
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए ।
देशका कतिपय स्थानमा भएका छिटपुट झडपका घटनालाई अपवाद मान्दा आइतवारको चुनावलाई शान्तिपूर्ण भन्नुपर्छ । चुनावी झडपमा कुनै हताहती भएको छैन ।
मतदानमार्फत सचेत मतदाताले आगामी पाँच वर्षका लागि देश सञ्चालनका लागि आफूले विश्वास गरेको दललाई अभिमत दिएका छन् ।
जनताको अभिमत व्यक्त भएका मतपेटिकालाई सुरक्षित ढंगले गणनास्थलमा पुर्याउनु र जति सक्दो छिटो मतपरिणाम सार्वजनिक गर्नु निर्वाचन आयोगको दायित्व हो ।
निर्वाचनअघिका प्रारम्भिक संकेतले यसपटकको चुनावमा केही नयाँ दलको उदय हुने सम्भावना देखिन्छ ।
स्थापित र पुराना राजनीतिक दलप्रतिको आक्रोशले नयाँ दल राम्रो हैसियतका साथ उदय हुने सम्भावना छ । जनताको फैसला मतपेटिका खोलेपछि मात्र थाहा हुनेछ ।
निर्वाचनमा अपेक्षित मत खस्न नसक्नु कमजोर पक्ष हो, यो निर्वाचन आयोग र सरकारको कमजोरी होइन, बरु राजनीतिक दलप्रतिको वितृष्णा र आक्रोशको परिणाम हो ।
मानिसहरू भोट हाल्न नजानु लोकतन्त्रका लागि खतराको सूचक हो । मतदाताको यो असन्तुष्टिलाई दलहरूले आगामी दिनका लागि पाठको रूपमा लिनुपर्छ ।
जीतहार जसको भए पनि आवधिक निर्वाचनले लोकतन्त्रलाई नवीकरण गरेको छ ।
लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई सफल बनाउने सबै धन्यवादका पात्र हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दुवै धन्यवादको हकदार बनेका छन् ।
साथै, आयोगका अन्य पदाधिकारी र समग्र कर्मचारी, सुरक्षाकर्मी लगायत यसमा भूमिका खेल्ने अन्य सबैलाई पनि धन्यवाद भन्नुपर्छ ।