एमाले महाधिवेशन: पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ ।


Advertisement

पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।


Advertisement

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकमा पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक कार्यदिशाको विषयले प्रवेश पाएको छ । बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल सुरु भएको छ । केही समयपश्चात् एमालेले १०औं महाधिवेशन गर्दै छ । १०औं महाधिवेशन अघि एमालेले छुटै विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । विधान महाधिवेशनमा विधान पारित गरेपछि सोहीअनुसार १०औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ ।


Advertisement

यता, नवौंं महाधिवेशनले सक्रिय राजनीतिबाट ७० वर्ष लागेपछि बिदा लिनुपर्ने व्यवस्था गरेको थियो । तर, केही नेताले ७० वर्षको प्रावधान हटाउन खोजेपछि उमेर हदको सो व्यवस्था कायम नै राखिने भएको छ । दोस्रो पुस्ताका नेताहरूको दबाबले उमेर हदसम्बन्धीको व्यवस्था कायम राखिएको हो ।

यस्तै, एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ ।

‘हामीले १०औं महाधिवेशन पछि निर्वाचित अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था विधानमै राख्दै छौं । पार्टीको काम तथा तत्कालै गर्नुपर्ने निर्णय त्यो सचिवालयबाटै हुनेछ,’ ज्ञवालीले भने, ‘यस्तै महासचिवको नेतृत्वमा कार्यालयसम्बन्धी अर्को सचिवालय रहनेछ, त्यसले कार्यालयको काममा केन्द्रित हुनेछ ।’ राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्