असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको ‘हाई प्रोफाइल सोसाइटी’ अब नेपालको राजनीतिमा आफ्नो पुनरोदयको सम्भावनाका लागि चन्द्रग्रहमा बस्तीको सम्भावनाको जत्तिकै कोसिस गरिरहेको छ ।
त्यसको स्थायी र दीर्घ राजनीतिक नेतृत्वको मिथकका रूपमा राजपरिवारलाई हेरिए पनि हार्डकोर दक्षिणपन्थी लाइनको वैचारिक नेतृत्वको खडेरी अब रविन्द्र मिश्रले पूरा गर्ने आशामा रोयल इलाइट गुट हौसिएको हुनुपर्छ । मिडिल टु राइट (मध्यपन्थदेखि दक्षिणपन्थ) हुँदै नेपालको कन्जर्भेटिभ सोसाइटीको सैद्धान्तिक प्रवक्ता बन्ने उद्देश्यसहित अल्ट्रा राइट (घोर दक्षिणपन्थी) लाइनको सेवा गरिरहेका मिश्रले समाजलाई परम्परा, संस्कार, रीतिरिवाज, प्रथा, प्रचलन, इतिहास, जात, धर्म, भाषा, भेषभुषा, सनातन मूल्य र मान्यताको लिपिबद्ध सैद्धान्तिकीकरण गरी राजनीतिको पुरानो बाटो हिँडाउन प्रयास गर्नेछन् ।
सारमा धार्मिक आवरणको कन्जर्भेटिभ राजनीतिक अभियानलाई विस्तार गर्नु उनको जीवनको बाँकी कार्यभार हुनेछ ।
समाजको अतितमुखी सम्भ्रान्त वर्ग जो राजा महाराजाहरूको छहारीमुनि हुर्कियो, फल्यो, फुल्यो, विकसित भयो र आफ्नो भाग्योदय गर्यो, त्यो बहुदलीय व्यवस्थाभन्दा पछि फर्किन चाहन्छ र एकल नायकत्वको स्थिरताका नाममा राजतन्त्र पुनरागमनको पक्षपोषण गर्न चाहन्छ । दलहरूको वैचारिक टाँट पल्टाइ र दैनिक राजनीतिको भद्दा प्रहसनबाट आजित एउटा जमातको दिक्दारीले पनि हार्डकोर दक्षिणपन्थी लाइनलाई मलजल गरिरहेको छ । अहिले देखिएको जनताको अभिमतको एउटा सानो अंशले त्यसलाई कान ठाडो पार्ने खुकुलो वातावरण प्रदान गरेको हो भन्ने कुरामा हामी ‘क्लीयर’ हुनुपर्छ ।
उदार विश्व व्यवस्थाभित्र हुर्किएको अनुदार राजनीतिक संस्कारले विश्वव्यापी रूपमा कन्जर्भेटिभ सोच र उग्र दक्षिणपन्थलाई प्रमोट र प्रमोसन गरिरहेको छ । उदार अर्थव्यवस्था भित्रको अनुदार राजनीतिक अवस्थाले परिस्थिति ‘ग्लोबलाइजेसन ब्याक टु लोकलाइजेसन’ जस्तो बन्न पुगेको छ । हुन त स्थानीयता र विश्वग्रामको अवधारणा एकअर्काका परिपुरक हुनुपर्ने हो तर विश्व राजनीतिक कोर्सले वस्तुस्थिति, परिस्थिति र मनस्थितिलाई फरक ठाउँमा पुर्याइदिएको छ । त्यसकारण एकातिर संसार ईश्वरीय आदेश र वरदानमा चल्छ भन्ने कन्जर्भेटिभ उग्र दक्षिणपन्थको विषाक्त हावालाई हामीले रोक्नुपर्नेछ ।
अर्कोतिर एलन मस्कको परिकल्पना पृथ्वीमा जन्मिने, चन्द्रमामा खेल्ने–हुर्कने र मंगलको खैरो धुलोमा जीवनको अन्तिम श्वास लिने कुरा जस्तै रातारात जादुमयी ढंगले राज्यको प्रणालीगत सुधारको अपेक्षा गर्ने युवा वर्गले रवि लामिछाने नेतृत्वको रास्वपालाई मैदानमा आएर आफ्नो दमदार प्रदर्शनका लागि आग्रह गरेको छ ।
यो पुस्ताको मस्तिष्कमा हार्ड एण्ड फास्ट भन्ने छ । यसले दैनिक जीवनको हरेक घण्टा र मिनेटको नाफा नोक्सानको हिसाबकिताब गर्छ । यो प्रणालीमा विश्वास राख्छ र हुन्छ वा हुन्न भन्ने स्पष्ट प्रतिक्रिया चाहन्छ । सारमा सामाजिक प्रगतिको अभ्यास र अनुभवको लम्वेतान अनि झन्झटिलो प्रक्रियालाई ब्रेक गरेको हेर्न चाहन्छ यो पुस्ता । त्यसकारण यसले राजनीतिमा नयाँ अनुहार र परिवर्तनको खरो वकालत गर्ने स्पष्ट भिजनरी नेता खोजेको छ ।
यस पुस्ताले खोजेको सन्तुष्टि रवि, सीके राउत र रेशम चौधरीहरूले पूरा गर्छन् त ? यी फगत थोत्रा गाला बजाउने उरन्ठेउलाहरूलाई सहजै स्वीकार गर्ने कस्तो चेतनाहीन समाज रहेछ भनेर हामी मूलधारका राजनीतिक शक्ति र त्यसको पनि पाका नेताहरू दिक्दार छन् होला । उहाँहरूले एकपटक फरक कोणबाट सोच्नुपर्छ ।
प्रजा परिषद्ले तत्कालीन समाजका सबै चाहना र सन्तुष्टि पूरा गर्यो त ? हामीले महामानव बीपी भनिरहँदा कुनै पनि व्यक्तिलाई महामानवको उपाधि नदिएका विश्वका मुलुकहरू कहाँ पुगे र हामी कहाँ छौं ? नेपाली कांगेसबाट समाजले सन्तुष्टि पायो त ? हामीले जननेताको उपमा दिएका मदन भण्डारी जो संवैधानिक राजतन्त्रको टाङमुनि हँसियाहथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा र सूर्यअंकित चुनावी झण्डा राखेर जबजको व्याख्या गर्न बाध्य भए, त्यो एमालेबाट समाजले सन्तुष्टि पायो त ? १० वर्ष युद्ध लडेर, प्रचण्ड पथ बनाएर, २१औं शताब्दीको जनवादको सैद्धान्तिक व्याख्या अघि सारेर, अढाई सय वर्ष पुरानो राजतन्त्र हटाएर गणतन्त्र ल्याउने प्रचण्ड र माओवादीले त समाजलाई सन्तुष्ट पार्न सकेन अरुको कुरा के भो र ?
त्यसैले समाजले आफ्नो असन्तुष्टिको सम्बोधनका लागि हरेक दशकमा नयाँ दल र नेता खोज्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । कन्सिरी तताएर, भाग खोस्न अरु आइपुगे भनेर, पुर्पुरोमा हात लगायर कुनै फाइदा छैन । आफ्नो आयू लम्ब्याउनु छ भने रूपान्तरण हुने, रूपान्तरण हुन नसके समयले नै अधिकारलाई कसैमाथि हस्तान्तरण गरिदिन्छ, स्वीकार्ने । हाम्रासामु अहिले यिनै २ विकल्प छन् ।
जहाँसम्म यस निर्वाचन परिणामको अभिमत छ, यसले माओवादीमाथि सापेक्षिक रूपमा केही अन्याय गरेको छ तर त्यसका पछाडि माओवादी पनि कहीँ न कहीँ व्यावहारिक न्याय सम्पादनको मामिलामा नराम्ररी चुकेको छ । त्यो कुनै अर्को सन्दर्भमा विस्तृत गरौंला ।
यस निर्वाचनले यथास्थितिका २ पार्टी कांग्रेस र एमालेलाई न आशा दिएको छ, न निराशा । उनीहरूको गति, मति र परिस्थितिलाई अर्को विकल्प परिपक्व नभएसम्म यथावतै राख्नुपर्ने संकेत जनमतले गरेको छ । खासगरी पछिल्लो परिवर्तनका २ मसिहा माओवादी र मधेशवादी साँघुरिएका छन् तर उनीहरूकै एजेण्डामा देश चलिरहेको छ । एजेण्डाका आधारमा हेर्दा सिंगो देशको नेतृत्वमा ती २ शक्ति हाबी हुनुपर्ने हो तर भूइँ वर्गलाई साथमा लिन नसक्ने, सम्भ्रान्त वर्गलाई विश्वासमा लिन नसक्ने र मध्यम वर्गप्रति भरोसा गर्न पनि नसक्ने कारणले माओवादी र मधेशवादी शक्तिहरूको प्रदर्शन कमजोर बन्दै गयो । त्यसका अतिरिक्त ती दुवै शक्तिमा स्वस्थ लोकतन्त्र फल्न–फुल्न सकेन ।
रवि, रेशम र सीकेहरूले पार्टी किन गठन गरे ? तिनका कार्यकर्ताहरूले परिवर्तनको हावा गफ किन दिए ? ती को हुन् ? तिनीहरूको हैसियत के हो ? मूलधारका पार्टीका नेता–कार्यकर्तालाई टाउको दुखाइ बनेका यी र यस्तै जिज्ञासाहरू हुन् । समाज विज्ञानको एउटा मात्र ध्रुवसत्य कुरा के हो भने परिवर्तनको कोही ठेकेदार छैन र परिवर्तनको आवाज उठाउने इजाजत कुनै अमुख व्यक्ति, वर्ग, समूह, समुदाय र पार्टीले मात्रै प्राप्त गरेको छैन ।
क्रान्ति उद्योगका परिवर्तनकारी मजदुर (राजनीतिक कार्यकर्ता) को लागि यो कथा न पहिलो हो न अन्तिम । जबसम्म समाज छ, विकृतिहरू छन् र यथास्थिति छ, त्यतिबेलासम्म परिवर्तनको आवाज जरुरी छ त्यो राजनीतिक मजदुरहरूद्वारा नै मुखरित हुनेछ र हुनुपर्छ । यस हरफतिर नजर बढाउँदै गर्दा तपाईं सबै युवा साथीहरूको मन र मष्तिस्कमा पनि परिवर्तनको आकांक्षा दौडिरहेकै छ ।
तपाईंले बोलिरहेको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, सोचान्तरण र रूपान्तरणको जुन शक्तिशाली आवाज छ, जुन आवाजको आँधीले सत्ता, शक्ति, नातावाद, भाइभतिजावाद, घुसखोर, कमिसनतन्त्र, हैकमतन्त्र, परिवारवाद, पैसाद्वारा पद–प्रतिष्ठाको किनमेलका अनगिन्ती विकृतिहरू छन्, ती सबै जरैदेखि ढाल्ने सपना देख्नुभएको छ, नेतृत्वदायी स्तरमा रहेको युवापंक्ति होस् वा ती युवाहरूलाई पत्याउने, ढाडस दिने परिपक्व नेतृत्व ती सबैमा सम्मान छ ।
परिवर्तनको नेतृत्व लिने आकांक्षा बोकेको युवा पुस्ता र युवा सोच बोकेको उपल्लो तहको नेतृत्वसहित विशाल जनमतलाई कदर गर्दै त्यस दिशामा बढ्नुको विकल्प कसैसँग छैन । तपाईंको नशामा दौडेको परिवर्तनको रगतको गति बेलगाम छ, तपाईंको मष्तिस्कमा दौडेको परिवर्तनको चाहको गति निर्बाध छ र तपाईंको श्वासप्रश्वासमा दौडेको अधिकार र परिवर्तनको बहाव कुनै प्रकारको भय र त्रासको कैदमा छैन । त्यो पूर्ण रूपमा उन्मुक्त छ, विन्दास छ, वुलन्द छ र हौसलापूर्ण छ तर यो परिवर्तनको परिस्थिति बन्यो कसरी र यो परिस्थिति सिर्जना गर्ने राजनीतिक मजदुरहरूको वास्तविक अवस्था के छ ? तपाईं सबै परिवर्तनका अभियान्ताहरूले आफ्ना पूर्ववर्तिहरूको सपना बोक्दै गर्दा अवस्था पनि बुझ्न र बदल्न प्रयत्न गर्नुपर्छ ।
हामीभन्दा अघिका परिवर्तनहरू स्वर्गबाट झरे र हामी मात्रै संघर्षमा छौं भन्ने भ्रमबाट सधैं मुक्त रहनुपर्छ ।
आजको यो लोकतान्त्रिक गणतन्त्र र सिमान्तकृत समुदायको राजनीतिक अधिकार तथा सामाजिक सुरक्षाको प्रत्याभुत गर्ने अठोट बोकेको संवैधानिक व्यवस्था ल्याउन हजारौं युवाहरू हिउँपहिरोदेखि माटोमुनि पुरिएका छन् । कहीँकतै लाशका चाङहरूको व्यवस्थापन नै भएन र कैयौलाई सामूहिक रूपमा चिहानमा हालियो ।
बेपत्ताहरूको मुद्दै बाँकी छ, घाइते अपाङ्गता भएकाहरूको कन्तबिजोग छ, आफन्तजन गुमाएकोहरूको बास चपरीमुनि छ । शरीरभित्र गोली बोकेर बाँचिरहेका योद्धाहरू छाक टार्ने उपायको खोजीमा छन् । आफ्नो जीवनको किशोरयवदेखि प्रौढसम्म यही परिवर्तनको आन्दोलनमा खर्चेका हजारौं मान्छेहरू घर खर्चको जोहो गर्न नसकेर अरबका गल्लीदेखि शहरमा साँझ चुल्हो बाल्ने काम खोजेर भौंतारिरहेका छन् । व्यवस्थाविरुद्ध आवाज मात्र होइन, बन्दुक उठाउने मान्छेहरू आज आफैं आवाजविहीन छन् । रोटी र लुगाको सुनिश्चितता नभएका उनीहरूलाई राजनीतिक स्वतन्त्रताको सुरक्षाको कुनै अर्थ छैन ।
आफू निभेर अरुलाई प्रकाश दिन राज्यसँग युद्धको बलिवेदीमा होमिएका उनीहरूको भूमिका पूर्ण रूपमा नजरअन्दाज गर्नु इतिहासमाथिको अपमान हो भन्ने कुरामा युवाहरू हमेशा सचेत रहनुपर्छ । युद्धको त्यस विभिषिकामा जो मरे, ती परिवर्तनकै लागि मरे र जो बाँचे, ती मृत्युका लहरहरूको सामना गर्दै किनारासम्म आइपुगे र आज पनि ती परिवर्तनकै कित्तामा छन् ।
तिनको सम्मान गर्नु, तिनको सपना साकार पार्नु, तिनको अनुभव लिनु, तिनलाई हिनताबोध हुने नीति र व्यवहार नगर्नु नै हरेक परिवर्तनकामी अभियान्ताहरूको दायित्व हो । रवि, सीके र रेशमहरू त्यस राजनीतिक संस्कारबाट सायद टाढा छन् । उनीहरू एउटा झिल्कोमा आए र त्यसलाई विशाल रूपमा फैलाउन सक्छन् वा सक्दैनन् त्यसको कुनै सुनिश्चितता छैन । वर्ग संघर्ष, राजनीतिक संघर्ष, सामाजिक आन्दोलनहरूको लामो अनुभव, व्यवस्था विरुद्धको लडाइँमा जेल–नेल, यातना र दशकौं लामो प्रतिबन्धहरूको सामना उनीहरूले गरेका छैनन् । त्यसकारण उनीहरूलाई जाँच्ने कसी मात्रै व्यवहार हुनेछ ।
अन्तिममा हेक्का राख्नुपर्ने कुरा के हो भने सिंहदरबार बदल्न गएका बीपिलाई सिंहदरबारले बदलेर पठाइदियो । सिंहदरबार बदल्न गएका मदन भण्डारी संवैधानिक राजतन्त्र स्वीकार्ने सम्झौतामा पुगे । सिंहदरबारबाट राजतन्त्र फाल्ने एउटै व्यक्ति प्रचण्ड हुन्, उनले व्यवस्था बदलेसँगै अरु पनि धेरै कुरा बदल्न चाहे सिंहदरबारले ९ महिनामै प्रचण्डलाई हुत्याइदियो ।
शहरको जीर्णपन र अँध्यारो बढारेको माओवादीलाई यही शहरले बढारिदियो रवि, सीके र रेशमहरू त अग्निपरीक्षामा गएकै छैनन् । त्यसकारण उनीहरूको नतिजा हेर्न एकपटक सरकारमा सामेल गराउनु उपयुक्त होला ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...