
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति (कार्यकालका हिसाबले चौथो) को रूपमा रामचन्द्र पौडेलले शीतलनिवासको कार्यभार सम्हालेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै ६ दशक बिताएका पाका राजनीतिज्ञ पौडेल राष्ट्रपतिको कुर्सीमा आसीन भएका छन् ।
लामो समय देशको अग्रणी राजनीतिक दल नेपाली कांग्रेसको राजनीति गरेका, पटक–पटक सांसद, मन्त्री र सभामुख समेत भइसकेका पौडेल समकालीन राजनीतिका तुलनात्मक रूपमा सादगी नेता हुन् । लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यताप्रति उनको अटुट आस्था रहेको पाइन्छ ।
गणतन्त्र स्थापनाको डेढ दशक पूरा भएपनि आम नागरिक यो व्यवस्थासँग सन्तुष्ट बन्न सकिरहेका छैनन् । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनमा सुधार आउन नसक्दा जनतामा यो व्यवस्थाप्रति समेत आक्रोश छ । फलस्वरूप पूर्वपञ्चको पार्टी राप्रपाजस्ता राजतन्त्रप्रति आस्था राख्ने दलले आकार बढाइरहेका छन् । केही नयाँ दलको उदय भएको छ । कारण पुराना दलको कार्यशैली नै हो ।
गणतन्त्रप्रति आमजनतामा वितृष्णा बढिरहेको समयमा यसको साख जोगाउने जिम्मा पौडेलको काँधमा आएको छ । गणतन्त्रजस्तो उन्नत व्यवस्थाप्रति जनतामा वितृष्णा बढाउने काम यसको उच्च तहमा पुगेका पात्रले गरेका हुन् । सीमित पहुँचवाला र तरमारा वर्गले गणतन्त्रको तर खाइरहेको छ ।
केही समयका लागि राष्ट्रपति बनेको जनताको छोरोले शाहवंशीय राजाहरूले जस्तो राज्यको दोहन गरिरहेको कुराले जनतामा आक्रोश छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादवले उपचारका नाममा पटक–पटक राज्यकोषको दोहन गरेकोमा सर्वसाधारणको आक्रोश छ । ‘सादगी छवी’ बनाएका पौडेलले रामवरणप्रति अहिले जनतामा देखिएको आक्रोश महसूस गरुन् । रामवरणको ‘पार्ट टु’ नबनून् ।
स्कूल बस र एम्बुलेन्सलाई समेत रोकेर सडकमा आतंक मच्चाउँदै सवारी चलाउने प्रचलन हटोस् भन्ने नागरिकको सुझाव छ । राष्ट्रप्रमुखको सुरक्षालाई ध्यान दिँदै जनतालाई मर्का नपर्ने गरी सवारी चलाउन पौडेल स्वयंले अग्रसरता देखाऊन् । आर्थिक संकट र बजेट घाटाले गर्दा कर्मचारीलाई तलब खुवाउनै हम्मेहम्मे पर्ने गरीब देशका राष्ट्रपतिले तामझाम गरेको सुहाउँदैन ।
संविधानको पालक र संरक्षकको रूपमा रामचन्द्रले १५ वर्षमा देखिएका कमजोरीको निर्मम समीक्षा गरेर राष्ट्रपति पदको गरिमा बढाऊन् । राष्ट्रपति सडकमा आउँदा नागरिक आतंकित हुने होइन, नमन गर्ने आचरण देखाऊन् । गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिलाई कार्यकाल सफलताको शुभकामना !