मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन १९, २०७८
अमेरिकाको सीबीएस न्युजका वरिष्ठ विदेश संवाददाता चार्ली डी’अगाताले गत साता प्रत्यक्ष प्रसारण चलिरहँदा विवादास्पद टिप्पणी गरे ।
उनले भने, ‘युक्रेन दशकौंदेखि द्वन्द्व भइरहेको इराक वा अफगानिस्तान जस्तो ठाउँ हैन । किएभ तुलनात्मक रूपमा सभ्य, युरोपेली शहर हो । मैले आफ्ना शब्दहरू ध्यान दिएर छान्नुपर्छ । त्यहाँ यस्तो आक्रमण गरिएला भन्ने अपेक्षा थिएन, यस्तो हुँदैछ भनेर आशा पनि गर्न सकिँदैनथियो ।’
डी’अगाताले आफ्ना शब्द ध्यानपूर्वक छानेर यो बयान दिएको बताइरहँदा उनले अनायासै बोलेको भए के भन्थे होलान् ? त्यो कल्पना गर्दा पनि आङ सिरिंग हुन्छ । उनले युक्रेनलाई सभ्य भनेर अफगान र इराकीहरू भन्दा युक्रेनीहरू हाम्रो सहानुभूतिका बढी हकदार भएको भनेका हैनन् त ?
उनको यस बयानप्रति आक्रोश फैलिनु स्वाभाविक थियो । अन्लाइनमा उनको आलोचना गरिएपछि उनले तत्कालै माफी मागे ।
तर रुसले युक्रेनमाथि आक्रमण थालेदेखि अहिलेसम्म युक्रेनीहरूको पीडालाई जातिवादी चश्माले हेरेर टिप्पणी गर्ने थुप्रै पत्रकार देखिएका छन् ।
बीबीसीले युक्रेनका पूर्व उपमहान्यायाधिवक्तासँग अन्तर्वार्ता लिएको थियो । त्यसमा उनले भने, ‘यो मेरो लागि अत्यन्तै भावुक क्षण हो किनकि म नीलो आँखा र कैलो कपाल भएका युरोपेलीहरू दिनदिनै मरेको देखिरहेको छु ।’ यस्तो टिप्पणीलाई चुनौती दिनुको साटो बीबीसीका प्रवक्ता भन्छन्, ‘म तपाईंको भावना बुझ्छु र त्यसको सम्मान गर्छु ।’
फ्रान्सको बीएफएम टीभीमा पत्रकार फिलिप कोर्बेले युक्रेनका बारेमा यसो भने, ‘हामी पुटिनको समर्थनप्राप्त सिरिया सरकारले बर्साएको बमबाट भागिरहेका सिरियाली जनताको कुरा गरिरहेका छैनौं । हामी जस्तो देखिने युरोपेलीहरू कार चढेर ज्यान जोगाउन भागिरहेको दृश्य हामी देखिरहेका छौं ।’
अर्को शब्दमा भन्दा, युक्रेनीहरू हामी जस्तो देखिने मात्र नभई उनीहरूको कार पनि हाम्रो कार जस्तो छ । युक्रेनीहरूलाई पश्चिमले किन ध्यान दिनुपर्छ भन्ने विषयको कारणका रूपमा यस असभ्य सोचलाई प्रस्तुत गरिएको छ ।
दुर्भाग्यवश, यस्ता घटना बग्रेल्ती छन् । पोल्यान्डबाट रिपोर्टिङ गरिरहेका आईटीभीका एक पत्रकार भन्छन्, ‘उनीहरूमाथि नसोचेको विपत्ति आइलाग्यो । यो विकासशील, तेस्रो विश्वको मुलुक हैन । यो युरोप हो ।’
मानौं युद्ध विकासशील तेस्रो विश्वको मुलुकमा नियमित भइरहने घटना हो । (यहाँ स्मरण गराऔं, युक्रेनमा सन् २०१४ देखि युद्ध चलिरहेको छ । अनि पहिलो र दोस्रो विश्वयुद्ध युक्रेनमा पनि भएको थियो ।)
शरणार्थीहरूलाई सन्दर्भ बनाउँदै अल जजीराका एंकरले भने, ‘उनीहरूलाई हेर्दा, उनीहरूको लवाइ हेर्दा, उनीहरू समृद्ध छन् जस्तो लाग्छ । मलाई त्यो शब्द प्रयोग गर्न मन छैन तर उनीहरू मध्यमवर्गका मानिस हुन् । उनीहरू युद्धको भुमरीमा फसेका मध्यपूर्वी क्षेत्रबाट भाग्न खोजेका मानिस हैनन् । उनीहरू उत्तरी अफ्रिकाबाट भाग्न खोजेका मानिस पनि हैनन् । उनीहरू हामी जस्तै हुन् ।’ मध्यमवर्ग जस्तो देखिनु भनेको छिमेकमा बस्ने युरोपेली परिवार बराबर हो ।
अनि द टेलिग्राफ पत्रिकामा डेनियल हान्नानले व्याख्या गरे, ‘उनीहरू हामी जस्तै देखिन्छन् । त्यसले गर्दा पनि यो स्तब्ध बनाउने घटना हो । युक्रेन युरोपेली मुलुक हो । त्यहाँका मानिस नेटफ्लिक्स हेर्छन् र इन्स्टाग्राममा उनीहरूको अकाउन्ट छ । उनीहरू स्वतन्त्र निर्वाचनमा मत दिन्छन् र सेन्सर नलगाइएका पत्रिका पढ्छन् । गरीब र दूरदराजका मानिस मात्र युद्धको चपेटामा पर्दैनन् ।’
कार र कपडा भएकादेखि नेटफ्लिक्स र इन्स्टाग्राममा अकाउन्ट भएका मानिसका सतही भिन्नताहरूले दमित मानिसप्रतिको वास्तविक एक्यबद्धता प्रकट गर्दैनन् । वास्तवमा यो त त्यसको विपरीत कुरा हो । यो आफ्नो कबिलाप्रतिको अपनत्व भाव हो ।
यस्ता टिप्पणीहरूले अहिलेको युद्धको कभरेजमा देखिएको खतरनाक जातिवादलाई इंगित गर्छन् । यो जातिवादी दाग सजिलै हट्दैन । यसको आशय स्पष्ट छ ः अश्वेत मानिसहरूका लागि युद्ध प्राकृतिक कुरा हो भने गोरा मानिसहरू प्राकृतिक रूपमै शान्तिका पक्षधर हुन् ।
यस्ता भिडियो क्लिपहरू आपत्तिजनक मान्ने म मात्र हैन । अमेरिकामा रहेका अरब र मध्यपूर्वी क्षेत्रका पत्रकारहरूको संगठनले पनि युद्धको यस्तो कभरेजप्रति आपत्ति जनाएको छ । यस विषयमा बयान जारी गर्दै उसले भनेको छ : ‘ कुनै पनि जनसंख्या वा मुलुक असभ्य छ वा द्वन्द्व चर्काउने आर्थिक तत्त्वहरू उसमा विद्यमान छन् भन्ने ओरिएन्टलवादी तथा जातिवादी आशयलाई अमेजा निन्दा गर्छ र यसको पूर्ण खण्डन गर्छ ।’
‘यस्तो किसिमको टिप्पणीले मध्यपूर्व, अफ्रिका, दक्षिण एसिया र दक्षिण अमेरिका जस्ता ठाउँमा भएका त्रासदीलाई सामान्यीकरण गर्ने पश्चिमी पत्रकारितामा व्याप्त मानसिकतालाई झल्काउँछ ।’ रिपोर्टमा सही भनिएको छ, ‘यस्तो कभरेजले ती ठाउँका मानिसलाई अमानवीयकरण गर्छ अनि युद्धका विषयमा उनीहरूले भोगेको अनुभवलाई सामान्य र अपेक्षित भनी प्रस्तुत गर्छ ।’
यस्तो किसिमको पूर्वाग्रही र जातिवादी मिडिया कभरेज टीभी र पत्रपत्रिकाबाट बाहिरिएर राजनीतिमा समेत घालमेल भइसकेको चाहिँ समस्याजनक कुरा हो । युक्रेनका छिमेकीहरू अहिले शरणार्थीका लागि आफ्नो सीमा खोलिरहेका छन् जबकि वर्षौंसम्म उनीहरूले शरणार्थीलाई दानवीकरण र दुर्व्यवहार गर्दै आएका थिए । विशेषगरी मुसलमान र अफ्रिकी शरणार्थीहरू तारोमा परेका छन् ।
‘बम, रुसी राइफलबाट भागिरहेका जोकोहीले पोल्यान्ड राज्यको सहयोग पाउनेछ,’ पोल्यान्डका गृहमन्त्री मारिउज कामिन्स्कीले हालै भने । तर युक्रेनमा फसेका अफ्रिकी विद्यार्थीहरूलाई सीमा पार गरेर पोल्यान्ड जान नदिइएको भनी नाइजेरियाले गुनासो गरेको छ । पोल्यान्ड सीमामा पनि केहीले समस्या भोगिरहेका छन् ।
अस्ट्रियाका चान्सलर कार्ल नेह्याम्मरले ‘आवश्यक परेमा हामी शरणार्थी भित्र्याउँछौं’ भने । तर केही महिनाअघि मात्र उनी गृहमन्त्री छँदा अस्ट्रियामा अफगान शरणार्थीलाई बसोवास गर्न दिने कुराको उनी विरोध गर्थे । अफगान शरणार्थीलाई जबर्जस्ती देशनिकाला गर्ने र तालिबानको दमनतिरै फर्काउने अस्ट्रियाको हक रहेको उनको भनाइ थियो । ‘अफगानिस्तान जस्ता मुलुक भन्दा युक्रेन फरक छ,’ उनले अस्ट्रियन टीभीलाई बताए । ‘हामी छिमेकीलाई सहयोग गर्ने कुरा गरिरहेका छौं ।’
यो त ठीकै कुरा हो जस्तो तपाईंलाई लाग्ला । छिमेकीले छिमेकीलाई सहयोग गर्छ नि । तर भौतिक निकटता वा छालाको रंगको आधारमा कसलाई शरण दिने र कसलाई नदिने भन्ने कुरा निर्धारण गरिनु गलत छ भनी यी पत्रकार र राजनीतिकर्मीले बुझ्नै चाहेका छैनन् । आफू जस्तै देखिने र आफूले जस्तै प्रार्थना गर्ने व्यक्तिलाई मात्र स्वागत गर्नका लागि सहानुभूति जाग्छ भने युद्धले प्रवर्धन गर्ने साँघुरो र अज्ञानी राष्ट्रवाद दोहोर्याउन हामी बाध्य हुनेछौं ।
राजनीतिक दण्डविनाको स्वतन्त्र जीवनको खोजी गरिरहेका व्यक्तिलाई शरण दिने अवधारणा संरक्षणको पर्खाइमा रहेका निर्दोषलाई सहयोग भन्दा बाहेक अरू कुनै पनि कुरामा आधारित हुनुहुँदैन । शरणको केन्द्रीय सिद्धान्त नै त्यही हो ।
अहिले युक्रेनीहरू रुसको आक्रमणका कारण हिंसा र मृत्युको जोखिममा छन् । हामीले युक्रेनीहरूलाई जीवन बचाउने सुरक्षा जहाँ र जहिले पनि उपलब्ध गराउनुपर्छ । (तर हाम्रा आफ्ना नीतिका कारण शरणार्थी बनेका व्यक्ति भन्दा अर्कोले देखाएको आक्रामकताका शिकारहरूलाई शरण दिन सजिलो हुने गरेको कुरा हामी पश्चिमाले स्वीकार गर्नुपर्छ ।)
तर हामी जस्तो देखिने, हामीले जस्तै लुगा लगाउने वा हामीले जस्तै प्रार्थना गर्ने भएकाले युक्रेनीहरूलाई गाह्रो परेको बेलामा सहयोग गर्ने निर्णय हामीले लिने हो भने वा उनीहरूलाई मात्र सहायता दिने अनि अन्यलाई उही किसिमको सहयोग नगर्ने हो भने हामीले अर्को मानवलाई सहायता गर्ने गलत कारण छानेको ठहरिन्छ । आफ्ना शब्द सोचविचार गरी छानेर म भन्दैछु– त्यसो गर्दा हामीले सभ्यतालाई परित्याग गरेको र बर्बरतालाई अपनाएको ठहर्छ ।
द गार्डियनमा प्रकाशित न्युयोर्क सिटी युनिभर्सिटीमा अंग्रेजीका प्राध्यापक मुस्तफा बायूमीको लेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...