२७ जेठ २०८३, बुधबार
स्थानीय चुनाव

प्रकाशमान सिंहलाई चिन्नु अघिदेखि नै म सक्रिय राजनीतिमा छु– सिर्जना सिंह [अन्तर्वार्ता]

'यसलाई अगाडि सार्दा जितिन्छ भनेर नै पार्टीले मलाई उम्मेदवार बनाएको हो'

देशकै राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका यतिबेला चुनावी रंगमा रंगिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू प्रचार-प्रसारमा जुटिसकेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकी छिन् । चुनावी घोषणा पत्र सार्वजनिक गर्न बिहीवार कार्की ब्याङ्क्वेटमा उपस्थित भएकी सिंहसँग थोरै फुर्सद निकालेर लोकान्तरका लागि अजय अनुरागीविश्वास खनालले छोटो अन्तर्वार्ता लिएका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

लामो समय सक्रिय राजनीतिबाट टाढा रहेपछि एक्कासि राजधानी शहर काठमाडौंको मेयर बन्छु भनेर अगाडि बढ्नुभएको छ । सक्रिय राजनीतिमा आउनैपर्ने आवश्यकता किन देख्नुभयो ?

म सक्रिय राजनीतिमा थिइनँ भनेर भन्दिनँ । सक्रिय राजनीतिमा थिएँ, तर पद लिएको थिइनँ । महिलाको अधिकारका लागि म जहिल्यै पनि लागिरहेको थिएँ । महिलाको सशक्तीकरणका लागि, महिलाको उत्थानका लागि सधैं लागिरहेको महिला हुँ म । त्यही मूल्यांकन गरेर मलाई पार्टीले मेयरको उम्मेदवार बनाएको हो ।

स्थानीय चुनावमा नेताले आफ्ना परिवारका सदस्यलाई अगाडि सारे भनेर आलोचना भइरहेको छ । तपाईंले पनि प्रभावशाली नेताकी श्रीमती भएकाले टिकट पाउनुभयो भन्ने आरोप लागेको छ । यसबारे तपाईंको प्रतिक्रिया के छ ?

एकदमै झुटो कुरा हो यो । म प्रकाशमान सिंहलाई चिन्नुभन्दा अगाडिदेखि नै यो देशमा लोकतन्त्र ल्याउनु पर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएको महिला हो । मैले यही शिलशिलामा धेरैपटक प्रहरीको गिरफ्तारीदेखि हनुमानढोकाको चिसो छिँडीमा दिन बिताएकी छु ।

प्रकाशमान सिंहसँग विवाह गरेपछि मात्र नेताको श्रीमती भएँ । त्यसपछि कहिल्यै पद नलिएर काम गर्दै आएको हो । म चुप लागेर कहिल्यै बसेको थिइनँ । तपाईंले सबैलाई सोध्नुभए पनि थाहा हुन्छ, म जहिल्यै महिलाको हक अधिकारका लागि, नेपाली कांग्रेसको उत्थानका लागि, प्रजातन्त्रका लागि पद नलिइकनै निरन्तर लागिरहेको थिएँ ।

नेता प्रकाशमान सिंह सक्रिय राजनीतिमा छँदासम्म तपाईंले घरबार सम्हालेर साथ दिनुभयो । अब उहाँलाई राजनीतिक व्यस्तताबाट फुर्सद मिल्न थालेपछि तपाईं अगाडि बढ्नुभयो भन्ने चर्चा पनि सुनिन्छ नि !

त्यो कुरा सरासर गलत हो । हामीले यो मुद्दा उठाउँदै आइराखेको हो । महिलाहरूलाई आरक्षणमा मात्र राख्ने होइन, महिलालाई उपमेयरमा, वडा सदस्यमा मात्र होइन कार्यकारी पदमा अवसर दिनुपर्छ भनेर आवाज उठिरहेको हो । नेपाल महिला संघले काठमाडौं जिल्लामा महिला मेयर चाहिन्छ, महिला उपमेयर चाहिन्छ, कार्यकारी पदमा ३३ प्रतिशत चाहिन्छ भनेर निरन्तर आवाज उठाइरहेको थियो ।

 नेपाल महिला संघ काठमाडौं जिल्लाको म सल्लाहकार भएको नाताले पनि त्यो कुरा महिला संघले निरन्तर उठाइरहेको थियो । म महिलाको हक अधिकारका लागि निरन्तर आवाज उठाइरहेको हुनाले आजको दिनमा आएर पार्टीले मेयरमा प्रस्ताव गरेको हो । प्रकाशमान सिंहको राजनीतिक व्यस्तता वा फुर्सदसँग यसको कुनै साइनो छैन ।

काठमाडौंको मेयर बन्नका लागि पार्टीमा आकांक्षीहरू धेरै थिए, तर अन्तिममा तपाईंले बाजी मार्नुभयो । अन्य आकांक्षीहरूको असन्तुष्टिलाई कसरी सम्बोधन गरेर अगाडि बढ्दै हुनुहुन्छ ?

अरू सबैजना योग्य हुनुहुन्छ । सबैजना सक्षम हुनुहुन्छ । तर उम्मेदवार त कुनै एक जनालाई मात्र बनाउन सकिन्छ नि ! आकांक्षीहरूलाई सबै हिसाबले हेर्दा म भए ठीक हुन्छ भनेर पार्टीले निर्णय गर्‍यो ।

काठमाडौंमा नेपाली कांग्रेसले जित्न नसकेको धेरै समयको ग्याप भएको छ । मलाई अगाडि सार्‍यो भने नेपाली कांग्रेसले जित्छ भन्ने पार्टीको बुझाइ हो । अर्को कुरा म महिला उम्मेदवार पनि भएँ । काठमाडौंले अहिलेसम्म महिला मेयर पाएको छैन । त्यसकारण सबै हिसाबले उपयुक्त भएकाले नै पार्टीले निर्णय गरेको हो । अन्य सबै उम्मेदवार पनि त्यसका लागि उपयुक्त नै हुनुहुन्छ । 

देशकै शान मानिनुपर्ने राजधानी शहर तमाम समस्याहरूको बीचमा जेलिएको छ । प्रदूषणका कारण राजधानी ग्यास च्याम्बर बनिसक्यो । काठमाडौंको मुहार फेर्नका लागि तपाईंसँग के एजेन्डा छ ?

मसँग थुप्रै एजेन्डा छ । अघि मात्र मैले आफ्नो संकल्प पत्र निकालेको छु । संकल्प पत्र हेर्नुभयो भने पनि थुप्रै एजेन्डा पाउनुहुन्छ । त्यो सबै हेर्नुभयो भने प्रस्ट हुन्छ । अहिले मैले भन्दा लामो हुन जान्छ । मसँग दृढ संकल्प छ । इच्छा शक्ति छ । गरेर देखाउँछु । काठमाडौंको मुहार फेरेर देखाउँछु । काठमाडौं एउटा पर्यटकीय स्थल हो । सभ्य, सुसंस्कृत र विश्व सम्पदा सूचीमा परेको शहर हो । यसलाई म व्यवस्थित शहर, राम्रो शहर, सुन्दर शहर बनाएर देखाउँछु ।

नेताहरूले चुनावअघि ठूल्ठूला वाचा गर्छन्, तर चुनावलगत्तै बिर्सिन्छन् । वाचाअनुसार हुन्थ्यो भने त अहिले काठमाडौंमा मेट्रो र मोनोरेल गुडिरहेको हुन्थ्यो, धूलोधूवाँको नामोनिसान भेटिन्नथ्यो । तपाईंका वाचालाई पनि हामीले ५ वर्षपछि यसैगरी व्याख्या गर्नुपर्ने त हैन ?

होइन, होइन । मलाई जिताउनुस् पहिला, त्यसपछि यो प्रश्न गर्नुस् । मैले अहिले ठूल्ठूलो कुरा गर्दिनँ । मैले ग्राउन्डमा गएर सक्ने कुरा मात्र आफ्नो संकल्पमा राखेको छु । त्यसकारण मलाई पहिले त्यहाँ पठाउनुस् । पठाइसकेपछि नगरे मात्र मलाई त्यो कुरा भन्नुहोला । 

तपाईंका प्रतिस्पर्धीले दोब्बर भोट ल्याएर जित्छु भनिरहनुभएको छ । आफूले २०५४ सालमै ८४ हजार भोट ल्याएकाले अहिले दोब्बर भोट ल्याउन कुनै मुस्किल छैन भन्ने उहाँको तर्क सुनिन्छ । स्वतन्त्र उम्मेदवारहरूको चर्चा पनि जोडतोडले चलेको छ । चुनावलाई लिएर तपाईंको हिसाबकिताबचाहिँ के छ ? 

उहाँहरूले के भन्नु हुन्छ, कति भोट ल्याउनुहुन्छ, त्योपट्टि म जान्नँ । म जित्छु । म जितेर देखाउँछु । काठमाडौं शहरको मुहार फेर्नलाई सबैले मलाई साथ र सहयोग गर्नुभएको छ । सबै जना काठमाडौंवासी उत्साही हुनुभएको छ । म त्यसमै ढुक्क छु । त्यसप्रति पूर्ण विश्वस्त छु ।

आजभोलि चुनाव निकै महंगो भयो । तपाईंकै पार्टीका पूर्व महामन्त्रीले ६ करोड खर्च गरेर संसदीय चुनाव जितेँ भनेर सार्वजनिक रूपमै भन्नुभयो । सांसदभन्दा अहिले मेयरमा आकर्षण छ । त्यसमाथि पनि तपाईं राजधानी शहरको मेयर बन्छु भनेर अगाडि बढ्नुभएको छ । कति करोड छुट्ट्याउनुभएको छ चुनावी खर्च ? 

अब उहाँको त्यो कुरा मलाई थाहा भएन । मेरो कुरा गर्नुहुन्छ भने म काठमाडौंको बासी हुँ । काठमाडौंबासी सबैले मलाई चिन्नुहुन्छ । सबैले मलाई माया गर्नुहुन्छ । सबैले आ-आफ्नो किसिमले सहयोग गर्दै दिनरात केही नभनी लागिरहनुभएको छ । त्यसैले त्यतापट्टि म जादिनँ । निर्वाचन आयोगले तोकेको न्युनतम खर्चमा नै म पुर्‍याउँछु, पुर्‍याउन सक्छु ।

एउटै पार्टीभित्र त नमिलेको अवस्थामा गठबन्धनलाई एकसाथ लिएर अगाडि बढ्ने कुरा निकै चुनौतीपूर्ण देखिँदैछ । नेता, कार्यकर्ता मात्र हैन सहयात्री दलका आममतदाता समेतलाई कसरी समेट्ने सोच्नुभएको छ ?
म समेट्छु, किनभने हाम्रो सरकार नै गठबन्धनमा छ । हाम्रा सबै चिज गठबन्धनमा भएको हुनाले गठबन्धनमा जो–जो उम्मेदवार हुनुहुन्छ उहाँहरू सबैलाई समेटेर जान्छु ।

नेतालाई हेर्ने आमनेपालीको सोचाइ अत्यन्त नेगेटिभ छ । सबैले नेतालाई सराप्छन् । गाली गर्छन् । आफ्नै भुँडी भर्ने, नातागोतालाई जागिर लगाउने, नजिकका ठेकेदार पोस्ने काम मात्र गर्छन् भन्ने आरोप सुनिन्छ । यो सबै कुरालाई चिरेर म फरक छु भन्न तपाईंसँग त्यस्तो के कुरा छ ?

काम गरेर देखाउँछु । म आउँदैछु । काम गरेर देखाउँछु । त्यसपछि मेरो मूल्यांकन गर्नुहोला । यो कुरामा म अहिले केही बोल्दिनँ किनभने हाम्रो महिला संघको दिदी बहिनीलाई सोध्नुस् । मसँग राजनीति गर्नेलाई सोध्नुस् । त्यसबाट तपाईंले छर्लङ्ग बुझ्नुहुनेछ ।

पाँच वर्षपछिको राजधानी शहर कस्तो हुनेछ ? एक, दुई, तीन गरेर बुँदागत रूपमा भनिदिनुस् न ।

पाँच वर्षपछिको राजधानी सुन्दर, सफा, स्वच्छ, हराभरा र पर्यटकीय शहर हुनेछ । देशविदेशबाट यो पर्यटकीय शहर हो, यो गन्तव्यमा जानुपर्छ, एकपटक पुग्नुपर्छ भन्ने बनाएर देखाउँछु ।

अन्त्यमा, काठमाडौंवासीलाई के भन्न चाहनुहुन्छ ?

सम्पूर्ण नगरवासीहरूलाई मलाई भोट दिएर जिताउन आग्रह गर्छु । तपाईंहरूले परिकल्पना गरेजस्तै काठमाडौं शहर कस्तो बनाउने भन्ने दृढ संकल्प लिएर आएको छु । मलाई भोट दिएर जिताउनुस् भनेर यहाँका सम्पूर्ण मतदाता, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी सबैलाई आग्रह गर्न चाहन्छु । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्