
चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा लोकान्तर टोली मंगलवार दिउँसो काठमाडौं क्षेत्र नम्बर ६ को स्थलगत रिपोर्टिङमा गएको थियो ।
काठमाडौंको यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान तथा नेकपा एमालेका सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।
धेरैको आकलन यिनै दुईमध्ये कुनै एकले जित्छन् भन्ने थियो । तर, स्थलगत रिपोर्टिङमा पुग्दा माहोल फरक पाइयो । यो क्षेत्रमा एमालेले पूर्व प्रहरी महानिरीक्षक खनाललाई टिकट दिएको छ ।
एमाले प्रवेश गरेर राजनीतिमा होमिएका खनाललाई यसबीचमा मधेशी दल फुटाउन सांसद अपहरण गरेको आरोप लागेको थियो । सोही दागका कारण युवापुस्ता र शिक्षित मतदाताले उनलाई खासै रुचाएको पाइएन ।
खनाल चुनावी प्रचारका दौरान मंगलवार मनमैजु महादेव टोलमा बागमती प्रदेश ०३६ लटको ८९५४ नम्बर हाइलक्समा हुइँकिँदै थिए ।
त्यहीबेला उनको गाडी पार भएपछि ८० वर्षीय वृद्ध नारायण सापकोटाले उनका सम्बन्धमा टिप्पणी गरे, ‘न मतदातालाई वास्ता गरेका छन्, न छवि नै राम्रो बनाएका छन्, यिनलाई के भोट दिनू ?’

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट भीमसेनदास प्रधान उम्मेदवार छन् । उनको पक्षमा पनि खासै उत्साहजनक माहोल पाइएन । तर, खनालको तुलनामा भने प्रधानको केही सकारात्मक स्थिति देखियो ।
ठूला र मुख्य प्रतिस्पर्धी भनिएका दलहरूको पक्षमा खासै माहोल नदेखिनुको कारण हो, नयाँ दल र तिनका उम्मेदवारप्रति मतदाताको आकर्षण ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उम्मेदवार शिशिर खनालले उम्मेदवारी दर्ता गराएका छन् । पुराना दलहरूप्रति आक्रोशित मतदाता खनालतर्फ आकर्षित भएको पाइयो ।

स्वतन्त्रको धेरै नै उम्मेदवारी परे पनि माहोल भने घण्टीले तुलनात्मक रूपमा राम्रो बनाएको स्थानीय मतदाता राजन लामाले बताए । ‘पुराना दलले काम नगरेको, उम्मेदवारहरू दोहोरिरहेको आदि कारणले मतदाता नयाँ दलतर्फ आकर्षित भएको देखियो,’ उनले भने ।
काठमाडौं क्षेत्र नम्बर ६ का अर्का स्थानीय होमनाथ पौडेलले पनि दलहरूप्रति आक्रोश पोखे । २०१५ सालदेखि निरन्तर भोट हाल्दै आएका पौडेलले भने, ‘पार्टीले राम्रो उम्मेदवार उठाउन सकेको देखिएन । नयाँ उम्मेदवार पठाउँदा पनि पावर पैसामा मात्रै केन्द्रित भएको देखियो ।’
दलहरूले जनअपेक्षा अनुसार काम नगरेकैले नयाँ पार्टी र नयाँ उम्मेदवारहरूप्रति आकर्षण देखिएको उनको बुझाइ छ ।
उनले एमाले उम्मेदवार खनालप्रति बढी आक्रोश पोखे । ‘एमालेले पठाएको उम्मेदवार सुरक्षा संयन्त्र बुझेको र कहाँबाट झार्न सकिन्छ भनेर थाहा पाएको व्यक्ति छन् । नेता अपहरण गरेको बात लागेका यिनले टिकट त फुत्काए, तर जनताको समर्थन पाउने देखिँदैन ।’

राप्रपाबाट राजनीति समेत गरेका अर्का मतदाता गोकुल पण्डितले आफू स्वतन्त्रतर्फ आकर्षित भएको बताए । नेताप्रतिको असन्तुष्टिले स्वतन्त्रको पक्षमा माहोल बनाएको उनको बुझाइ छ ।
काभ्रेस्थलीको मध्य भेडीगोठमा भेटिएका सुरेन्द्र थापाले नेताहरूका कारण महंगी बढेको, किसानले मल नपाएको, जनतालाई खान लाउन दुःख भएको गुनासो पोखे ।
उनले यसपटक पुराना दलको विरासतलाई नयाँ युवाको टोलीले विस्थापित गर्ने बताए ।

पुराना नेताले जनताको अपेक्षाअनुसार काम नगरेको र उनीहरूले आफूलाई केन्द्रमा राखेर आसेपासेलाई मात्रै माथि ल्याएको भन्दै तारकेश्वरका ७० वर्षीय ध्रुवप्रसाद पाण्डेले गुनासो पोखे ।
‘यिनीहरूलाई किन भोट हाल्ने ? आफ्ना आसेपासे ल्याउन मात्रै जितेका रहेछन् । जनताको आँखामा छारो हाले,’ पाण्डेले लोकान्तरसँग भने, ‘अब जनताले विकल्प खोजेका छन् ।’
उनले थपे, ‘दलले डाँका, फटाहा, अपहरणकारीहरूलाई मात्रै नेता बनाएका छन् । उनीहरूसँग पैसा छ, त्यसैले होला । तर जनताहरू को कस्तो हो भनेर चिन्ने भएका छन्,’ पाण्डेले आक्रोश पाखे ।
स्थानीय ८० वर्षीय तुलसीप्रसाद लामिछानेले काम नगरी पुरानै एजेन्डा लिएर उम्मेदवारहरू घरदैलोमा आएको बताए । ‘८ वर्षमा एउटा सडक पिच गर्न सकेका छैनन् । अहिले फेरि उही एजेन्डा ल्याएर आए, अब भन्नुस् के गर्ने ?’ प्रतिप्रश्न गर्दै लामिछानेले भने, ‘अब जनतामा चेतना आएको छ, जमाना फेरिएको छ ।’

नेताले जनतालाई ‘जन्तु’ बनाएको उनको तर्क छ ।
‘जनतालाई जन्तु बनाए । भोट माग्ने बेलामा मात्रै आउँछन् । कर्मचारीलाई पनि यिनैले भ्रष्टाचार गर्न सिकाएका हुन्,’ लामिछानेले भने ।
पूर्व वडाध्यक्ष समेत रहेका कपुर तामाङले पनि नेताहरूप्रति आक्रोश पोखे ।
‘नेताहरूले जनतालाई बेवकुफ बनाउँछन् । म प्रधानमन्त्री बन्छु भन्दै भुक्छन्, जित्ने हो कि हैन, कति गफ दिन सकेका हुन्,’ उनले भने ।
अहिलेको माहोल हेर्दा काठमाडौं– ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको स्थानीयको विश्लेषण छ ।


