२६ जेठ २०८३, मंगलबार
लोकान्तर सम्पादकीय

तोडिएको संवादहीनता र नेपालले चाल्नुपर्ने कदम

तोडिएको संवादहीनता र नेपालले चाल्नुपर्ने कदम

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार आफ्नो तीन दिने भारत भ्रमण पूरा गर्दैछन् ।

नेपाल र भारतबीच लामो समयसम्म हुन नसकेको उच्चस्तरीय संवाद देउवाको भ्रमणबाट पुनः सुचारु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिमण्डल स्तर र एक्लाएक्लै भेटवार्ता गरेका छन् । 

मोदीसँगको एक्लाएक्लै भेटमा देउवाले के कुरा उठाएर बाहिर आएको छैन् । तर भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले नेपाल–भारतबीच रहेको सीमा विवाद संवादबाट समाधान गर्नुपर्ने कुरा राखे । 

सन् २०१९ मा नेपाली भूमि अतिक्रमण गर्ने गरी भारतले नयाँ नक्सा प्रकाशित गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना आएको थियो ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि उच्च तहको संवाद टुटेको थियो । 

नेपाली भूमि अतिक्रमण गरेर नक्सा प्रकाशित गरेकोमा पूर्ववर्ती सरकारले भारतलाई कूटनीतिक नोट पठाएर विरोध जनाएको थियो । 

देउवा–मोदी गोप्य बैठकमा कुरा उठेको भए थाहा भएन, तर प्रतिनिधिमण्डल स्तरमा नेपाली भूमि फिर्ता गर्ने विषयमा कुनै छलफल भएन ।

नेपालले विरोध जनाउँदा जनाउँदै भारतले लिपुलेक क्षेत्रबाट कैलाश मानसरोबर जाने बाटो निर्माण गरिरहेको छ । नेपाली भूमि अतिक्रमणको यो विषय उच्चस्तरीय तहबाटै टुंगो लगाउनु पर्ने विषय हो । 

देउवाको भ्रमण चलिरहेको समयमा दार्चुलामा भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्न लागेकोमा स्थानीयले विरोध गरिरहेको सन्दर्भ पनि स्मरणीय छ । 

अतिक्रमित भूमि फिर्ताबारे देउवाले मोदीसँग कुरा गरेको भए यो प्रशंसनीय काम हो, इतिहासमा मूल्यांकन हुनेछ । कुरा उठाउन नसकेको भए कमजोरी र भूल हुनेछ । 

देउवाको भ्रमणमा अन्य केही उपलब्धि भएका छन् । देउवाले भारतसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत अन्य तीनवटा हवाई रुटका लागि प्रस्ताव गरेको छ ।

यी रुट प्राप्त भयो भने मात्र भैरहवाको विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहज हुनेछ । 

भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल–भारत सम्बन्ध विश्वमै उदाहरणीय भनेर भारतका लागि नेपालको महत्त्व रहेको स्वीकार गरेका छन् । 

२५ वर्षअघि देउवा प्रधानमन्त्री रहेको समयमा भएको महाकाली सन्धि अनुसार पञ्चेश्वर परियोजना अगाडि बढाउन मोदीले आग्रह गरेका छन् ।

६ महिनामा सक्ने भनिएको डीपीआर अहिलेसम्म बन्न नसकिरहेको अवस्थामा यो परियोजना तत्कालै अगाडि बढ्ने अवस्था भने देखिँदैन । 

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको जयनगर कुर्था रेल्वे सञ्चालनमा आउने लगायत केही उपलब्धि भएपनि समग्रमा नेपालका प्रधानमन्त्रीको यो भ्रमणले संवादहीनता तोड्ने काम गरेको छ । 

संवादलाई निरन्तरता दिँदै सीमाविवाद लगायतका समय समाधानका लागि नेपालले नै पहलकदमी लिनु आवश्यक छ । यस्तै भ्रमण र संवादबाट नै दुई देशबीचका समस्या समाधान हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्