२६ जेठ २०८३, मंगलबार
लोकान्तर स्टुडियोमा गगन थापा

वैशाखमा चुनाव नगरे संविधानको अपव्याख्या हुन्छ : गगन थापा [भिडियो अन्तर्वार्ता]

माघ ४, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताएका छन् । 

लोकान्तर डटकमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताएका हुन् ।

‘विभिन्न कारण देखाएर चुनाव सार्न खोजियो भने त्यो संविधानको अपव्याख्या हुन्छ । हामी त्यसो हुन दिनेछैनौं । कांग्रेस वैशाखमा चुनाव गर्ने पक्षमा छ । गठबन्धनलाई पनि त्यसअनुसार तयार गरिन्छ’, महामन्त्री थापाले भने । 

गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उनले बताए ।

‘प्रधानमन्त्री वैैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा स्पष्ट हुनुहुन्छ । मैले भर्खरै उहाँसँग चुनाव र सरकारको कामको बारेमा विस्तृतमा छलफल गरेको छु । कांग्रेसकै कारण चुनाव सर्छ भन्ने कुरामा सत्यता छैन । त्यो हावादारी हो’, थापाले लोकान्तरसँग भने । 

स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताए । 

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उनले बताए ।

यसअघि प्रधानमन्त्री देउवा कांग्रेसको महाधिवेशन सम्पन्न गराउन लाग्नुभएकाले सरकारको काममा कम ध्यान गएको र आगामी  दिनमा देउवाले पार्टीभन्दा बढी सरकारको काममा ध्यान दिने थापाले बताए । 

‘हामीले एक दुई घण्टा मात्रै पार्टी सभापति बन्नुहोस्, १८/२० घण्टा प्रधानमन्त्री भइदिनुहोस् भनेका छौं । अबको केही सातामा प्रधानमन्त्रीको काम गर्ने शैली, तरिका बदलिनेछ भनेर अपेक्षा गरेर बसेको छु’, थापाले अन्तर्वार्तामा भने ।

अहिलेको जटिल परिस्थितिमा सरकार जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन भन्नेकुरा प्रधानमन्त्रीले ख्याल गर्नुपर्ने थापाले बताए । अबको केही दिनमा प्रधानमन्त्रीको कार्यशैली फेरिने पनि थापाले बताए । 

‘त्यसका योजना बनेका छन् । प्रधानमन्त्रीले गरेको कामको बारेमा जनताले थाहा पाउनुपर्छ भनेर देशवासीको नाममा सम्बोधन गर्ने लगायतको योजना बनेको छ’, उनले भने । 

आगामी दिनमा पार्टी सञ्चालनका क्रममा सभापतिसँग सहकार्य र संघर्ष दुवै हुने थापाले स्पष्ट पारे । 

उनले भने, ‘पार्टी सभापतिसँग कतिपय ठाउँमा सहकार्य होला, कतिपय ठाउँमा संघर्ष पनि होला, उहाँलाई मैले इन्करेज नै गर्ने हो । सभापतिले विवेक पनि पुर्‍याउनुभयो, न्याय पनि गर्नुभयो भन्ने अवस्था बनोस भन्ने मेरो चाहना छ ।’

हेर्नुहोस्,करेन्टअफेयर्सका लागि लोकान्तर डट्कमका सम्पादक विमल गौतमले कांग्रेस महामन्त्री थापासँग लिएको अन्तर्वार्ता :

salt training

कमेन्ट गर्नुहोस्