२६ जेठ २०८३, मंगलबार

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओलीको संसद् प्रवेश

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओलीको संसद् प्रवेश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्ने भएका छन् । 


अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । अब उनले छैटाँै पटक प्रतिनिधि सभा सदस्यका रुपमा संघीय संसद्मा प्रवेश गर्नेछन् । 

अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गरे । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गरेका हुन् ।

दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिएका हुन् । 
 
एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गरेका थिए । विसं २०२९ मा झापा आन्दोलनपछि उनले १४ वर्ष जेल जीवन व्यतित गरेका थिए । उनी २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय भएका थिए । 

पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख भएर काम गरेका थिए । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएर काम गरे । पूर्वप्रधानमन्त्री ओलीे २०४७ सालमा नेकपा (एमाले) को स्थायी समिति सदस्य बनेका थिए । 

ओली २०७१ सालमा एमालेको अध्यक्ष बनेका थियो भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बनेका थिए । 

एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गरेका थिए । संविधान सभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उनले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । ओली संघीय संसद् प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित भएका थिए भने अहिले उनी  झापा–५ बाट नै विजय भएका हुन् । 

एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा  गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हालेका थिए । 

पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेका एमाले अध्यक्ष ओली तत्कालीन नेकपा (माले) का संस्थापक नेतामध्ये एक हुन् । तेस्रो पटक मुलुकको कार्यकारी नेतृत्वमा रहने तयारीमा रहेका उनी स्पष्ट अडान राख्ने नेताका रूपमा पनि परिचित छन् । उनलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । अध्यक्ष ओलीको विकास र राजनीतिक दृष्टिकोण समेटिएको पुस्तकसमेत प्रकाशित छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्