राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
त्यसका लागि खेलकुद सम्बद्ध विभिन्न संघहरूलाई अनुदान शीर्षकमा छुट्टै बजेटको व्यवस्था गरिएको उनले बताए।
'नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न छुट्टै बजेट नै समावेश गरिसकेको छु, जसले गर्दा राष्ट्रिय स्तरका खेलाडीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने क्षमता बढ्न सक्छ । त्यस्तै खेलको माध्यमबाट नेपालमा पर्यटक पनि भित्रिनेछन् । नेपालमै अन्तर्राष्ट्रिय खेलहरू आयोजना हुँदा खेल गतिविधि र खेल संस्कार बढ्नेछ। आर्थिक गतिविधि पनि बढ्नेछ,' लोकान्तरसँगको अन्तर्वार्तामा सदस्य सचिव घिसिङले भने ।
उनले खेलाडीको प्रदर्शन राम्रो बनाउन ग्रास रुट लेभलदेखि नै विभिन्न खालका टुर्नामेन्ट गर्ने योजना रहेको बताए । यस्तो खालको टुर्नामेन्टले खेलाडीहरूलाई राष्ट्रिय टीमसम्म आइपुग्न मद्दत गर्ने उनको बुझाइ छ ।
उनले विश्वविद्यालयहरूलाई पनि खेलकुदसँग जोड्ने योजना रहेको सुनाए ।
'युनिभर्सिटीबीचका खेलहरूमा व्यवस्थित टुर्नामेन्टको सिरिज बनाउने पनि मेरो कोशिश रहनेछ । त्यसपछि मात्र राष्ट्रिय लेभलको टीम निर्माण गर्न सम्भव हुने मेरो धारणा हो,' उनले थपे ।
राष्ट्रिय खेलाडीहरूलाई ३६५ दिननै प्रशिक्षणको आवश्यकता रहेको उनले बताए ।
हेर्नुहोस्, घिसिङसँगको कुराकानी भिडियोमा :