सन्दर्भ : पूर्व माओवादी खेमाका एमाले नेताहरूको रिट

चरी लैजा समाचार, हामी भयौं बेघरबार… !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

चरी लैजा समाचार, हामी भयौं बेघरबार… !

टोपबहादुर रायमाझीलाई एमालेको नेता भन्ने कि माओवादीको ? बडो कन्फ्युजन छ । नाचगानमा निकै रहर गर्ने यिनको नाम नै 'कन्फ्युजन रायमाझी' राखिदिए हुने भएको छ ।


Advertisement

'चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी' भनेजस्तै हालैका मितिमा यिनीहरूले 'आईटी आर्मी'मार्फत माओवादीको फेक विज्ञप्ति जारी गरेर माओवादीको झल्को मेटाउने प्रयास गरेका छन् ।


Advertisement

जुन थालमा खाएको हो त्यही थालमा थुकेर गए पनि माओवादी पार्टीको सदस्य र संसद पद त खुमलटार गएर 'प्रचण्डजी, हामीबाट गल्ती भयो, एक पटकलाई माफी पाऊँ,” भनेर आत्मालोचना गर्दा पाइन्थ्यो कि ? तर, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै यिनीहरूले निर्वाचन आयोग र अदालत धाएर समयको बर्बादी गरिरहेका छन् ।

'दु:ख पायौ नानीले, आफ्नै बानीले' भने जस्तै भएको छ । सासूआमा बिरामी हुँदा पिठ्युँ फर्काएर एक गिलास तातो पानी समेत नदिने, मुखमुखै लागेर झर्की-झर्की बोल्ने बुहारी नानीजस्तै प्रचण्डलाई गाह्रोसाह्रो पर्दा, प्रतिगामी तत्वहरूबाट पेलान हुँदा काँध थाप्नु त कता हो कता, उल्टै पिठ्युँ फर्काएर गएका ती अवसरवादी दुष्टआत्माहरू यतिखेर घर न घाटका भएका छन् ।


Advertisement

लाज यसरी लजायो कि कुनै बेला निर्वाचनको मत पेटिकालाई प्रतीकात्मक रूपमा बञ्चरोले हानेर 'अब विद्रोह गर्छु' भन्दै विप्लवसँग दुईचार दिन लौरो बोकेर जंगलतिर हिँडेका बादल केही सीप नलागेर अन्तत: प्रचण्डसँग बिलय हुन आइपुगेका थिए । त्यसबापत उनलाई पार्टीले  गृहमन्त्रीको सम्मानार्थ पुरस्कार दिएको पनि थियो । तर मन्त्रीको बोसो गालामा अलिअलि के लागेको थियो, यिनले पनि फेरि पिठ्युँ फर्काए।

मेरा बाबै नि, गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै यिनले के–केसम्म गरेनन् ? प्रचण्डलाई चिडियाखाना लगेर थुन्छुसम्म भन्न भ्याए । माकुराले आफ्नै आमालाई खाएजस्तै यिनले पटक-पटक माओवादी पार्टी खान खोजे । माओवादी मन्त्रीका रूपमा पटक- पटक सरकारमा सहभागी भएर पनि कहिल्यै भरिपूर्ण नहुने यिनीहरू मन्त्रीकै लागि एमाले हुन पनि राजी भए। प्रचण्डलाई सखाप पार्ने बहानामा उनीहरू आफैँ सखाप भए ।

संख्याको रूपमा प्रचण्ड कमजोर होलान् । उनीसँग पहिलेको जस्तो दलबल नहोला तर वैचारिकी र अडानको दृष्टिले, संविधान र संसद्को सर्वोच्चताको रक्षा गर्ने दृष्टिले प्रचण्डले एक प्रकारको नायकत्व प्राप्त गरेका छन् ।  टोपबहादुर रायमाझीहरू 'हरुवा गोरुको छेरुवा दाउ” भनेजस्तै पल्लो किनारामा उभिएर मन्त्रीको मौका कता छ भनेर छिर्के हानिरेहका छन्। र सम्भवत बदल समेत आत्मग्लानी र लज्जाबोधले पश्चातापको भुमरीमा जलिरहेका छन् ।

'सारंगी र्‍याइँर्‍याइँ, भयो जीवन तिरीमिरी झ्याइँ' भनेजस्तै सर्वप्रथम यिनीहरूले माओवादी पार्टीको नेतृत्वमाथि धोकाधडी गरे । गद्दारी गरे । दोस्रो, एमालेमा गए पनि त्यहाँ यिनीहरूको कुनै इज्जत भएन। घरमा आएको 'ओभर- स्टे' पाहुनाजस्तै बने । र तेस्रो, संसद् र  संविधानमाथि निर्मम प्रहार हुँदा यिनीहरूले प्रतिगमनकै पक्षमा  थपडी बजाए । आफ्नै गल्तीले यसरी तिरीमिरी भए कि यिनीहरूको राजनीति ब्रेक फेल भएको गाडीजस्तै बन्यो।

पत्रकार संगीत स्रोताले लेखेको 'चरी लैजा समाचार, हामी भयौँ बेघरबार' भन्ने बोलको गीतले भनेजस्तै जस्तै यिनीहरूको जीवन पनि के गर्ने, कसो गर्ने बेहालजस्तै हुन पुग्यो । जसरी वर्षादको समयमा बाढीपहिरो जाँदा, धनजनको क्षति हुँदा, ओत लाग्ने ठाउँ नहुँदा कतै समाउने हाँगो र टेक्ने जरो हुँदैन नि, हो त्यसरी नै यिनीहरूको राजनीतिक चरित्रमा पहिरो गएको छ । एक जनाले फेसबूकमा लेखेका थिए, 'यस्तो लाजलाग्दो, घिनलाग्दो जीवन बाँच्नुभन्दा त बरु डाडुमा पानी.....'

धेरै उम्लिएको दूध पोखिने रहेछ । निकै गर्वका साथ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नै 'एमालेमा हार्दिक स्वागत छ' भनेर भनेर सार्वजनिक भाषण गर्ने टोपबहादुर रायमाझीको उबेला नै धेरैले खिल्ली उडाएका थिए । धेरैलाई उनले आफ्नो औकात, हैसियत बिर्सिएको लागेको थियो । 'नयाँ जोगीले धेरै खरानी धसेको' भनेर पनि कतिपयले टिप्पणी गरे । तर उनीसँग सत्ताको रवाफ यति धेरै थियो कि मानौं उनले आँखा नै देख्न छाडेका थिए ।

तिनै टोपबहादुर हिजोआज आफूले एमालेको सदस्यता नलिएका कारण  माओवादी सांसद नै भएको जिकिर गर्न थालेका छन्। कुन मुखले उनले यस्तो भन्दैछन्, लोकबासी अचम्ममा छन् ।

माओवादीहरू त झन् मुर्छा परेर हाँस्दैछन्। एमालेहरू पनि कुनै कुनामा बसेर यो मजाक, यो तमासालाई गुँदपाकजत्तिकै मीठो मान्दैछन्। एमालेका एक कार्यकर्ताले ट्विट गरेका थिए- 'टोपबहादुर रायमाझीहरू माओवादीमा नै फर्किए हुन्छ, यता हामी युवाहरू एकसय एक छौं । पदलोलुपहरूले भोलि फेरि नेतृत्वलाई घात गर्न सक्छन् ।

नैतिकताको कुनै ख्याल नै नगरी नेकपा एमालेमा प्रवेश गरेर संसद् विघटनको पक्षमा सतिसाल झैँ खडा भएका रायमाझीलगायत नेताहरू लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा सांसद् पद पुनर्बहालीका लागि रिट निवेदन पेश गरेका छन् । यी तिनै नेताहरू हुन्, जसले माओवादी पार्टी खारेज गर्नका लागि केही समयअगाडि निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

सांसद पद पुनर्बहालीको माग गरेको रिटमा उनीहरूले लेखेका छन्– हामीहरू एमाले प्रवेश नगरेको र माओवादी केन्द्रको केन्द्रीय कमिटीको सूचीमा अझै हाम्रो नाम रहेकाले सांसद पद खारेज गर्ने गरी भएको निर्णय बदर गरि पाऊँ ।

यस्तो दोगला प्रवृत्ति देख्दा अदालत समेत कन्फ्युज भयो होला । रिटको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि लगातार दुई दिनसम्म हेर्न नभ्याइनेमा परेको छ ।

जेठ ६ गते सर्वोच्चले संवैधानिक व्यवस्थाअनुसार गैरसांसद एकपटक मात्रै मन्त्री हुन पाउने र मन्त्री भएको ६ महिनाभित्र संघीय संसद्को सदस्य भइसक्नुपर्नेमा सात जना (पूर्व माओवादी नेता) ले पुनः मन्त्री हुनु संविधानविपरीत भएको आदेश दियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हर्ताकर्ता बनेका उनीहरूलाई अदालतको आदेशबाट झट्का लागेपछि माओवादी केन्द्र अवैध भएको घोषणाका लागि निर्वाचन आयोगसँग गुहार माग्न पुगेका थिए। तर २७ असारमा निर्वाचन आयोगले प्रचण्ड  नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेपछि माओवादी भत्काउने उनीहरूको रणनीति असफल भएको थियो ।

पहिले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दल दर्ता खारेजीको माग गर्दै निवेदन दिएका उनीहरूले अहिले भने माओवादीकै हैसियत र माओवादी संसद पद नै खोजेका छन्। तर कानूनी रूपमा उनीहरूको सांसद् पद पुनर्बहाली हुने कुनै सम्भावना देखिन्न । के उनीहरू घरबारबिहीन भएकै हुन् त ? यसबारेमा चरीले प्रचण्डसमक्ष समाचार लैजानुपर्छ भन्ने हामीलाई लागिराछ ... ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्