‘ब्याचलर’ पढ्ने मोटरसाइकल चोरको बयान- कलेज खर्च जुटाउन चोरी !

भक्तपुरको कमलविनायक नजिकै रहेको पुलको छेउमा बा ९५ प ४१६८ नम्बरको रातो कालो १५० सीसीको मोटरसाइकल रोकियो । चालक एकछिन त्यहीँ बसेर यताउता हेर्दै थिए । 


Advertisement

हुलियाको आधारमा मोटरसाइकल चोर खोज्दै महानगरीय ट्राफिक प्रहरीको सादा पोसाकका प्रहरी टोली पनि त्यहीँ पुगेको थियो । 


Advertisement

सादा पोसाकको प्रहरी नजिकै पुगेर सोध्यो– ‘यो मोटरसाइकल तपाईंको हो ?’ 

‘होइन’ चालकले जवाफ फर्काए । 


Advertisement

‘कसको हो त ?’ 

‘मेरो साथी दीपेन्द्र भुजेलको’ पक्राउ परेका विशेष लिम्बुले प्रहरीलाई भने । 

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काले प्रहरीमा बा ९७ प १३०५ नम्बरको मोटरसाइकल हराएको उजुरी ट्राफिक प्रहरीमा दिएका थिए । त्यसपछि प्रहरीले सीसीटीभीको माध्यमबाट देखिएको हुलिया र पक्राउ परेका विशेषको हुलिया मिलेका कारण उनको ६ दिनदेखि पिछा गरिरहेको थियो ।

त्यसपछि प्रहरीले दीपेन्द्र भुजेल भएको ठाउँमा पुग्यो तर उनले पनि आफ्नो साथी विकल थापाको भएको बताए । त्यसपछि उनीहरू भक्तपुरमा रहेको विकल थापाले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा पुग्यो । 

प्रहरीले विभिन्न ठाउँमा मोटरसाइकल चोरी भएको हुलिया मिलिसकेको थियो । प्रहरीले तीनै जनालाई पक्राउ गरेर ल्यायो । 

अनुसन्धानको क्रममा तीन जना भक्तपुरको एउटा कलेजमा ‘ब्याचलर’सँगै पढ्ने गरेको खुल्यो । 

रामेछापका १९ वर्षीय दीपेन्द्र, ताप्लेजुङका १९ वर्षीय विशेष र धनुषा मिथिलाका २१ वर्षीय विकल एउटै कक्षामा पढ्ने विद्यार्थी भएको प्रहरीले जनाएको छ । 

‘अनुसन्धानको क्रममा भक्तपुरमा एउटै विद्यालयमा पढ्ने विद्यार्थी रहेछन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले भने ।

पक्राउ परेका सबै जना पहिला मोटरसाइकल सोरुममा एकै ठाउँमा काम गरेका रहेछन् । पछि विकलले मोटरसाइकल मर्मत सेन्टर खोलेर बसेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । 

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार दुई जनाले उपत्यकाका विभिन्न ठाउँबाट मोटरसाइकल  चोरी गर्ने र रिकन्डिसनबाट मोटरसाइकल किनेर विकलको मर्मत सेन्टर नयाँ पाटपुर्जा हालेर महँगोमा अनलाइनमार्फत् बिक्री गर्दै आएको खुलेको छ । 

‘उपत्यकामा भएका मोटरसाइकल रिकन्डिसनमा सस्तोमा किन्ने गरेको र त्यसलाई उनीहरूकै मिलेमतोमा अनलाइनमार्फत् बिक्री गर्ने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

उनीहरूले बिक्री गरेर आएको पैसाले कलेजको पढाइ खर्च जुटाउँदै आएको प्रारम्भिक अनुसन्धानमा बताएको महाशाखाले जनाएको छ ।

लकडाउनको समयमा रोजगारी गुमेपछि मोटरसाइकल चोरीमा संलग्न भएको देखिएको एक प्रहरी अधिकारीले बताए । 

उनीहरूका अन्य सदस्यहरू फरार रहेकाले उनीहरूलाई खोजी गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रहरी उनीहरूको साथबाट नम्बर परिवर्तन गरिएको बा ९१ प ८६७२ (वास्तविक नम्बर बा ९६ प ८८३६) र बा ९५ प ४१६८ (वास्तविक बा ९७ प १३०५) नम्बरको मोटरसाइकल बरामद गरेको थियो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्