कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् ।
कानून दिवसका अवसरमा सर्वोच्च बार एसोसिएसनले सोमवार आयोजना गरेको कार्यक्रममा उनले मुद्दाको पेशी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताए ।
Advertisment
‘न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ,’ कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘गोला प्रक्रियाबाट मुद्दाको पेशी व्यवस्थापन गर्न शुरू गरेपछि पारदर्शीता भएको छ ।’
उनले न्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताए ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले समयसापेक्ष संशोधन गर्नुपर्ने ऐन कानूनहरू संशोधन गरेर सेवाग्राहीलाई छिटो न्याय दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने र न्यायकर्मीले बानी, व्यवहार र आचरण सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।
नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा विकृति, विसंगति रहेको हुँदा त्यसको अन्त्यका लागि विधिको शासन कायम गर्न सबैले कसम खानुपर्नेमा जोड दिए । एकैखाले मुद्दाहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्ने उनको भनाइ थियो ।