२७ जेठ २०८३, बुधबार

विराटनगरमा राधाकृष्ण रथयात्राको ५५ औं संस्करणः ५ लाख सहभागी हुने अनुमान, ५ हजार प्रहरी परिचालन

भदौ २१, २०८०
विराटनगर
विराटनगरमा राधाकृष्ण रथयात्राको ५५ औं संस्करणः ५ लाख सहभागी हुने अनुमान, ५ हजार प्रहरी परिचालन

विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करण आज बिहीवार आयोजना हुँदैछ । पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको यसपटकको रथयात्राको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । 

५५ वर्षयता विराटनगरमा हरेक वर्ष  श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । कोरोना भाइरस महामारीका कारण दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो । आयोजक समितिका अनुसार यसपटक तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरू हुने रथयात्रा ट्राफिक चौक–रोडशेष चौक–बसपार्क–महेन्द्र चौक–भृकुटी चोक– बरगाछी चौक र दुर्गा चौकहुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ । 

विस १९८८ मा खटयात्राबाट शुरू भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरूसहित विभिन्न नगरका मेयरहरू पनि सहभागी बन्दैछन् ।

आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइने गरिन्छ । हिन्दू धर्मावलम्बीले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीको पनि उत्तिकै सहभागिता हुने गरेको छ । 

‘यसपटकको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ,’ मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘विराटनगरको सांस्कृतिक र धार्मिक वैभव बनेको रथयात्रा भव्य तुल्याउन हामी सबैमा अपिल गर्दछौं ।’ 

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरिने जनाएको छ । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन् । प्रहरीले पनि रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ । 

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिँदै सूचनासमेत जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्नेप्रति सचेत गराएको छ । 

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिइ मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध–बृद्धा घाइते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो । 

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहना नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेकोसमेत गरेको छ । 

यसैगरी सवारीसाधनमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधि अपनाउन, सीसीटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिइ समारोहमा नआउन, बृद्धबृद्धाले साथमा सहयोगी लिएरमात्र आउन प्रहरीले आग्रह गरेको छ । 

भिडभाडको फाइदा लिइ महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुव्र्यवहारप्रति सजग रहन भन्दै प्रहरीले घरका सबै सदस्य एकैपटक घरबाट ननिस्की आलो–पालो गरेर मात्र आउन पनि आग्रह गरेको छ ।

प्रहरीले जोसुकै शंकास्पद व्यक्ति हुन सक्ने भएकाले हर–हमेसा चनाखो रहन आग्रह गरेको छ । साथै, कुनै पनि प्रकारका चोरी, लुटपाट, दुब्र्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि शंकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिन पनि जिल्ला प्रहरी कार्यालयले अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्