माघ २०, २०७९
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
काठमाडाैं | साउन २७, २०७९
धनुषामा यसपटक मधेशका 'हेभी वेट' उम्मेदवारका रूपमा चिनिने 'भेट्रान' नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसमा भेट्रान नेता विमलेन्द्र निधिदेखि आनन्द ढुंगाना, महेन्द्र यादव र रामकृष्ण यादवले चुनावी प्रतिस्पर्धाका लागि दाबी पेश गरिरहेका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रभावशाली नेता मातृका यादवदेखि लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका रघुवीर महासेठ, नेकपा एकीकृत समाजवादी पार्टीका रामचन्द्र झा लगायतका भेट्रान नेताहरूको धनुषामा रोचक चुनावी भिडन्त हुने देखिन्छ ।
धनुषा क्षेत्र नम्बर १ मा मातृका यादवदेखि आनन्द ढुंगाना र रामचन्द्र मण्डलसम्म
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवले फेरि पनि दाबी गरेका छन् ।
उनी त्यस क्षेत्रका बहालवाला सांसद पनि हुन्। नेकपा माओवादीका प्रभावशाली नेता यादव पहिलो पटक २०७४ सालको निर्वाचनमा प्रत्यक्ष चुनाव लडेर जित्न सफल भएका थिए।
त्यसअघि अन्तरिम संसदमा सांसद बनेका यादव २०६४ साल तथा २०७० सालको चुनावमा समानुपातिक सांसद बनेका थिए। पटक–पटक मन्त्री बनेका यादव अन्तिमपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।
जनयुद्धमा सहभागी भएका यादवको धनुषाबाहेक मधेश प्रदेशमा नै प्रभाव रहेको हुनाले उनी प्रभावशाली नेताका रूपमा मानिन्छन्।
मधेशका अर्का प्रभावशाली नेता प्रभु साहले माओवादी छाडेपछि मधेशमा अहिले उनी एक मात्र प्रभावशाली नेताका रूपमा देखिएका छन्।
नेकपा माओवादीपछि एकीकृत नेकपा माओवादी हुँदा यादवले आफ्नै नेतृत्वमा नेकपा माओवादी दर्ता गराएका थिए। पछि फेरि उनी माउ पार्टीमा नै फर्किए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट आनन्द ढुंगाना पनि दाबेदार छन्। तीनपटक प्रत्यक्ष निर्वाचन जितेका ढुंगाना २०७४ सालमा पराजित भएका थिए।
विगतमा मन्त्री समेत भइसकेका ढुंगाना माओवादीलाई उक्त क्षेत्र छाड्नुपर्ने अवस्थामा समानुपातिकमा बस्न सक्ने चर्चा पनि छ ।
नेकपा एमालेबाट रामचन्द्र मण्डल दाबेदार देखिएका छन्। उनी माओवादी केन्द्रबाट २०७४ सालमा प्रदेश सभामा निर्वाचित भएका थिए । माओवादी छाडेर नेकपा एमाले रोजेपछि उनको सांसद पद गुमेको हो।
यसअघि माओवादी केन्द्रबाट २०६४ तथा २०७० सालको संविधान सभा निर्वाचनमा उनी पराजित भएका थिए। जनता समाजवादी पार्टीका तर्फबाट दीपक कार्की दाबेदार देखिएका छन् ।
क्षेत्र नम्बर २ : रामकृष्ण यादव भर्सेस उमाशंकर अरगरिया,रामचन्द्र झाको पनि दाबी
धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव दुईपटक निर्वाचित भइसकेका छन्।
२०६४ सालको संविधान सभा चुनावमा जितेर आएपछि उनी संसद्को सार्वजनिक लेखा समिति सभापति समेत भएका थिए। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रोपटक जितेका उनी चुनावी सरकारमा कृषि मन्त्री समेत बनेका थिए । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट तेस्रोपटक समेत टिकट पाएका उनी पराजित भएका थिए ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति गरेका उनी २०४० सालमा स्वतन्त्र विद्यार्थी युनियनका सभापति भएका थिए ।
नेपाली कांग्रेसको मूल राजनीतिमा आएपछि क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै दुईपटक जिल्ला सभापति समेत भएका थिए। त्यसपछि नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। २०७८ सालमा सम्पन्न भएको १४ औं महाधिवेशनमा उनी सहमहामन्त्रीमा पराजित भएका थिए।
उक्त संसदीय क्षेत्रबाट आफ्नो उम्मेदवारीको दाबी रहेको उनले बताए। 'गठबन्धन हुँदा पार्टीले के निर्णय गर्छ त्यो थाहा छैन, तर यस क्षेत्रबाट पटक–पटक मैले चुनाव जित्दै आएको तथा गत स्थानीय तहको निर्वाचनमा समेत प्रभावकारी भूमिका निर्वाह गरेर चुनाव जिताएको आधारमा पनि टिकट पाउनुपर्छ,' यादवले लोकान्तरसँग भने ।
उक्त क्षेत्रबाट रामकृष्णबाहेक केन्द्रीय समितिमा सबैभन्दा बढी मत ल्याएर जितेकी मुक्ता यादव पनि टिकटको प्रबल दावेदार छिन् ।
२०७० सालको संविधान सभा चुनावमा समानुपातिक सांसद बनेकी उनी २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । दुई वर्षे राष्ट्रिय सभाको कार्यकाल सकिएपछि उनी राष्ट्रिय सभाबाट बाहिरिएकी थिइन् ।
त्यसैगरी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित दिनेश प्रसैला यादव पनि दाबेदार छन्।
उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सचिवालय सदस्य रामचन्द्र झा पनि दाबेदार छन्। कम्युनिष्ट पार्टीका नेताहरूमध्ये समकालीन राजनीतिमा उनी सिनियर नेताका रूपमा चिनिने गर्छन्।
उनी नेकपा एमालेबाट २०५१ सालमा प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका थिए। त्यसपछि २०६४ सालको संविधान सभाको चुनावमा समेत नेकपा एमालेबाट निर्वाचित भएका थिए। संविधान सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा बनेको सरकारमा स्थानीय विकास मन्त्री समेत बनेका थिए।
त्यसपछि २०७० सालको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट चुनाव लडे पनि पराजित भएका थिए। २०७४ सालको चुनावमा फेरि माओवादीबाट चुनाव लडेका उनी पराजित भएका थिए।
नेकपा एमालेबाट राजनीति गरेका झा एमालेको धनुषा जिल्ला सचिव हुँदै केन्द्रीय समितिमा पटक–पटक निर्वाचित हुँदै पोलिटब्युरो सदस्य समेत भएका थिए ।
२०४६ सालको जनआन्दोलनमा नेकपा एमालेको ब्यानरमा आन्दोलन नेतृत्व गरेका उनले २०६२/६३ सालको जनआन्दोलनको पनि अगुवाइ गरेका थिए।
धनुषासहित मधेशका विभिन्न जिल्लामा कम्युनिस्टको संगठन बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
पछि एमाले परित्याग गर्दै माओवादी, नयाँ शक्ति, फेरि माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीको सचिवालय सदस्य छन्।
त्यसैगरी उक्त क्षेत्रबाट निर्वाचित भएका सांसद उमाशंकर अरगरिया लोसपाबाट उम्मेदवारीका लागि दाबेदार हुन् ।
तत्कालीन समाजवादी पार्टीबाट चुनाव जितेका उनी अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छन्।
२०६३ सालको मधेश आन्दोलनमा तत्कालीन मधेशी जन अधिकार फोरममा आवद्ध भएका उनी लामो समयसम्म पूर्व सांसद सञ्जय साह 'टकला' सँग नजिक रहेर काम गरेका थिए ।
पछि उनी विजय गच्छदारको नेतृत्वमा बनेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालबाट २०७० सालको संविधान सभा निर्वाचनमा उठेर पराजित भएका थिए।
गच्छदार नेपाली कांग्रेसमा लागेपछि उनी समाजवादी पार्टीमा लागेर निर्वाचित भएका थिए।
उनी अहिले लोसपाका सांसद भए पनि चुनाव भने नेकपा एमालेबाट लडाउने एमालेको तयारी छ।
लोसपाको संगठन बलियो नभएको तथा एमालेको संगठन बलियो भएको हुनाले उनी एमालेबाट नै चुनाव लड्ने निश्चित रहेको एमालेको उच्च स्रोतको दावी छ।
यद्यपि यस विषयमा अरगरियाले अहिले केही पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट रमण कन्स्ट्रक्सनका मालिक बलराम महतो पनि उक्त क्षेत्रका लागि दाबेदार छन्।
यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उनी जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार उठे पनि पराजित भएका थिए।
धनुषाको २ नम्बर क्षेत्रबाट सांसद पदमा टिकट पाउने आश्वासनसहित उनी जसपामा प्रवेश गरेका छन् ।
क्षेत्र नम्बर ३ मा विमलेन्द्र निधि, राजेन्द्र महतो र जुली महतोबीच प्रतिस्पर्धाको सम्भावना
धनुषाको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट एक मात्र उम्मेदवार विमलेन्द्र निधिको दावी छ।
पटक–पटक संसदीय निर्वाचन जितेका उनी जम्मा २ पटक संसदीय निर्वाचनमा पराजित भएका छन् ।
एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यप्रताप मल्लबाट पराजित भएका निधि २०७४ सालको निर्वाचनमा राजपाका राजेन्द्र महतोबाट पराजित भएका थिए।
पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनदेखि नै नेपाली कांग्रेसमा सक्रिय भएका उनी निर्वासित हुनुका साथै जेलनेल भोगेका नेता हुन् ।
राणा शासनविरोधी आन्दोलनमा लागेका नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिका छोराको लिगेसी बोक्नुका साथै उनको आफ्नै पनि प्रजातान्त्रिक आन्दोलनमा रहेको योगदानका कारण नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाले उनलाई नेपाल विद्यार्थी संघको सभापति बनाएका थिए।
कांग्रेसको केन्द्रीय समितिमा समेत पटक–पटक केन्द्रीय सदस्य भएका उनी महामन्त्री, उपसभापति भइसकेका छन्।
सामान्य प्रशासन मन्त्री, शिक्षा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री हुँदै उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका छन्।
२०७८ सालमा सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशनमा उनी सभापतिमा पराजित भएका थिए। अहिले उनी कांग्रेसमा केन्द्रीय सदस्य छन्।
उक्त क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अहिलेको बहालवाला सांसद राजेन्द्र महतोको पनि दाबी छ ।
सद्भावना पार्टीबाट राजनीति गर्दै पटक–पटक सांसद तथा मन्त्री बनिसकेका उनी मधेश आन्दोलनको अगुवाइ गर्ने प्रमुख नेता हुन् ।
सर्लाहीको आफ्नो संसदीय क्षेत्र छाडेर २०७४ सालको निर्वाचनमा उनी धनुषाको क्षेत्र नम्बर ३ मा चुनाव लडेका थिए।
नेपाली कांग्रेसका निधिलाई पराजित गर्दै उनी निर्वाचित हुन सफल भएका थिए। महतो लोसपामा अहिले वरिष्ठ नेता छन्।
यसपटक उनी पनि उक्त क्षेत्रबाट चुनाव लड्ने निश्चित छ। उनी सर्लाहीबाट २०४८ साल, २०५१ सालमा संसदीय चुनावमा पराजित भएका थिए भने २०५६ साल २०६४ सालमा चुनाव जितेका थिए । त्यसैगरी २०७० सालमा चुनाव हारेका उनी २०७४ सालमा भने धनुषाबाट चुनाव जितेका थिए। तीनपटक उद्योग, वाणिज्य आपूर्ति मन्त्री, एकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्री र एकपटक उपप्रधानसहित शहरी विकास मन्त्री भएका थिए।
धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी सांसद जुली महतोले पनि दाबी पेश गरेकी छन्।
२०६४ सालको संविधान सभा चुनावमा समानुपातिक सांसद बनेकी उनी २०७० मा प्रत्यक्ष चुनाव लड्दा पराजित भएकी थिइन्।
२०७४ सालको प्रतिनिधि सभाको चुनावमा उनी फेरि एमालेबाट समानुपातिक सांसद बनेकी हुन्।
उनी यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत भइसकेकी छन्।
त्यसैगरी उक्त क्षेत्रमा जनता समाजवादी पार्टीबाट जितेन्द्र यादवले दावी गरेका छन्। उनी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव हुन्।
क्षेत्र नम्बर ४ मा रघुवीर महासेठ र महेन्द्र यादवबीच प्रतिस्पर्धाको सम्भावना
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रघुवीर महासेठको दाबी छ। महासेठ उक्त क्षेत्रका बहालवाला सांसद पनि हुन्।
नेकपा एमालेको स्थायी कमिटी सदस्य, सचिवालय सदस्य समेत रहेका महासेठ मधेशका प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
२०५१ साल, २०५६ सालको संसदीय चुनाव हारेका महासेठ २०६४ सालको उपचुनावमा जित्न सफल भएका थिए।
२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडे पनि संघीय समाजवादी फोरमका सञ्जय साहबाट उनी पराजित भएका थिए।
नेपाली कांग्रेसबाट चुनाव जितेका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा भएको उपचुनावमा एमालेबाट महासेठले जितेका थिए।
२०७० सालको दोस्रो संविधान सभाको चुनाव जितेका महासेठ २०७४ सालको चुनाव पनि जितेका हुन्।
सिञ्चाइ मन्त्री, भौतिक पूर्वाधार मन्त्री हुनुका साथै ओली नेतृत्वको सरकारमा उनी १३ दिनका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका छन्।
एमालेमा पटक–पटक केन्द्रीय सदस्य भइसकेका उनी अहिले एमालेका सचिव हुन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसबाट अहिलेका सहमहामन्त्री महेन्द्र यादव प्रमुख दाबेदार देखिएका छन्। २०७४ सालको निर्वाचनमा उनी महासेठसँग पराजित भएका थिए ।
२०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका यादव २०७४ मा प्रत्यक्ष निर्वाचनमा भने पराजित भएका थिए । २०७४ सालको चुनाव हुनुअघि उनी खानेपानी मन्त्री भएका थिए।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहेका उनी नेपाल तरुण दलका अध्यक्ष समेत भइसकेका छन्। पछिल्लो महाधिवेशनमा उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
उक्त क्षेत्रमा जनता समाजवादी पार्टीबाट महाजन यादव समेत दाबेदार छन्। यसअघिको निर्वाचनमा समाजवादी पार्टीबाट उठेका उनी पराजित भएका थिए।
माथि उल्लेख गरिएका दावेदारहरूको अहिले चर्चा तथा दाबी भएपनि गठबन्धनको सीट बाँडफाँडले समीकरण फेरिन सक्छ।
पढ्नुहोस्, यसअघिको भागहरू :
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले कुनै गम्भीर समस्या नआएको बताएका छन् । गाडी बानेश्वरको सडक डिभाइडरमा ठोकिएपछि सिभिल अस्पतालमा उपचाररत भूसालले आफूलाई चोट...
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवार नेपाली नागरिक हो/होइन र नागरिकताअनुसार उमेरले उम्मेदवार बन्न योग्य छ/छैन मात्र हेर्ने अधिकार आयोगलाई भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग निर्वाचनबारे छल...
कांग्रेसले शनिबार बस्ने गरी विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष, लुम्बिनीमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनसहित विषयमा छलफल गर्न कांग्रेसले विपक्षी मोर्चाको बैठक बोलाएको हो । ...
नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गते...
श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्...
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ । बिहीबार प्रधानमन्त्री एवं मा...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...