक वित्तिय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् ।  औपचारिक थालनीको चार दिनमा नै निगमको ने.रु.३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको छ । 


Advertisement

विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ । 

यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सँगै  निगमले  एनसीएचएलको सहकार्यमा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको निगमले जनाएको छ ।

डिलर पार्टनरले निगम लाई कसरी भुक्तानी गर्ने ?

१) डिलरले आफ्नो बैंक/वित्तिय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो ‘कस्टोमर आइडी’ र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

२) बैंक/ वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी  भुक्तानी सम्पन्न गर्न सक्नेछन् 

३) यसरी शाखाबाट रु १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु १ करोड सम्म तथा नन् रियल–टाइममा रु २० करोड सम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । 

४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न www.connectips.com, यसको मोबाईल एप, कर्पोरेट पे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपिएस(गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्