
अन्ततः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीको जग हो । संविधान र व्यवस्थाले सही ढंगले काम गरिरहेको प्रमाण पनि हो, आवधिक निर्वाचन ।
नेपालले अभ्यास गरिरहेको बहुदलीय लोकतान्त्रिक प्रणालीमा जनताको अभिमतले नै व्यवस्था बनाउने र जोगाउने आधार दिन्छ । लोकतन्त्रमा जनताले आफ्नो अभिमतको आधारमा प्रतिनिधि छान्छन् ।
निर्वाचनले नागरिकमा लोकतान्त्रिक शासन पद्दतिमाथि विश्वास र भरोसा बढाउँछ । जननिर्वाचित प्रतिनिधि जनताप्रति जवाफदेही रहनुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।
निर्वाचन सत्ता प्राप्तिको साधन मात्रै होइन, जनताको अभिमत परीक्षणको अवसर हो । देशमा सुशासन, जवाफदेहिता र जिम्मेवारी बढाउने विकल्प पनि निर्वाचन हो । यसले राष्ट्र निर्माणमा नागरिकलाई सरिक हुन अभिप्रेरित पनि गर्दछ ।
आज देशले लोकतन्त्रको उत्सव मनाएको छ । देशभर छिटपुट घटनाबाहेक, शान्तिपूर्वक चुनाव भएको छ । जनताले आफ्नो अभिमत मतपत्रमार्फत अभिव्यक्त गरेका छन् । अन्ततः लोकतन्त्रले जितेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई विजय गराउने अभियानको नेतृत्व गरेका छन् । यससँगै उनले चुनाव गर्न नसक्ने प्रधानमन्त्रीको दाग मेटेका छन् । उनकै नेतृत्वमा २०७४ मा दोस्रो र तेस्रो चरणको स्थानीय तहको चुनाव पनि देउवाकै नेतृत्वमा भएको थियो ।
त्यसपछि, २०७४ मंसिरमा दुई चरणमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि देउवाकै नेतृत्वमा भएको थियो । त्यतिबेला एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन थियो ।
त्यसो हुँदा कांग्रेसको लज्जास्पद हार निश्चित थियो । निर्वाचनले त्यसलाई पुष्टि पनि गर्यो । कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सीट मात्रै जित्यो । त्यस्तो परिस्थितिमा पनि देउवा चुनावबाट भागेनन् । चुनाव सार्ने वा नगर्ने कुनै गतिविधि गरेनन् ।
२०५९ सालमा चुनाव गराउन नसकेको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अक्षम घोषणा गरी अपदस्थ गरेका थिए । २०६१ सालमा ज्ञानेन्द्रले फेरि देउवालाई अपदस्थ गरेर आफ्नै नेतृत्वमा मन्त्रिपरिषद गठन गरेका थिए ।
त्यसयता देउवालाई चुनाव गराउन नसक्ने र प्रजातन्त्र राजालाई बुझाउने व्यक्तिको रूपमा चित्रित गर्दै आलोचना हुने गरेको थियो । तर, उनले पछिल्ला दिनका पूरा गरेको जिम्मेवारीले उनको अघिल्लो विगतलाई छायाँमा पारिदिएको छ ।
उनले चुनावलाई आफूमा लागेको दाग मेट्ने अवसरको रूपमा प्रयोग गरे । यसपटकको स्थानीय तहको चुनाव र प्रदेश तथा प्रतिनिधिसभाको चुनाव पनि देउवाकै नेतृत्वमा सम्पन्न भयो । अहिले प्रदेश तथा प्रतिनिधि सभाको चुनाव देउवाले नै गराएका छन् ।
यसपटकको चुनावी माहोल अघिल्ला चुनावभन्दा फरक थियो । चुनाव गराउनका लागि देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतको पूर्ण साथ रह्यो ।
सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको एमाले नेतृत्वको गठबन्धन पनि चुनाव सम्पन्न गराउन जिम्मेवारीपूर्वक सक्रिय भयो ।
२०१५ सालमा शुरू भएको आवधिक निर्वाचनको अभ्यासले बीचमा अवरोध नभएको हुन्थ्यो भने नेपालको विकास, समृद्धि र आर्थिक सम्मुन्नतिको स्तर बेग्लै हुने थियो ।
२०७२ मा जारी भएको संविधानको आधारमा २०७४ मा भएको स्थानीय तहको चुनावपछि बनेको संयन्त्रले गाउँ–गाउँमा विकासको गोरेटो बनेको छ । जनताले योग्यलाई नेतृत्वमा पुर्याउने र अयोग्यलाई अपदस्थ गर्ने अवसरको रूपमा चुनावलाई प्रयोग गरेका छन् ।
अर्कातर्फ मतदाताको चेतनास्तर बढेका कारण पनि चुनावी लोकतन्त्रको उत्सव थप ओझिलो बन्दै गएको छ ।
संसदीय राजनीतिमा रहेका सबै दलहरूको जनतालाई नै सर्वोच्च न्यायलयकोरूपमा अंगीकार गरेका छन् ।
यो नै लोकतान्त्रिक प्रणालीको सुन्दर अभ्यास हो । आवधिक निर्वाचनको यो क्रमिकतालाई भंग हुन नदिनेतर्फ सबैको उत्तिकै सक्रियतापूर्वक पहरेदारी आवश्यक छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र धाँधलीरहित बनाउन निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण रह्यो ।
कुशल प्रशासकको पहिचान बनाएर निर्वाचन आयोगको जिम्मेवारीमा आएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा २ वटा निर्वाचन सम्पन्न भयो ।
कुनै ठूलो कमजोरीविना उनले आफ्नो नेतृत्वमा दुईवटै निर्वाचन सम्पन्न गराएका छन् । लोकतन्त्रको जग बलियो बनाउन प्रमुख आयुक्त थपलिया र उनको टीमको महत्त्वपूर्ण योगदान रह्यो ।
निर्वाचनको मत परिणामले उम्मेदवार र दलको जीतहार निश्चित गर्नेछ । मतदाताले आफ्नो विवेक प्रस्तुत गरेका छन् ।
मतगणनामार्फत जनमतलाई सीटमा परिणत गर्नका लागि गणनाको काम बाँकी छ । निर्वाचन सम्पन्न भएसँगै लोकतन्त्रले फेरि एकपटक जितेको छ । लोकतन्त्रको यो महोत्सवमा सहभागी हुने सबैलाई बधाई ।