२७ जेठ २०८३, बुधबार
जनताका दुःख

कर तिर्ने जनतामाथि राज्य अत्याचारको नमूना हेर्न गुर्जुधारा जाऊँ [भिडियो]

असोज २०, २०७८

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ ।

कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरसाइकल गुर्जुधारा पुग्छन्, जहाँ मोटरसाइकलको लाम देख्न सकिन्छ ।

एकातिर दशैंको चटारो, अर्काेतिर यातायात कार्यालयमा कर तिर्न आउनेले यातायात कार्यालयमा भोग्नुपरेको सास्ती ।

विद्युतीय शासन, सुशासन र जनतालाई छिटोछरितो सेवा दिने गफ दिन्छ सरकार तर सर्वसाधारण जनताले राज्यलाई कर बुझाउन पनि सास्ती भोग्नुपर्छ । राज्यलाई कर तिर्न लाइनमा बसेका सर्वसाधारणले गुर्जुधाराको यातायात कार्यालयमा सास्तीमाथि सास्ती भोग्नुपरेको छ ।

कार्यालयमा लाइन बसेका बानेश्वरका नविन जोशी भन्छन्, ‘मलाई त लाइन बस्दाबस्दा वाक्क लागेर आइसक्यो, बरु यो सबै झन्झटबाट मुक्ति पाउन सरकारले अनलाइन प्रणालीमा जानुको विकल्प छैन ।’

गोठाटारबाट मोटरसाइकलको कर तिर्न आएका रमेश डोटेल भन्छन्, ‘जबसम्म हाम्रो बुवाको पुस्तालाई फ्याक्न सकिँदैन, तबसम्म हामीले यस्तै झमेला व्यहोरिरहनुपर्नेछ, भित्रैबाट सिस्टम बिगारेका छन्, बाहिर बस्ने कर्मचारीलाई गाली गरेर केही हुँदैन ।’

कलंकीका दिप श्रेष्ठले बिहान ८ बजेदेखि नै लाइनमा बस्दा समेत दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गरे । ‘यत्रो पैसा तिरेर मोटरसाइकल किनेको छ, सरकारलाई कर पनि तिरेको छ तर पनि हामी जनताले नै सास्ती भोग्नुपरेको छ, अहिलेसम्म खाना समेत खाएको छैन, बिहानदेखि लाइनमा बसेको अहिलेसम्म पालो आएको छैन,’ उनले भने ।

बौद्धबाट आएका पेमा लामाले आज कर तिर्ने कामका लागि अफिस बिदा लिए । ‘यस्तो महामारीको समयमा यस्तो भीडभाड गरेको छ, २–३ घण्टा लाग्ने भनेकोमा दिन नै कट्न थालिसक्यो तर पालो आएको छैन, हामीलाई सरकारले सुविधा दिए राम्रो हुन्थ्यो,’ निराश हुँदै उनले दुःखेसो पोखे ।

सर्वसाधारण चर्को घाम र पानीमा भिजेर कर तिर्न लाइनमा बस्ने गरेका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर ‘गाउँगाउँमा सिंहदरबार’ पुगेको भनिए पनि जनताले राज्यबाट लिने सेवाका लागि सास्ती व्यहोर्नुपरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्