×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

भक्तपुरमा नेमकिपाको सदावहार साम्राज्य ! किल्ला भत्काउने ४ दलीय गठबन्धनको रणनीति

बैशाख २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाको पुरानो सांस्कृतिक केन्द्रको रूपमा विख्यात भक्तपुर नगरपालिकामा स्थानीयलाई चुनावले त्यति छोएको छैन । देशभरका ७५३ स्थानीय तहमा चुनावको चहलपहल देखिए पनि विश्व सम्पदा सूचीमा समावेश भएको भक्तपुर दरबार क्षेत्रमा चुनावी तामझाम खासै देखिएको छैन ।

Muktinath Bank

देशका अन्य सबै पालिकामा जस्तो विभिन्न राजनीतिक दलदेखि स्वतन्त्रबाट उठेका उम्मेदवारहरूको प्रचारप्रसारका लागि उम्मेदवारले झुन्ड्याउने आ–आफ्नो पोस्टर, पर्चा, पम्लेट त्यहाँ देखिँदैनन् । शनिवार लोकान्तरकर्मी भक्तपुरको दरबार क्षेत्रमा पुग्दा पर्यटकहरूको घुइँचो थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बिदाको दिन भएका कारणले पनि देशभित्र तथा बाहिरबाट उल्लेख्य संख्यामा आएका पर्यटकहरूको उपस्थितिले त्यहाँका स्थानीय आ–आफ्नो व्यापार, व्यवसायमै व्यस्त थिए । कोभिड महामारीका कारण विदेशबाट आउने पर्यटकको खडेरी लागेको अवस्थामा विभिन्न देशबाट आउने विदेशी पर्यटक बढेपछि स्थानीय व्यवसायी उत्साहित देखिएका थिए ।


Advertisment
Nabil box
Kumari

खाजा पसल सञ्चालन गरिरहेका एक युवाले सधैं जस्तै नेपाल मजदुर किसान पार्टीले नै फेरि शतप्रतिशत सिट जित्ने दाबी गरेको छ । ‘भक्तपुरमा नेपाल मजदुर किसान पार्टीबाट एउटा लौरो उठाइदिए लौरोले नै पनि विना प्रचारप्रसार सजिलै चुनाव जित्छ, त्यसको लागि मानिस नै भने पनि उठाउनु पर्दैन,’ उनले लोकान्तरसँग भने, ‘भक्तपुर भनेको नेमकिपाको बलियो लालकिला हो, यो लालकिला अन्य राजनीतिक दलले अहिले होइन, आउने २०–२५ वर्षमा पनि भत्काउन सक्दैन ।’ 

Vianet communication
Laxmi Bank

ती युवा नेपाली कांग्रेसका समर्थक हुन् । त्यहाँ नेपाली कांग्रेस वा नेकपा एमाले, नेकपा माओवादी केन्द्रले जित्न तत्काल होइन, आगामी २–३ दशकसम्म सम्भव नरहेको उनले बताए ।

‘हुन त यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको संगठन पनि छ तर ती संगठनमा नाम मात्रका लागि केही स्थानीय लागेका छन्,’ उनले थपे, ‘केही काम पर्‍यो भने पनि यहाँ नेमकिपाले नै गर्छन्, अन्य दलका नेताले त्यति वास्ता नै गर्दैनन् ।’

खाजा पसलमा खाजा खाइरहेका ६० वर्षीय एक स्थानीयले पनि नेमकिपाबाहेक अन्य दलले सोच्न नसक्ने बताए । ‘हुन त अन्य दलले पनि यहाँ प्रयास नगरेको होइन तर सकिरहेका छैनन्,’ उनले थपे, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त यहाँ संगठन बलियो बनाउन भनेर ३ पटकसम्म आइसकेका छन् तर पनि उनले सकेनन् ।’

स्थानीयलाई नगरपालिकामार्फत धेरै क्षेत्रमा रोजगारी दिएको हुनाले पनि स्थानीय नेमकिपासँग नै रहेको उनले बताए । नगरपालिका अन्तर्गतको स्कूल, कलेजदेखि नगरपालिकामै सफाइकर्मीदेखि प्लास्टिक उठाउने होस् वा पर्यटक पथ प्रदर्शकसम्ममा रोजगारी दिएको हुनाले पनि स्थानीयले नेमकिपाको विकल्पबारे सोच्नै नसक्ने उनले बताए ।

नेकपा एमाले समर्थित अर्का एक युवाले यसपालि जसरी पनि नेमकिपालाई रोक्ने तयारी भएको बताए । ‘विगत जस्तै सबै सिटमा त नेमकिपाले यसपटक जित्न सक्दैन होला,’ उनले लोकान्तरसँग भने, ‘कुनै–कुनै वडामा वडाध्यक्ष र सदस्यमा भने नेमकिपाको विजय रथ यसपटक अवश्य नै रोकिन्छ ।’ त्यसका लागि अन्य दलहरूले एकआपसमा समीकरण बनाएर नै उम्मेदवार उठाएको उनले बताए ।

भक्तपुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा नेमकिपाले पूरै सेट नै जितेको थियो । मेयरमा सुनिल प्रजापति, उपमेयरमा रजनी जोशीसहित १० वडामा १० वडाध्यक्ष र ५० वडा सदस्यहरू सबै जितेका थिए ।

मेयरमा प्रजापतिले २५ हजार ७३० मत ल्याएका थिए भने निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मत मात्र ल्याएका थिए । त्यसैगरी उपमेयरमा नेमकिपाकी रजनी जोशीले २५ हजार ७११ मत ल्याएर जितेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी गंगालक्ष्मी हवालले ६ हजार ५८७ मत मात्र ल्याउन सकेको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि यसपटक पनि ९ पार्टीबाट र ५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उपमेयरमा ८ राजनीतिक दल र १ जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर मेयर, उपमेयरमा उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसले मेयर र नेकपा एसले उपमेयर पाएको छ ।

मेयरमा नेमकिपाबाट सुनिल प्रजापति, नेकपा एमालेबाट रविन्द्र लाछिमस्यु, नेपाली कांग्रेसबाट रामप्रसाद कासुला, नेकपा माओवादी केन्द्रबाट तुल्सीभक्त सुवाल, जनता समाजवादी पार्टी नेपालबाट राजाराम ढुकुछु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बद्री लाखाजू सहितले उम्मेदवारी दिएका छन् ।

उपमेयरमा नेमकिपाबाट रजनी जोशी, नेकपा एमालेबाट रन्जना खर्बुजा, नेकपा माओवादी केन्द्रबाट इन्द्रमाया सुवाल, नेकपा एकीकृत समाजवादीबाट ओमचरण अमात्य, जनता समाजवादी पार्टीबाट कमला दुवाल (विक), राप्रपाबाट लक्ष्मी छुस्याबाग सहितले उम्मेदवारी दिएका छन् ।

यसरी विभिन्न पदमा विभिन्न दल र स्वतन्त्रबाट समेत उम्मेदवारी दिइएको भए पनि नेमकिपाले नै फेरि जित्ने स्थानीयको दाबी छ । ‘अन्य राजनीतिक दलले देशभरि प्रतिस्पर्धा गर्छ तर नेमकिपाले आफ्नो पूरा शक्ति यहीँ भक्तपुर नगरपालिकामा मात्र लगाउँछ,’ नेकपा एमाले समर्थित अर्का युवाले लोकान्तरसँग भने, ‘एउटा जिल्लाको एउटा मात्र नगरपालिकामा फोकस गर्ने गरेको कारण पनि अन्य राजनीतिक दलले यहाँ जित्न सकेको छैन ।’

स्थानीय तह मात्र होइन, २०४६ सालपछि प्रतिनिधिसभा सदस्य होस् वा प्रदेशसभा सबै सिटमा नेमकिपाले नै जित्दै आएको छ ।

नेमकिपालाई रोक्न केही वडामा ४ दलको गठबन्धन

यसपटक नेमकिपालाई केही वडामा रोक्नका लागि नेपाली कांग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ४ दलबीच तालमेल गरिएको छ । केही वडामा एमालेले उठाएको ठाउँमा कांग्रेसले उम्मेदवार उठाएको छैन भने केही वडामा कांग्रेसले उठाएको ठाउँमा एमालेले वडाध्यक्षको उम्मेदवार उठाएको छैन ।

१ नम्बर, ३ नम्बर र ५ नम्बर वडामा वडाध्यक्ष र वडा सदस्य पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरिएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलाका अनुसार १ नम्बर वडामा वडाध्यक्ष एमालेले र २ वडा सदस्य नेपाली कांग्रेसले पाएको छ । ३ नम्बर वडामा वडाध्यक्ष नेपाली कांग्रेसलाई तथा एमाले र माओवादीलाई सदस्य दिइएको छ । ५ नम्बर वडामा नेपाली कांग्रेसलाई वडाध्यक्ष तथा सदस्य माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दिइएको छ ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार रवीन्द्र लाछिमस्युले पनि गठबन्धन भएको स्वीकार गरे । कुनै–कुनै वडामा नेमकिपाविरुद्ध एमाले र कांग्रेसले एउटा समीकरण बनाएको उनले बताए । फलानो–फलानो मानिस चाहियो नै भन्ने बुझेर तालमेलभन्दा पनि समीकरण गरेको उनले खुलाए । ‘३ नम्बर वडामा हामीले कांग्रेसलाई छाडेका छौं, हामीले एमालेबाट उम्मेदवारी दिएका छैनौं,’ उनले लोकान्तरसँग भने, ‘एमालेबाट उठेका उम्मेदवार रमेश न्याइच्याईका लागि कांग्रेसले उठाएको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ ।’

न्याइच्याई नेमकिपाकै एक हस्ती पूर्व प्रधानपन्च तथा पूर्व वडाध्यक्षको छोरा हुन् । २ वर्षअघि उनले नेमकिपा छाडेर एमाले प्रवेश गरेका थिए ।

भक्तपुरमा नेमकिपाले निषेधको राजनीति गरेको छ : एमालेबाट मेयर उम्मेदवार लाछिमस्यु

नेकपा एमालेबाट मेयर उम्मेदवार रवीन्द्र लाछिमस्यु नेमकिपाले निषेध, धाक–धम्कीको राजनीति गरेर ४० वर्षदेखि एकछत्र राज गरिरहेको बताउँछन् । नेमकिपालाई भोट नदिने अवस्था देख्यो कि उसको घरमा झगडा पार्ने, स्वास्नी माइत पठाइदिने, लोग्ने–स्वास्नीमा सम्बन्धविच्छेद गराइदिने, यातना दिने, समाजमा गुठीबाट बहिष्कार गराइदिने जस्तो निषेधको राजनीति गर्दै आएको उनले आरोप लगाए । त्यसकारण डराएर स्थानीयले नेमकिपालाई भोट दिनुपरेको उनले बताए । नेमकिपाले एमालेकै उम्मेदवारलाई टर्चर दिएको उनले आरोप लगाए ।

‘एमालेबाट ९ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार अक्षय सुन्दर प्रजापतिलाई अहिले पनि उहाँको घरमा नेमकिपाका २ जना केन्द्रीय सदस्यहरूले उम्मेदवारी फिर्ता लिन भन्दै धर्ना कस्नुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘तैंले किन प्रचार गरिस्, किन घरदैलो गरिस् भनेर टर्चर दिने काम गरिरहनुभएको छ । टर्चरका कारण उहाँ घर गइरहनुभएको छैन । यहीँ वडा कार्यालयमै सुत्नुहुन्छ ।’

नेमकिपाका वडाध्यक्ष प्रत्यासी रविन्द्र ज्याखो, छोरिमाया ज्याखोसहित नेमकिपाका केन्द्रीय नेताहरूले दिनहुँ घरमा गएर धम्की दिने गरेको उनको आरोप छ ।

६ नम्बर वडामा एमालेबाट वडा सदस्यमा उठेका शरीफ सुवाललाई पनि नेमकिपाले उसैको परिवारबाट धम्की दिलाएको उनले आरोप लगाए । युवासंघ भक्तपुरको अध्यक्ष भएकाले उनलाई एमालेले उम्मेदवार बनाए पछि नेमकिपाले उनकै बुवाबाट उम्मेदवारी फिर्ता लिन दबाब दिएको उनले बताए ।

‘उहाँको बुवा नेमकिपा समर्थक हो । तैले एमालेबाट उम्मेदवारी दिइस्, अब आइन्दा त घरमा छिर्न पाइँदैन भनेर बुवाबाट नै नेमकिपाले धम्की दिन लगाएका छन्,’ उनले थपे, ‘यस्तोसम्मको निषेधको राजनीति नेमकिपाले गरिरहेको हुँदा नैतिक रूपले त नेमकिपाको पराजय भइसकेको छ ।’

नगरपालिकाका वृद्धवृद्धा कोष अन्तर्गतको रकम आचारसंहिता विपरीत अहिले चुनावको बेला वितरण गरेर राज्यकोषको रकमको दुरुपयोग गरेको उनले बताए । ‘घरघर पुगेर तपाईंको घरमा वृद्धवृद्धा हुनहुन्छ भन्दै जाने र नभए पनि ५–५ सय रुपैयाँ दिने गरिएको थियो,’ उनले भने, ‘त्यो कुरा हामीले थाहा पाएर प्रहरीलाई जानकारी गराए पछि बल्ल रोकिएको छ ।’

उनीहरूले ४० वर्षदेखि वर्ग संघर्षको कुरा गरेर यहाँका जनतालाई मूर्ख बनाउने काम गरिरहेको उनले बताए । ‘तर अहिले हेर्ने हो भने भक्तपुरमा नेपाल मजदुर किसान पार्टी जति वर्गको खाल्डो कुनै पार्टीमा छैन । अहिले पार्टीमा मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यमा समेत टिकट पाएका मानिसहरू अर्बपति छन्,’ उनले भने, ‘वडा सदस्य समेत अर्ब पति छन् तर त्यही पार्टीले वर्ग संघर्षको नारा दिन्छ । यहाँ अहिले निश्चित व्यक्तिको हातमा मात्र सम्पत्ति केन्द्रित छ ।’

‘पहिले–पहिले हामी पूर्वका जनतालाई चार आनेमा सीमित भएको भन्थ्यौं तर अहिले भक्तपुरका जनता चार आनेमा सीमित भएका छन्,’ उनले भने । स्थानीयले आफ्नो घरव्यवहार चलाउन जग्गा जमिन बच्दै गएपछि ४ आना जग्गामा मात्र सीमित हुनुपरेको उनले बताए ।

मजदुर र किसानको नाममा पार्टी भए पनि ४० वर्षदेखि एकछत्र राज गर्दै आएको पार्टीले मजदुर र किसानका लागि एउटा सिन्का पनि नभाँचेको उनको आरोप छ ।

वडास्तरबाट जनप्रतिनिधिले किसानका लागि धानको बीउ अनुदानमा दिएको थियो तर त्यो धानको बीउ नपाकेर सबै नष्ट भए पनि नगरपालिकाले क्षतिपूर्ति नदिएको उनले बताए । ‘क्षतिपूर्ति दिन्छु भनेर सबै किसानलाई दिनभरि लाइन लगाएर पूर्जा संकलन गरे तर त्यसको १ पैसा पनि क्षतिपूर्ति किसानले पाएनन्,’ उनले थपे, ‘किसानको सबै जग्गा जमिन हनुमन्ते खोलाले डुबानमा पार्छ तर त्यसको लागि नगरपालिकाले केही पनि गर्न सकेको छैन ।’

हनुमन्ते करिडोर बनाउनुपर्छ भनेर एमाले नेतृत्वको संघीय सरकारले दिएको बजेटबाट सृजनानगरसम्म करिडोर निर्माणको काम सम्पन्न पनि भएको उनले बताए । ‘राधेराधे चोकलाई डुबानबाट हामीले बचाइसकेका छौं तर त्यहाँदेखि भक्तपुर नगरपालिकाको सीमानामा पुग्ने बित्तिकै नेमकिपाले कामलाई रोके,’ उनले थपे, ‘खबरदार ! यहाँ दोहोरो भिडन्त हुन्छ भन्दै काम रोकेका कारण हरेक वर्ष खोला बगरका छेउमा धान त किसानले रोप्छन् तर डुबानका कारण काट्न पाउँदैनन् ।’ 

भक्तपुरका किसानसँग अब जग्गा नै नरहेको उनले बताए । भएभरको जग्गामा नगरपालिकाले प्लानिङ गर्दै जान्छ, सस्तोमा आफ्नै कार्यकर्तालाई किन्न लगाएर भूमाफियासँग कारोबार गर्ने गरेको उनले आरोप लगाए । ‘यहाँका स्थानीयको जग्गा जमिन भक्तपुर नगरपालिका बाहिर चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिकामा छन् तर ती सबै जग्गा पनि नेमकिपाकै कार्यकर्ताले सञ्चालन गर्ने इँटाभट्टाले लिइराखेको छ,’ उनले भने, ‘अब त किसानले खेती पनि गर्न जान छोडे । इँटाभट्टाकै कारण सबै अल्छी भइसके ।’

भूकम्पका कारण भत्किएको सम्पदाको पुनर्निर्माणको कामका लागि नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले दिएको २ अर्ब रुपैयाँको बजेटबाट नै सबै धरोहरको पुनर्निर्माण भएको उनले दाबी गरेका छन् ।

५८ हजार मतदाता रहेकोमा खसेको सदर मत ४५ हजार जति हुने उनले अनुमान गरे । १५ हजार मत कटाएर चुनाव जित्ने अभियानमा लागेको उनले बताए । ‘हाम्रो जमानत जफत हुँदैन, उनीहरूको हुनसक्छ । ४० वर्ष राज गरेको पार्टीलाई सानो सम्झेको पनि होइन,’ उनले भने, ‘म आफैं ३७ वर्षको युवा हो । १० वटै वडामा परिवर्तन गर्न चाहने युवाहरूको साथ र समर्थन मलाई प्राप्त छ । त्यसैगरी महिलाहरूको लागि पनि मैले धेरै योजनाहरू ल्याएको छु । त्यसकारण महिला तथा युवाहरूको साथले चुनाव जित्छु ।’

भ्रमको खेतीको पर्दाफास गर्दैछौं : कांग्रेस मेयरका उम्मेदवार

नेपाली कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुला नेमकिपाले गर्दै आएको भ्रमको खेतीको पर्दाफास गर्दै जनतालाई सुसूचित गर्ने काम गरिरहेको बताउँछन् । भन्नका लागि नेमकिपा पार्टी मजदुर किसानको पार्टी हो तर व्यवहारमा त्यसो नभएको उनले बताए ।

‘नेमकिपा पार्टीकै अध्यक्ष नारायणमान विजुक्छे वा मेयरका उम्मेदवार सुनिल प्रजापति न मजदुर हुनहुन्छ, न किसान,’ उनले लोकान्तरसँग भने, ‘किसानको हकहितमा लाग्नुभन्दा पनि किसानको उर्वराभूमि लुटेर प्लटिङ गर्नुभएको छ ।’

किसान र मजदुरलाई जुलुसमा मात्र उपयोग गर्ने तर उम्मेदवार बनाउँदा आफ्नै भाइ, ज्वाइँलाई बनाउने गरेको उनले आरोप लगाए ।

‘नेमकिपा अध्यक्ष नारायणमान आफैंले सहोदर कान्छो भाइ योगेन्द्रमान विजुक्छेलाई वडा नम्बर ५ मा वडाध्यक्षको उम्मेदवार बनाउनुभएको छ,’ उनले लोकान्तरसँग थपे, ‘विद्यमान सांसद प्रेम सुवालले पनि आफ्नै बहिनीज्वाइँ कृष्णप्रसाद कोजुलाई ८ नम्बर वडाध्यक्षको उम्मेदवार उठाउनुभएको छ ।’

यो सबै पर्दाफास गराउँदै जनतालाई सुसूचित गराउने काम गरिरहेको उनले बताए । त्यसकारण यस पटकको चुनाव ऐतिहासिक नै हुने उनको अनुमान छ । ‘नेमकिपा अब भक्तपुर नगरपालिकाबाट पनि विस्थापित हुन्छ । किनभने कुनै समय नेमकिपाले कर्णालीबाट ९६ हजार मत पाएको थियो । अहिले खुम्चिँदा–खुम्चिँदै भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा खुम्चिएको छ,’ उनले थपे, ‘भक्तपुरमा ३ वटा नगरपालिकाहरू चांगुनारायण, सूर्यविनायक, मध्यपुर थिमीमा धुलो चटाएझैं यसपटक भक्तपुरमा पनि धुलो चटाउँछौं ।’ 

भक्तपुर नगरपालिकामा २०४८ सालमा नेमकिपाले ल्याउने मत आधामा खुम्चिसकेको उनले बताए । अब त्यो आधामा खुम्चिने र भक्तपुर नगरपालिकाबाट बढारिने दिन टाढा नरहेको उनले बताए ।

‘उहाँहरूले राम्रा काम गरेको भए देशैभर संगठन विस्तार हुन्थ्यो तर देशभरबाट विस्थापित हुँदाहुँदै भक्तपुर नगरपालिकामा सीमित हुनुभएको छ,’ उनले थपे, ‘भक्तपुरमा पनि भन्ने हो भने उहाँहरू आफ्नो हेडक्वार्टरमा सीमित हुनुभएको छ । अर्को चुनावमा अब त्यो हेडक्वार्टरबाट पनि लखेटिने निश्चित छ ।’

भक्तपुर जिल्ला अन्तर्गतका अन्य पालिकामा त्यत्रो संगठन हुँदाहुँदै सबै बिग्रिसकेजस्तै भक्तपुर नगरपालिकामा पनि वडा हुँदै मेयर, उपमेयर सबै हार्ने दिन आउन थालेको उनले बताए ।

‘भक्तपुरको २ नम्बर संसदीय क्षेत्रमा नेमकिपाले अंगरा थापा मगरलाई उठाएको थियो, उहाँहरूकै भाषामा भन्ने हो भने जमानत जफत नै भएको थियो,’ उनले थपे, ‘भक्तपुर जिल्लामा नेमकिपाको उम्मेदवारको जमानत जफत भएको छ । अब उहाँहरूको संगठन निभ्न लागेको बत्ति अलि चम्केको मात्र हो त्यो पनि भक्तपुर नगरपालिकामा ।’

गत ५ वर्षमा योजनाबद्ध तरिकाले विपक्षीलाई निषेध गर्ने काम मात्र गरेको उनले आरोप लगाए । ‘जतिसुकै मत आए पनि म न निकटम प्रतिद्वन्दी थिएँ तर मलाई कुनै पनि कार्यक्रममा सुनिल प्रजापतिले आमन्त्रण गर्नुभएन । नगर सभामा बोलाउन त बोलाउनुभयो तर ताली बजाउनका लागि मात्र बोलाउनुभयो,’ उनले थपे, ‘हामीलाई शुभकामना मन्तव्य समेत दिन लगाउनुभएन । लोकतान्त्रिक देशमा उहाँहरूको साँघुरो मन, साँघुरो विचार भएकै कारणले संगठन खुम्चिँदै गरेको छ ।’

‘उहाँहरूले यो काम गरे, त्यो काम गरे भनिरहनुभएको छ तर ख्वपः विश्वविद्यालयको अनुमति उहाँहरूकै कारण पाइएन, यो कुरा पनि जनतालाई खुलाउनुपर्छ,’ उनले भने । ‘विश्वविद्यालयका कूलपति स्वतः प्रधानमन्त्री हुन्छ तर कूलपति मेयरलाई पदेन हुनुपर्ने  र भाइस चान्सलर (भिसी) नगर परिषद्ले तोकेको हुनुपर्ने भन्नुभएको छ,’ उनले थपे, ‘भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने १०० रोपनी जग्गा न त उहाँहरूले देखाउन सक्नुभएको छ, न त लिजमा लिएको देखाउनुभयो ।’

सरकारमा बसेको पार्टीलाई बदनाम गरेर भक्तपुरका जनतालाई भ्रम छर्ने प्रयास गरेको उनले बताए । 

नमूना कामको आधारमा पहिलेभन्दा बढी मतान्तरले पूरै सेट जित्छौं : नेमकिपाका मेयर उम्मेदवार प्रजापति  

नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापति यो पटक त गत स्थानीय चुनावभन्दा पनि बढी मतान्तरले सबै सेट नै चुनाव जित्ने बताउँछन् । नगरपालिकामा भएको कामको पारदर्शिता, आर्थिक अनुशासन र शुन्य भ्रष्टाचारको आधारमा फेरि पनि ‘क्लीन स्वीप’ गर्ने उनले बताए । नगरपालिकाको स्वामित्वमा सञ्चालित विभिन्न विषयका ७ वटा कलेजहरूमा नर्सरीदेखि मास्टर्स डिग्रीसम्मका विद्यार्थीले अत्यन्त न्यून शुल्कमा उत्कृष्ठ नतिजासहित पढ्न पाएको उनले बताए ।

‘केही गरी बिरामी परिहालेछ भने आधा घण्टाभित्र उपचार गराउने व्यवस्था सहितको अस्पताल छ । घरघरमा नर्स पठाएर अस्पतालहरूबाट सेवा प्रदान गराएका छौं,’ उनले भने, ‘हामीसँग क्यान्सर अस्पतालदेखि आँखा अस्पतालसहित अन्य सरकारी अस्पताल छन्, जहाँ अन्य कुनै पनि नगरपालिकाले दिने स्वास्थ्य सुविधा सायद नै होलान् ।’

नगरपालिकाभित्र २३ ठाउँमा खुलारूपमा व्यायामशालाहरू सञ्चालन गरिएको उनले बताए । ‘जिममा जान नसक्ने गरीब, सामान्य नागरिकहरू होस् वा युवा, बालबलिकादेखि वृद्धवृद्धसम्मले निःशुल्क रूपमा ती खुला व्यायामशालामा गएर प्रयोग गरिरहनुभएको छ,’ उनले लोकान्तरसँग भने ।

धाकधम्की निषेधको राजनीति गरेको विपक्षीहरूको आरोप गलत रहेको उनले बताए । ‘२१औं शताब्दीमा पनि त्यस्तो आरोपमाथि कसले विश्वास गर्न सक्छ ? यहाँ कुनै खालको विवाद हुँदैन,’ उनले थपे, ‘अहिले पनि उहाँहरू प्रचारप्रसारमा लाग्नुभएकै छ । घरदैलो गरिरहनुभएकै छ । कहीँकतै कुनै डिस्टर्ब गरिएको छैन ।’

नेपाल मजदुर किसान पार्टी एउटा अनुशासित पार्टी, व्यवस्थित पार्टी भएकाले पनि त्यस्तो कहिल्यै नगरेको उनले बताए । ‘प्रजातन्त्रमा सबै विचारलाई फल्न–फुल्न दिनुपर्छ, सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको विचार, सिद्धान्त पनि हो । त्यति पनि आरोप नलगाउने हो भने उहाँहरूले के भन्ने हो ?’ उनले लोकान्तरसँग भने, ‘वडा सदस्य समेत अर्बपति उम्मेदवार भएको विषय आरोपका लागि मात्र आरोप हो । हामी सबै उम्मेदवारहरू किसान, मजदुर वर्गकै हौं ।’

नगरपालिकाको प्रत्येक महिनाको आय व्यय सबै पत्रपत्रिका, एफएम रेडियोमार्फत पारदर्शी गरी सार्वजनिक गर्ने गरिएको उनले बताए । मासिक पत्रिकामा पनि कति जना विदेशी पर्यटक आए, कति आम्दानी भयो सबै कुरा सार्वजनिक गर्ने गरिएको उनले बताए ।

‘जुनसुकै विषय पनि हामीले लिपिवद्ध गर्छौं, सार्वजनिक गर्छौं । विपक्षी पार्टीले के भन्छन् भन्दा पनि हामीले गरेको कामको मूल्यांकन जनताले गरिरहेका छन् । जनताको विश्वास हाम्रो पार्टीप्रति छ,’ उनले थपे, ‘कसैले अनुशासनहीन काम गर्छ भने कारबाही गर्छौं, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छौं ।’

अरुको जस्तो भएको पेशा छाडेर, काम छाडेर चुनावमा करोडौं खर्च गर्ने र ५ वर्षसम्म पैसा कमाउने उद्देश्यले नभएर सेवा गर्नका लागि राजनीतिमा आएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x