२७ जेठ २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

इलामेली जनताले विकल्प खोजेका छन्, मतको 'प्याटर्न' चेञ्ज हुँदैछ– खड्का [उम्मेदवार, कांग्रेस]

‘मंसिर ४ गते जनताले दिने मतले अहिलेसम्मको भ्रम चिरिन्छ’
इलामेली जनताले विकल्प खोजेका छन्, मतको 'प्याटर्न' चेञ्ज हुँदैछ– खड्का [उम्मेदवार, कांग्रेस]

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन् । विगत २७ वर्षदेखि निरन्तर सांसद बनेका नेम्वाङसँग यसपटक गठबन्धन सहयात्री दलहरूको साथ लिएर नेपाली कांग्रेसले टक्कर दिँदैछ ।

नेम्वाङ आफ्नो पुरानो विरासत जोगाउनेमा विश्वस्त छन् भने निर्माण व्यवसायीसमेत रहेका खड्का इतिहास उल्ट्याउने दाउमा छन् । दुवै उम्मेदवार अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आगामी निर्वाचनका सम्बन्धमा रिपोर्टिङका लागि इलाम पुगेका लोकान्तरकर्मीद्वय गगन अर्यालराजुबास्कोटाले गरेको कुराकानीको  सम्पादित अंश :

हेभीवेट नेतासँग प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईंले जित्ने आधार के देख्नुभएको छ ?

नेपाली कांग्रेसको संगठन मजबुत छ, त्यसैले यसपालि मैले जितेर देखाउन सक्छु भन्ने विश्वास छ । अर्को तर्फबाट भन्नुपर्दा पटक–पटक जितेर गए पनि यहाँको जनताले गरेको आशा र भरोसा पूरा हुन सकेन । अर्कातर्फ गठबन्धनको साथ छ । त्यसैले यसपटक जनताले दिने मतको प्याटर्न परिवर्तन हुन्छ भन्ने विश्वास छ । 

प्रतिस्पर्धीले गठबन्धन अप्राकृतिक ढंगले बनेको छ । इलामेली जनताले गठबन्धनलाई विश्वास गर्दैनन् भनिरहँदा तपाईंसँग प्रतिस्पर्धीको भरोसालाई चिर्ने आधार के हुन् ?

उहाँ (एमालेका उम्मेदवार सुवास नेम्बाङ)ले जहिल्यै गलत आक्षेप मात्रै लगाउनुहुन्छ । उहाँ यसपालि भ्रममा हुनुहुन्छ । त्यसकारणले उहाँले भनेका कुरामा सत्यता छैन ।

सधैँ जनताले एउटै पार्टी र व्यक्तिलाई विश्वास गर्छन् भन्ने छैन । अब मंसिर ४ गते जनताले दिने मतले अहिलेसम्मको भ्रम चिरिन्छ ।

तपाईंका प्रतिस्पर्धी लामो समय सभामुख भएर काम गर्नुभएको व्यक्ति हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँको आफ्नै खालको प्रभाव छ नि !

उहाँले जनताको काम गरेको भए हभीवेट हुनु सक्नुहुन्थ्यो । लामो समयसम्म पनि जनताको काम नगरेका कारण उहाँ अहिले वेटलेस भैसक्नुभएको छ । म सधैँभरी जितिरहन्छु भन्ने भ्रम मात्रै परेको हुनसक्छ ।

सधैँभरि जितिरहन्छु भन्ने न राजतन्त्र रह्यो न राणा शासन । कसैले पनि सधैँभरि जितिरहँदैन । यसपटक उहाँलाई जिताउनुभन्दा विकल्प खोज्नुपर्छ भन्ने मत बलियो छ ।

तपाईंको यत्रो आत्मविश्वासको कारण के हो ?

यसपटक स्थानीय तह निर्वाचनमा वडाध्यक्षले ल्याएको मतका आधारमा गठबन्धन ५ हजार मतान्तरले अगाडि छ ।

पालिका र नगरप्रमुखहरूले ल्याएको मतमा पनि ४ हजार मतले अगाडि छौं । हिजो चुलाचुलीबाट २ हजार मतले जितेको ठाउँमा गठबन्धनले नतिजा उल्टाएर ३ हजार मतान्तरले जितेर देखाइसकेका छौं ।

इलाम नगरपालिका १७ सय मतअन्तरले अघिल्लो पटक जितेको दललाई अहिले गठबन्धनको मतान्तर ३५ सय बनाउन सफल भएका छौं । पाँचदलीय गठबन्धन बलियो छ ।

गलत कार्य गरेकाले एमाले पार्टी टुक्रिएर कमजोर भइसकेको छ । गठबन्धनमा एमालेको २ भाग जोगिएकाले र हाम्रो संगठन पनि मजबुत भएकाले यसपटक हामी बलियो छौं । त्यसो त मैले जीवनभर इमालमै बसेर जनताको सेवा गरेको छु र सेवा गरिरहने प्रतिबद्धता पनि गरेको छु ।

हिजो कोरानाकालमा म गाउँमै बसेर जनताको सेवा गर्दैगर्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? बाढीपीडितले नेताको खोजी गर्दा कहाँ जानुभएको थियो ? युवाहरूलाई खेलकुदको माध्यमबाट अगाडि बढाउँदै गर्दा कहाँ जानुभएको थियो ? हरेक बाटाघाटाको अवस्था जीर्ण हुँदा कहाँ जानुभएको थियो ? त्यसैले झुटो आश्वासन दिएर मात्रै जितिने भन्ने होइन ।

५ वर्षमा चुनाव आएपछि मात्रै गाउँ आउने ती व्यक्ति अघिपछि कहाँ हराए ? अब शिक्षित जनताले आफैं निर्णय गर्न सक्नुहुन्छ । अर्को पाटो अब चुनावपछि गठबन्धनको सरकार बन्छ । उहाँ सभामुख भइसकेको व्यक्ति त्यो भन्दा माथि जान सक्ने अवस्था छैन । अब नेम्वाङजीले जितेर गए पनि तलबमात्रै खाएर शहरतिरै हराउने हो । त्यसैले अब जनताको काम गर्ने नेता चाहिएको छ । 

निरन्तर गाउँ आउने, जनतासँगै जोडिने र जनताकै कामका लागि संसदमा जाने व्यक्तिको खोजी इलामेली जनताले गरेका छन् । जनतालाई साथ सहयोग गर्ने व्यक्ति चाहिएको छ । यसपालि परिवर्तन गर्न लागिपरेको जमात ठूलो छ । पक्कापक्की परिवर्तन हुन्छ, विश्वस्त रहनुस् । 

अघिल्लो चुनावमा एमालेले १० हजार मतान्तरले जितेको थियो । एकैपटक त्यति धेरै मत उल्ट्याउने आधार के छ ?

इलामेली जनता सचेत र शिक्षित भइसकेका छन् । काठमाडौंमा नै गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

धरानमा पनि जनताको काम गर्ने उम्मेदवारले जितेको हो । ति दुवै ठाउँमा चुनाव अगाडि एमालेले जित्छु भनेको थिएन र ? अब जनताको काम नगर्ने र सधैँभरी पुरानै रवाफ चलाएर जितिन्छ भन्ने भ्रम तोडिने बेला हो ।

काम गर्न नसक्ने र वर्षौंसम्म राज गरिरहन खोज्नेलाई जनताले अब विश्वास गर्दैनन् । यसको प्याटर्न यस्तो र उसको त्यस्तो भन्ने पनि होइन ।

त्यसका लागि राम्रो र काम गर्न सक्ने मान्छे चाहिन्छ । अहिले जनताकै काम गरेको र युवा उम्मेदवारको हिसाबले पनि यसपटक मेरो बलियो उपस्थिति छ ।

अघि भनेजस्तै धरान र काठमाडौंमा युवा उम्मेदवारले जित्नु भनेको काम गर्छु भन्ने व्यक्तिप्रति जनताको विश्वास हो । इलाममा पनि मैले काम गर्छु भन्ने विश्वास जनतालाई छ । त्यसो त १० वर्षसम्म जनताको काम गरेर पनि देखाइसकेको छ । अहिले शिक्षित मतदाताले कसले काम गर्न सक्छ र कसले सक्दैन भनेर आफैं निर्णय गर्न पनि सक्ने भइसकेका छन् ।

भोलि संसद भएर गइसकेपछि मैले गरेको वाचा र प्रतिबद्धता पूरा गर्न सक्छु भन्ने विश्वास छ भने यही विश्वास यसपटक जनताले दिलाउने अपेक्षा पनि गरेको छु ।

तपाईंको आन्तरिक मूल्यांकनले चुनावी परिणामलाई के भन्छ ?

हामीले चुनावी हिसाबकिताब गरेर बसेका छौं । यसपटक मैले ५ देखि १० हजार मतान्तरले जित्ने आधार देखेको छु । 

अहिले इलाम बजारमै खानेपानीको समस्या, टुँडिखेल नबनेको, इलाम हवाई सञ्जालमा जोडिन नसकेको गुनासो जनताहरूले गर्नुभयो । यी काम नहुनुमा सबै दलहरू जिम्मेवार होइनन् र ?

दुईपटकसम्म राज्यको प्रमुख अंग सभामुखमा बसिसकेको, पछिल्लोपटक नै साढे ३ वर्षसम्म आफ्नै सरकार भएको, इलाममा २०५६ सालदेखि जित्दै आएको व्यक्तिले चाहिँ के गर्नुभयो भनेर सोध्नुहोस् न ।

खानेपानी एसियाली बैंक (एडीबीले)ले बनाएको हो । अहिले प्राविधिक त्रुटि हुँदा पानी आउन सकिरहेको छैन । त्यसको समाधान एडीबीले नै गर्दैछ । इलाममा खानेपानीको समस्या यो योजनाको पानी आउन थालेपछि हटिहाल्छ । टुँडिखेल इलामकै शान हो । यसलाई विगतका नेतृत्वकर्ताले अगुवाइ गर्न नसकेर अलपत्र परेको स्पष्टै देखिएको छ ।

म भर्खर पार्टीको जिल्ला सभापति भएको र पहुँचमा नभएको व्यक्तिले गर्न सक्ने काम भएन । अब भने मलाई जनताले नै काम गर्ने व्यक्ति भनेर चुनेर पठाउनेछन्, त्यसपछि युवाको आशा र भरोसलाई निराशामा परिणत हुन नदिने जिम्मेवारी मेरै हुन्छ । मैले जितेर गएको पाँच वर्षमा जसरी हुन्छ, इलामको शान टुँडिखेल बनाउनमा प्रतिबद्ध हुनेछु । अब कुरा रह्यो विमानस्थलको । यसलाई सञ्चालन गर्ने, सहज बाटो बनाउने काम पनि हुन्छ । 

इलाममा पर्यटकको संख्या उल्लेख्य घटेको देखियो । आएका पर्यटकहरू पनि ३८ किलोमिटर पर फिक्कल र कन्यामबाटै फर्कने गरेको पाइयो । इलामको पुरानो पहिचानलाई फर्काउन तपाईंको एजेन्डा के छ ?

इलाम आउँदा माइखोलाबाट उकालो लाग्ने बाटो राम्रो हुन सकेको छैन । खोलाकै बेलिब्रिजको आयु सकिइसकेको छ । एक त बाटो जीर्ण, अर्कोतर्फ इलाम आउने पर्यटक कम हुँदै गएका कारण साना गाडी पनि आउन नसक्ने भइसकेको छ । यसको जिम्मा अहिलेसम्म उच्च ओहदामा बस्नेले लिनुपर्ने हुन्छ ।

इलाममा पर्यटक आउन गाह्रो भएको देखिन थालेको छ । यसलाई मध्यनजर गरेर यसअघि प्रदेश सांसदमा उम्मेदवारी दिएदेखि नै मैले इलामबाट बिर्तामोडसम्मको द्रुत मार्ग निर्माणमा जोड दिएको छु ।

दमकदेखि चुलाचुली आउने बाटो निर्माण गर्ने योजना अगाडि सारेका छौं । चिया बगान वरपरका सडक सबै कच्ची छन्, त्यसलाई कालोपत्रे गर्नुपर्ने छ । माइपोखरी जाने, सन्दकपुर जाने बाटो निर्माण गर्नुपर्ने छ । इलामका अन्य ठाउँमा घुमफिर गर्न भएका कच्ची बाटो कालोपत्रे गर्ने, आवश्यकताअनुसार विस्तार गर्ने, पर्यटक आगमनलाई बढाउने माध्यम खोज्नुपर्छ । 

यसअघि स्थापना भएका सडक, सिँचाइ, पशु कार्यालय, डिभिजन भवनसहितका कार्यालयलाई फेरि ल्याउनुपर्छ ।

इलाम अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्नुपर्छ भने इलामको सुन्दरतालाई बढाउने गरी काम गर्नुपर्छ ।

ती सबै कामको अगुवाइ गर्न र जनतासँग समन्वय गर्न म तयार छु । पहिलाको जस्तै हराभरा इलाम बनाउन मलाई नै जनताले म्यान्डेड दिनुपर्छ । 

यसमा विश्वस्त हुने आधार के हो ?

इलाम हाम्रो मनमुटुको क्षेत्र हो । साह्रोगाह्रो अप्ठ्यारोमा पनि इलाम नछाड्ने, जनताको सुख दुःखमा साथ दिने गरेकाले पनि यसपटक मलाई नै जनताले चुनावमा जिताउँछन् भन्नेमा विश्वस्त छु । 

salt training

कमेन्ट गर्नुहोस्