२७ जेठ २०८३, बुधबार

दैनिक १० हजार संक्रमित थपिँदा पनि किन खाली छन् अस्पताल ? यसो भन्छन् डाक्टर [भिडियो]

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ ।

सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ । 

पछिल्लो समय संक्रमणको अवस्था भयावह रहेको सरकारले दैनिक सार्वजनिक गर्ने तथ्यांकले पनि देखाउँछ ।

दिनमै १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । परीक्षण नगराउनेको संख्या अझै ठूलो छ ।

तर संक्रमण जुन गतिमा बढेको छ, त्यति कोरोनाका बिरामी अस्पतालमा देखिएका छैनन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सीमा बिहीवार पुग्दा खालीखाली देखिएको थियो ।

त्यहाँ केहीबेर बस्दा बल्ला एकजना बिरामी इमर्जेन्सीमा आए । 

वीर अस्पतालमा पनि अवस्था त्यही थियो । 

कोभिड- १९ युनिफाइड सेन्ट्रल अस्पताल समेत तोकिएको उक्त अस्पतालका उपमहानिर्देश डा. प्रज्वल श्रेष्ठले भर्ना नै गर्नुपर्ने खालका संक्रमितको संख्या एकदमै न्युन रहेको बताए ।

'संक्रमितको संख्या ह्वात्तै बढेको छ । त्यति हुँदा पनि अस्पतालमा भर्ना हुन आउनेको संख्या, अक्सिजन चाहिने बिरामी र कडाखालको निमोनियाको लक्षण लिएर आउने बिरामीको संख्या अघिल्ला दुई लहरमा भन्दा निकै कम देखिएको छ,' डा. श्रेष्ठले भने ।

सामान्य लक्षण भएका प्राय: बिरामीले घरमै स्वास्थ्यलाभ गरिरहेको उनले बताए ।

'यो भेरियन्ट संक्रमण हुँदा भाइरस मानव श्वासनलीको माथिल्लो भागमा रहने र सामान्य रुघाखोकीको जस्तो लक्षण देखिने गरेको छ । भाइरस फोक्सोसम्म नपुग्दा निमोनिया हुन पाएको छैन,'  उनले भने ।

डा. श्रेष्ठले १८ वर्षभन्दा माथिका करीब ४० प्रतिशतले खोप लगाइसकेकाले पनि संक्रमणले त्यति ठूलो असर गर्न नपाएको हुनसक्ने बताए । अघिल्ला लहरको तुलनामा निकै कम मात्र बिरामी अस्पताल आएको उनले बताए ।

'दोस्रो लहरमा १० हजार संक्रमित थपिँदा हाम्रो अस्पतालमा मात्र इमरजेन्सीमा दैनिक ३०० जना त कम्तिमा आएका हुन्थे । बेड र अक्सिजन नपाएर बिरामी छटपटाउन बाध्य भएका थिए । अहिले त दैनिक ११ हजार संक्रमित थपिँदा पनि कडा लक्षणसहित आएका जम्मा १९ जना छन्,' उनले थपे ।

डा. श्रेष्ठले संक्रमणले धेरै असर नपारे पनि सजगगता भने अपनाउनुपर्ने बताए । 

हाई रिस्क समूह (वृद्धवृद्धा, दीर्घ रोगी, बालबालिका)मा संक्रमण फैलियो भने जटिल अवस्था आउनसक्ने उनको चिन्ता छ ।

सोही कारण पनि अनुशासित भएर स्वास्थ्य मापदण्ड पालनाको क्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्