जनकपुरधाम, १ साउन – धनुषा माची झिटकहिया ४ पर्सा टोलका विमल कुमार यादवले बैदेशिक रोजगारीको लागि आफ्नै गाउँका एजेन्ट नरेश यादवलाई राहदानी र ६० हजार रुपैयाँ वुझाएको धेरै भइसक्यो ।
इजराईल पठाईदिने भनेर ती एजेन्टले आशा देखाएपछि सोही गाउँका विमल कुमार यादवसँगै रामकुमार साह र रामकुमार यादवले पनि ती एजेन्टलाई राहदानी र जनही ६० हजार रुपैयाँ वुझाए ।
‘इजराईल जानका लागि ५ लाख ७५ हजार रुपैयाँ एजेन्ट यादवले मागेपनि शुरु किस्तामा हामी तिनै जनाले ६०/६० हजार रुपैयाँका दरले आईएमई मनि ट्रन्सफर मार्फत पैसा वुझायौं, । त्यसको बैंक भौचर पनि हामीसँग सुरक्षित छ,‘ विमल कुमार यादवले लोकान्तरसँग भने, “रकम र राहदानी दिएको १ बर्ष भन्दा वढी भईसक्यो । एजेन्टले हामीलाई न इजराईल पठाएको छ । न रकम र राहदानी नै फिर्ता गरेको छ ।”
एजेन्टसँग सम्पर्क गर्दा भोली दिन्छु, पर्सी दिन्छु भन्दै आलटाल गरिरहेको यादवले बताए ।
काठमाण्डौको कपन निवासी अर्जुन राज गिरीले धनुषा नगराईनका एजेन्ट इसराफिल साहलाई बैदेशिक रोजगारीका लागि राहदानी र रकम दिए ।
गिरी र अन्य दुइ जनाले ४ लाख ५० हजार रुपैयाँ र राहदानी ती एजेन्ट साहलाई १० जनवरी २०१७ मा दिएका थिए । एजेन्ट साह नेपालमा नबसि यूएईमा बस्थे । नेपाल आएको वेला उनलाई गिरीसहितले पैसा वुझाए ।
अर्जुन राज गिरीले जनकपुरको जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्रमा उजुरी गरेपछि अनुसन्धान गर्दै जाँदा एजेन्ट साह नेपाली नभई भारतीय नागरीक भएको खुल्यो । भारतमा अपराध गरी फरार भएर नेपाल आएको र नेपालमा आएर धनुषाको नगराईन बासी भई नेपाली नागरिकता प्रमाण पत्र लिएको पत्ता लागेको सूचना केन्द्रका परामर्शकर्ता प्रभात कुमार मिश्रले बताए ।
‘प्रवासी नेपाल समन्वय समिति काठमाण्डौमा उक्त मुद्दाका बारेमा जानकारी गराईएको छ । निवेदकलाई अपराध अनुसन्धान महाशाखामा उजुरी गर्नका लागि सुझाव दिइएको छ,’ परामर्शकर्ता मिश्रले भने ।
धनुषाको मुखियापट्टी मुसहरनिया १ का २८ बर्षिय लक्ष्मेश्वर यादवले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेपछि धनुषाको हंसपुर कठ्पुल्ला ८ का एजेन्ट दशरथ मण्डललाई १ लाख ८५ हजार रुपैयाँ र राहदानी दिए । साउदी अरब पठाईदिन्छु भनेर ती एजेन्टले भनेपछि यादवले दुई पटक गरी आईएमई मार्फत १ लाख ८५ हजार रुपैयाँ दिएका थिए ।
विदेश पठाउँछु भनेर गाउँबाट विदा भई काठमाण्डौ पनि पुगे यादव ।
एजेन्टले पैसा दिएन‘१ महिना काठमाण्डौमा बसायो तर त्यो एजेन्ट मण्डलले विदेश पठाएन’ यादवले भने “धेरै पटक एजेन्टसँग पैसा फिर्ता माँगे । पटक पटक छलफल पनि भयो । केही रकम एजेन्टले फिर्ता त गर्यो तर अहिले पनि ५५ हजार रुपैयाँ फिर्ता दिएको छैन ।”
महोत्तरी औरही विक्रमपुर ५ का विजय यादवले काठमाण्डौका एजेन्ट गणेश लिम्बु र सहायक एजेन्ट राजकिशोर साहलाई बैदेशिक रोजगारीका लागि ३ लाख ५० हजार रुपैयाँ दिए ।
उनीहरुलाई दुबई बाटो हुँदै टुरिस्ट भिजामा इराक पुर्याइयो । इराकमा पुगेपछि भिसा लागेन । यादव इराकमा अलपत्र परे । त्यहाँ जसो तसो सहयोग जुटाएर २५ दिन पछि नेपाल फर्के । नेपाल फर्केपछि त्यो एजेन्टसँग पैसा माग गर्दा दिईरहेको छैन ।
यादव भन्छन, “मानव तस्करी जस्तै मलाई विदेश पठाएर अलपत्र पारियो । अहिले नेपाल आउँदा पनि त्यो एजेन्टले रकम फिर्ता गरिरहेको छैन ।”
महोत्तरी भ्रमरपुरा ९ का धिरेन्द्र ठाकुर आफ्नै गाउँका एजेन्ट अशोक यादव मार्फत बैदेशिक रोजगारीका लागि मलेशिया पुगे । मलेशियाको ग्लोव फ्याक्ट्रीमा प्याकेजिङ्गको काम हुन्छ भनि २ लाख रुपैयाँ एजेन्ट यादवले वुझेका थिए ।
ठाकुरले १ लाख नगद दिएका थिए भने १ लाख रुपैयाँको कपाली तमसुक एजेन्ट यादवको नाउँमा बनाईदिएका थिए । २०७२ मंसिरमा मलेशिया पुगेपछि भने अनुसारको ठाकुरलाई काम दिइएन ।
भनिएको तलब भन्दा ४ सय रिङ्गिट कम दियो । सम्झौता पत्रमा ९ सय रिङ्गिटमा श्रम स्वीकृति गराईनुका साथै ओभरटाईम जोडेर १४ सय रिङ्गिट तलब दिने उल्लेख थियो । तर मलेशियामा त्यसो नभएपछि ४ महिना काम गरेर नेपाल फर्कन ठाकुर बाध्य भए ।
धनुषा झोझी कटैयाका ३३ बर्षिय सुजित कुमार ठाकुरले गाउँकै एजेन्ट निर्मला देवी सिंहलाई १ लाख रुपैयाँ तिरेर यूएई गए । मेकानिकल हेल्परको रुपमा काममा पठाएपनि १७ दिनको तलब ठाकुरलाई दिइएन ।
अचानक एक दिन तिमी फर्किनुपर्छ भनि जवरजस्ती राजिनामा गर्न लगाईयो । १ महिनासम्म काम पनि दिइएन । ८ घण्टाको ठाउँमा १० घण्टाको काम गराउँथ्यो । तर, तलब ८ घण्टाकै दिन्थ्यो । बाध्य भई उनी नेपाल फर्र्किए ।
न राहदानी न रकमगणेशमान चारनाथ नगरपालिका भरतपुर छघरियाका २० बर्षिय असरफ राईनले सिरहा लहानका उसमान राईनलाई १ लाख ८५ हजार रुपैयाँ दिए । आजाद भिसामा कतार पठाईदिन्छु भनेर राहदानी र रकम लिएको ८ महिना भईसक्यो । राईनलाई ती एजेन्टले न त राहदानी फिर्ता गरेको छ न रकम नै ।
ब्याजमा ऋण उठाएर एजेन्टलाई दिएको पैसा एजेन्टले फिर्ता नगरिदिएपछि राईन अहिले घरको न घाटको भएका छन् ।
धनुषा लगमा गाडागुठी ५ का प्रमोद कुमार झाले जनकपुरका एजेन्ट राजकुमार साहलाई बैदेशिक रोजगारीमा पठाई दिन भन्दै राहदानी दिएको ४ महिना भईसक्यो । साउदी अरेविया पठाईदिन्छु भनेर ती एजेन्ट साहले राहदानी लिनुकासाथै झाको मेडिकल परीक्षण नै नगराई नक्कली भिसा समेत दिए । अहिले एजेन्ट साह झाको सम्पर्कमा छैनन् ।
साहले राहदानी फिर्ता पाउन सकेका छैनन् ।
यसरी हेर्ने हो भने धनुषा, महोत्तरी लगायतका जिल्लाहरुबाट अबैध एजेन्टहरु मार्फत मानिसहरु ठगिने क्रम बढेको छ । विदेश पठाईदिन्छु भनेर एजेन्टहरुले राहदानी र रकम समेत लिन्छन् तर विदेश पठाईदिँदैनन् । विदेशमा पठाएपनि भने अनुसारको काम र तलब नपाएपछि नेपाल फर्किन बाध्य छन् ।
सम्झौता गरेर पठाएपनि विदेशमा पुग्दा कम्पनीले त्यहाँ न त काम दिन्छ न त तलब नै । सम्झौता गरेर गएपनि १० महिना काम गराउँछन्, २ महिनाको तलब दिँदैनन् र घर पठाईदिन्छन् । नेपालमा मेडिकल जाँच गराई विदेश पठाउँछन् तर विदेशमा पुनः मेडिकल जाँच गराउँदा फेल भएर नेपाल फर्काउने गरिन्छ । बैदेशिक रोजगारीमा जाँदा ठगिएका व्यक्तिहरुको यस्तै भोगाइ छ ।
धनुषाको मात्रै कुरा गर्ने हो भने ५ सय भन्दा वढी मानिस बैदेशिक रोजगारी पठाउने ठगी धन्दाका लागि एजेन्टको रुपमा काम गर्ने गर्छन् । कुनै गाउँमा १० वटा भन्दा वढी एजेन्टहरु सक्रिय छन् । एजेन्टको सहएजेन्ट पनि हुने गर्छन् । पासपोर्ट संकलन गर्ने, पासपोर्ट होल्ड गर्ने, रकम असुल्ने लगायतका कामहरु ती एजेन्टहरुले गर्दै आएका छन् ।
प्रहरी, प्रशासनका अधिकारीका अनुसार ती एजेन्ट अबैध हुन् । कसैले पनि अनुमति पत्र प्राप्त गरेका छैनन् । जुन म्यानपावर कम्पनीका लागि काम गर्ने हो त्यो व्यक्तिलाई बैदेशिक रोजगारीको एजेन्टका रुपमा काम गर्नका लागि अनुमति पत्र बैदेशिक रोजगार विभागले प्रदान गर्दछ ।
आर्थिक कारोवार गर्ने र आर्थिक कारोवार नगर्ने भन्दै दुई किसिमको अनुमति पत्र प्रदान गरिन्छ । त्यसका लागि म्यानपावर कम्पनीले प्रति एजेन्ट २ लाख रुपैयाँ बैदेशिक रोजगार विभागमा धरौटी राख्नुपर्ने हुन्छ । त्यसैले कुनै पनि कम्पनीले आधिकारिक एजेन्ट नराखि अबैध तरिकाले एजेन्ट मार्फत रकम ठग्ने धन्दा बनाएपछि हजारौं मान्छेहरु ठगिन बाध्य भएका छन् ।
ती एजेन्टले लिने राहदानी र रकमको कुनै भरपाई दिने गरेका छैनन् । जसले गर्दा ठगि भएपछि पनि रकम र राहदानी फिर्ता लिन मानिसलाई धेरै समस्या भईरहेको देखिन्छ ।
सम्झौता पत्र पनि विदेश जाने बेलामा काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र दिने गरिएको छ । भने अनुसारको काम सम्झौता पत्रमा नपाएपनि १ सय २० प्रतिशत सैकडाका दरले व्याजमा उठाएर लिएको ऋणका कारण मानिसहरु जानाजान ठगिन बाध्य भएका छन् ।
आर्थिक बर्ष २०६५/०६६ मा १० हजार ९ सय ५० जना, आर्थिक बर्ष २०६६/०६७ मा ११ हजार ९ सय ४२ जना, आर्थिक बर्ष २०६७/०६८ मा ११ हजार ९ सय २३ जना, आर्थिक बर्ष २०६८/०६९ मा ११ हजार ६ सय ४३ जना, आर्थिक बर्ष २०६९/०७० मा १८ हजार ८ सय ९४, आर्थिक बर्ष २०७०/०७१ मा २१ हजार ३ सय ५७ जना र आर्थिक २०७१/०७२ मा २२ हजार २ सय ५९ जना गरी धनुषाबाट मात्रै पछिल्लो ७ बर्षमा १ लाख ८ हजार ९ सय ६८ जना बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् ।
धनुषाबाट जति संख्यामा मानिसहरु गईरहेका छन् सोही अनुपातमा यस क्षेत्रका अन्य जिल्लाहरुबाट पनि मानिसहरु बैदेशिक रोजगारीमा गईरहेका छन् । बैदेशिक रोजगार विभागको शाखा कार्यालय काठमाण्डौमा मात्र भएका कारण ठगिएका व्यक्तिहरु काठमाण्डौ जान हच्किन्छन् ।
शाखा कार्यालय मधेसमा भए तिनीहरुले सजिलै ती ठगहरुबाट ठगिएको रकम र राहदानी फिर्ता पाउन सहज हुन सक्ने भएकाले पनि बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा खुल्नु आवश्यक देखिएको यहाँका अगुवाहरुको भनाइ छ ।
पुष्प कमल दाहाल नेतृत्वको सरकारले बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा संचालन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
Advertisment
Advertisment