
पूर्व जानेहरूले सप्तरीको बरमझियाको पेडा बजारमा गाडी नरोकी चित्त नै बुझ्दैन । यहाँको पेडा देशभर प्रसिद्ध छ ।
बैजनाथ बाजेले शुरू गरेको पेडाको व्यवसाय अहिले सयौंले नक्कल गरेर पेडा दोकान खोलेका छन् र सबै चलेका पनि छन् ।
सबैले सक्कली भनेर बेचेका हुन्छन् तर यसका संस्थापक बैजनाथ साह भने बितिसके ।
साहले ५० वर्ष पहिला खोलेको बाजेको पेडा अहिले छोराले चलाइरहेका छन् । उनको पसल चलेपछि सबैले हुबहुँ नाम राखेर बरमझियालाई नै पेडा बजार बनाएर प्रसिद्ध तुल्याए ।
प्रायः सबैजसोको पेडा दोकानको बोर्डमा बैजनाथ, पुरानो, सक्कली, बाजेको लेखेको हुनाले ग्राहक झुक्किन्छन् । जुन पसलमा गए पनि सक्कली यही हो भनेर व्यापार गरेका छन् । सबैको आम्दानी राम्रो छ, गाडीको सिजनमा त भ्याइँ–नभ्याइँ हुन्छ ।
कुनै चाडबाडमा सबैको व्यापार चम्केको हुन्छ । जति माल बनाए पनि साँझ खाली हुने स्थिति हुन्छ । हरेक वर्ष पसल पनि थपिँदै गएका छन् र ग्राहक पनि त्यही अनुपातमा आउँछन् । अहिले बरमझियामा सयको हाराहारीमा पेडा दोकान चलेका छन् ।
बरमझिया कसरी प्रसिद्ध भयो पेडाका लागि ?
सप्तरीको बरमझियामा गाईभैंसी निकै पाल्ने चलन धेरै पहिलादेखि चलेको पेशा हो । गाईंभैसीको दूधलाई सदुपयोग गर्ने हेतुले ५० वर्ष पहिला बैजनाथ साहले पेडा पसल खोलेका थिए । उनले खोलेको पेडा पसलले बिस्तारै प्रसिद्धि कमाउन थालेपछि आसपासका सबैले खोल्न पेडा पसल थालेर बजार विस्तार हुँदै गयो । सबैको दोकान चलेको देखेर झन् पेडाकै दोकान थपिँदै गएर अन्ततः पेडा बजार हुँदै गयो ।

अहिले सयभन्दा धेरै पेडा पसल छन् । दिनानुदिन नयाँ खोलिने क्रम पनि बढ्दै गएको छ । बैजनाथ साहको पेडा पसल निकै लोकप्रिय हुँदै गर्दा अरुले पनि बैजनाथको नाम नजोडी पसल नचल्ने भएपछि कतै न कतै उनको नाम जोडेर सबैले पसलको नाम राखेर ग्राहक पनि झुक्किए तापनि भीडभाडका कारण कुनै एक पसलबाट किनिहाल्छन् । जुन पसलेलाई सोधे पनि यही असली हो भन्ने गर्छन् ।
प्रायः सबै पसलेको पेडा बनाउने तरिका परम्परागत नै छ र अन्य स्थानभन्दा भिन्न छ । अन्य स्थानको पेडा निक्खर सेतो हुन्छ भने बरमझियाको पेडा भने निक्खर खैरो हुन्छ ।
यहाँ दैनिक २५ हजार लिटर दूध खपत हुन्छ र सयौंले रोजगारी पनि पाएका छन् । हरेक पसलमा सरदर औसतमा १० हजारको दैनिक व्यापार हुँदा मासिक १० लाख रुपैयाँको पेडा बिक्री हुन्छ । यसरी १० लाख रुपैयाँको दैनिक व्यापार गर्न राजधानीमा पनि करोडौंको लगानी गर्नुपर्छ ।

बरमझियाको पेडा कसरी बनाइन्छ ?
पेडा बनाउन धेरै सामग्रीको जरुरत पर्दैन । मात्र यसमा मेहनत जरुरी हुन्छ । पेडा बनाउन दूध र चिनी या सख्खर भए पुग्छ । भैंसीको दूधको खुवा धेरै बन्छ र खान धेरै स्वादिष्ट पनि हुन्छ । किनकि भैंसीको दूध गाईको दूधको तुलनामा धेरै बाक्लो हुन्छ । भैंसीको दूधमा चिल्लो पदार्थ पनि ज्यादा हुन्छ । बरमझियामा खुवा बनाउँदा परम्परागत शैलीमा मौलिक तरिकाबाट दाउराको आगोमा बाक्लो ठूलो कराइमा दूध उमालेर घटाइन्छ र बाक्लो बनाइन्छ ।

दूधलाई ३–५ घण्टासम्म निरन्तर रूपमा लामो दाबिलोले चलाइरहनुपर्छ । बीचमा चलाउन छाडेमा कराइको पिँधमा डढेर पूरै दूध गन्हाउँछ र फ्याक्नुपर्ने हुन्छ । तसर्थ दूधलाई १ जनाले चलाउन छाड्नु हुँदैन । दूध घटेर हल्का दहीजस्तो बाक्लो हुनासाथ चिनी या सख्खर हालेर चिसो हुन दियो भने यो रबडी बन्छ, जुन पश्चिमको नेपालगञ्जमा एक प्रख्यात मिठाइको रूपमा प्रसिद्ध छ तर पेडा बनाउन अझै घोटेर सानो आँचमा पकाउनुपर्छ र साह्रो हुन दिनुपर्छ ।

अब पनि यसरी घोटीघोटी पकाइरहँदा रबडीको कलर परिवर्तन हुँदै जान्छ र साह्रो पनि । हल्का ढिडोजस्तो साह्रो हुँदा यो खैरो बन्छ र यसलाई केही चिसो बनाएर पेडाको साइज दिन थालिन्छ ।
अब आफ्नो पसलको नाम राखेर छापेको मिठाइको डब्बामा पेडा मिलाएर राखिन्छ र ग्राहकलाई बेच्न तयार गरिन्छ । पानी नपारिकन चिस्यानमा राख्न सकियो भने यो पेडा महिना दिनसम्म पनि केही हुँदैन ।

बरमझियाको पेडाले प्रसिद्धि कमाउँदै जाँदा कतिले त पेडा बनाउने मशिन ल्याएर विभिन्न आकारमा पनि बनाउन थालेका छन् । यहाँको पेडाले व्यावसायिक रूप लिन थालेपछि व्यवसायीहरू पेडाको ब्राण्ड बनाउने सोचमा लागेका छन् ।
चिनी खान नमिल्नेका लागि सुगर फ्री पेडा पनि बन्न थालेका कारण यो पुरानो बाजेको पेडा दिनानुदिन सबै वर्गबीच लोकप्रियता बढ्दै गएको छ ।