पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारकै शेखर कोइराला सभापतिमा उठ्दा मौनता साधेका शशांक कोइरालाले भावी नेतृत्वका लागि अघि बढ्ने आशय व्यक्त गर्न थालेका छन् । यसमा पनि शशांकले कोइराला विरासत ढालेर कांग्रेसमा उदाएका वर्तमान सभापति ‘शेरबहादुर देउवाकै उत्तराधिकारी बन्छु’ भन्ने अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ ।
गत बुधवार चितवन पुगेका शशांकलाई तपाईं देउवाको समूहबाट सभापतिको उम्मेदवार बन्न लाग्नुभएको हो भन्दै सञ्चारकर्मीले प्रश्न गरे । शशांकले भनिदिए, ‘हो यस्तो सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’ सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्मका साथीहरूसँग भेटघाट गर्छु, उहाँहरूको विचार सुन्छु अनि अनि मात्रै निर्णय गर्छु ।’
कुनै बेला देउवाले गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, रामचन्द्र पौडेल र शेखरसँग प्रतिस्पर्धा गरेका थिए । शशांक झण्डै तीन वर्षपछि उनै देउवाकै सहमतिमा सभापतिका उम्मेदवार बनाइएलान् ? अहिले नै यसको कुनै आकार र समीकरण बनेको छैन ।
सभापतिमा देउवाले आधा कार्यकाल (२१ महिना) मात्रै गुजारेकाले नेतृत्व फेर्ने समय पनि आएको छैन । तर कांग्रेसका संस्थापक बीपी कोइरालाका कान्छा पुत्र शशांकको देउवासँग नजिक हुनेबारे आएको यो आत्मविश्वासपूर्ण अभिव्यक्तिले भने कांग्रेसमा एउटा कम्पन पैदा गरेको छ ।
‘उहाँ कसरी १३ औं महाधिवेशनमा महामन्त्री जित्नुभयो । सबैले देखेका छन् । गुटबन्दीबाट माथि उठ्नुपर्छ भन्ने उहाँको सधैंको मान्यता छ । यसैले सबैलाई मिलाएर अघि बढ्छु भन्न उहाँले पाउहुुन्छ,’ उनीनिकट स्रोत भन्छ, ‘रामचन्द्र दाइ र शेखर दाइले नजितेपछि अब पालो उहाँकै हो । यसमा पनि अझ सबैको सहमतिमा सभापति बन्न सक्छु भन्न किन नपाउने ?’
आँखाका डाक्टर शशांकलाई गिरिजाले राजनीतिमा ल्याएपछि उनले सांसद हुन कुनै पापड बेल्नुपरेको छैन । २०६४ पछिका सबै चुनावमा उनी नवलपरासीबाट चुनाव जित्दै आएका छन् ।
१२ औं महाधिवेशनमा २०६७ सालमा पहिलोचोटी केन्द्रीय सदस्य भएका शशांक २०७२ मा सहजै महामन्त्रीमा निर्वाचित भए । तर २०७८ मा भएको १५ औं महाधिवेशनमा देउवा र शेखरबीच सभापतिमा प्रतिस्पर्धा हुँदा शशांक केन्द्रीय सदस्यमा मात्रै लडे ।
तर आफ्नै काकाकाकी केशव–नोनाका पुत्र शेखर सभापतिमा उठ्दा भने शशांकले मौनता साधिदिए । परिणामः देउवाले लगातार दोस्रोपटक पनि कोइरालाको विरासत पल्टाइदिए । यसैले कोइराला विरासत पल्टाउने देउवाकै रोजाइमा सभापतिको उम्मेदवार बन्लान् शशांक ?
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालका शव्दमा शशांकसँग बीपीपुत्र हुनुबाहेक अरु योग्यता छैन । यस्ता शशांक सहजै सभापतिको उम्मेदवार नहुने उनी बताउँछन् ।
‘शशांक शालीन र भद्र हुनुहुन्छ तर प्रस्तुति शून्यजस्तै छ । यत्तिको चुनौतीपूर्ण र सुपरफास्ट जमानामा एउटा भीमकाय, पुरानो र ठूलो दलको नेतृत्व झन् चुनौतीपूर्ण हुने गर्छ,’ उनी भन्छन्, ‘यस्तोमा प्रमुख पार्टी कांग्रेसको नेतृत्व शशांकले गर्नुहुन्छ भन्नेमा म विश्वास गर्दिनँ ।’
देउवाले समर्थन गर्ने र कोइराला परिवारका शेखर र सुजातासाथ उभिए मात्रै शशांक सभापति भन्ने उनको मत छ ।
‘देउवाले समर्थन गर्ने र परिवारका सदस्य शेखर सुजाता उहाँको पक्षमा उभिए भने उहाँ सभापति बन्न सक्नुहुन्छ,’ दाहाल भन्छन्, ‘त्रिकोणात्मक भए अर्कै हुन्छ । शशांक, शेखर, सुजाता एक भएर चुनाव लड्न सक्छन् । तर प्रतिस्पर्धी हुन सक्दैनन् ।’ एकाध लञ्च मिटिङ गर्नुबाहेक तीन कोइराला भने तीनतिर छन् ।
सुजातालाई स्वास्थ्यले साथ दिइरहेको छैन । तर १३ औं महाधिवेशनमा शशांक महामन्त्रीमा उठ्दा शेखरले चुपचाप बाटो छोडिदिए ।
सहजै महामन्त्री बनेपछि अर्को महाधिवेशनबाट शशांक भावी नेतृत्वमा उदाउलान् भन्ने धेरैको अपेक्षा थियो । तर देउवाबाहेकको समूहबाट महामन्त्री जिते पनि शशांक चुपचाप उनको समर्थकजस्तो बनिदिए । निर्वाचित महामन्त्री भए पनि पार्टी भने देउवाका मनोनीत महामन्त्री पूर्णबहादुर खड्काले चलाइदिए ।
बरु सभापति प्रणालीमा विश्वास गर्नुपर्छ भन्दै शशांक देउवाको प्रवक्ता जस्तो बनिदिए । उनकै टिमले देउवा विधिविहीनतामा हिँडेको, पार्टी कमजोर भएको, निर्वाचनमा पार्टी २३ सिटमा खुम्च्याएको आरोप लगाइरहे । तर शशांक देउवाको समर्थनमा उभिइहे ।
शशांक यसरी बचाउमा उत्रिनुले १३ औं महाधिवेशनमा ‘एस–एस’ (शेरबहादुर र शशांक)को पुष्टि भएको एक नेता बताउँछन् । ‘१३ औं महाधिवेशनमा रामचन्द्र दाइ हाम्रो तिरबाट सभापतिमा उठ्नुभएको थियो । तर ‘एस–एस’लाई एक–एक भोट दिने नारा चर्चित थियो । पछि शशांक जित्दा रामचन्द्र सभापतिमा किन हार्नुभयो भन्ने पुष्टि भयो,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसपछिको चार वर्ष उहाँ कसरी देउवाको प्रवक्ता जस्तो बन्नुभयो । सबै जानकार छन् । फेरि १४ औं महाधिवेशनमा शेखरलाई कसरी असहयोग गर्नुभयो कसैले भुलेका छैनन् ।’
शशांक रामचन्द्र र शेखर पक्षमा खुलिदिएको भए दुवैले सभपाति जित्ने परिस्थिति रहेको ती नेता बताउँछन् ।
यसै परिस्थितिले पनि शशांकलाई १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सीमित पारेको ती नेताको भनाइ छ ।
‘एकपटक सभापतिमा पौडेल वा शेखरलाई जिताएको भए उहाँको लागि पनि समय आउँथ्यो,’ ती नेता भन्छन्, ‘तर आफ्नै परिवारको सदस्य उठ्दा पनि उहाँले समर्थन नगर्दा शेखर दाइ हार्नुभयो । अब कै नैतिकता र बलले उहाँ सभापतिमा उठेर जित्नहुन्छ । समय कहाँ पुगिसक्यो अब पनि कोइराला विरासत मात्रै भनेर कसले पत्याउँछ ।’ यता शेखर भने ठीक उल्टो मान्यता राख्छन् । कोइरालालाई विरासत मान्न शेखर तयार छैनन् ।
न संगठन, न शक्ति, न सद्भाव !
बीपीपुत्रको लाभ र बोलीमा मिठास हुनुबाहेकका संगठनात्मक शक्ति र अरु सामथ्र्य भने शशांकसँग नभएको आरोप लाग्ने गर्छ । न त राजनीतिक सक्रियता र क्षमता नै उनले देखाउँदै आएका छन् । सबैले आदर्श मान्ने बीपीका छोरा हुनुको फाइदा उठाएर एजेण्डामा शशांक हस्तक्षेपकारी बन्न सकेका छैनन् । बरु उल्टै उनका हलुका अभिव्यक्ति विवादित बनिदिन्छन् ।
अर्कोतिर बीपीका छोरा हुनु बाबजुद शशांक एजेण्डाविहीन नेताको रुपमा परिरिचित छन् ।
शशांक आफ्ना आदर्शवान् पिताको पदचापमा हिँडेको ठोकुवा गर्न छोड्दैनन् । तर बेलाबेलामा भड्किन खोज्छन् । बीपीले हिन्दु राष्ट्रको कुरालाई बेइमानको संज्ञा दिँदा उनकै पुत्र भने हिन्दू धर्मको वकालत गर्दै गरेका भेटिन्छन् ।
संघीयताप्रति पनि यिनको लगाव छैन भन्ने उनका सार्वजनिक कार्यक्रममा झल्किन्छ । यसैले एजेण्डामा प्रष्ट नहुनु, पर्याप्त राजनीतिक सक्रियता र समझको अभाव भएपछि शशांकले कांग्रेस हाँक्छु भन्दा पनि पत्याउने थोरै भएको बताइन्छ ।
‘शशांकजीले देउवाको समर्थन पाउन सक्छु भन्न पाउँछन् । तर देउवाले उहाँलाई समर्थन गरेर पार्टी बुझाउनुहोला भन्ने लाग्दैन । किनकि ६४ देखि तीन चोटी सांसद हुँदा शशांकले संसद्मा जम्मा ९ मिनेट बोल्नुभएको छ,’ विश्लेषक दाहाल भन्छन्, ‘१६ वर्षमा ९ मिनेट मात्रै बोल्ने नेताले एउटा विशाल पार्टी कसरी चलाउनुहोला ? यस्तो नेताको कार्यसम्पादन कस्तो होला ?’ संसद्मा जस्तै कुनै कार्यक्रममा दुई मिनेट भूमिका बाँधेर प्रस्तुति दिन नसक्ने भनेरसमेत शशांकको आलोचना हुने गर्छ ।
लगातार पौडेल र शेखर हारेपछि पूर्वसंस्थापनको प्राविधिक नेता शेखर छन् । शेखर र गगन थापा समूहको नाममा देउवाविरोधी पक्ष केन्द्रदेखि तल्लो तहसम्मै हाबी छ । तर शशांकलाई खुलेर साथ दिने केन्द्रीय सदस्य औंलामा गन्न सकिने मात्रै छन् ।
१३ औं महाधिवेशनपछि शेखर राजधानीभन्दा बाहिर बढी बसे । अहिले पनि अधिकांश समय उनी राजधानीबाहिरै हुन्छन् । १५ औं महाधिवेशनमा एकपटक सभापतिका लागि सबैभन्दा ठूलो दाबेदारी गर्ने र तयारी गर्नेमा शेखर अगाडि छन् । तर शशांक नवलपरासीबाहेक अन्यत्र कार्यक्रम राखेर थोरैमात्रै पुग्ने गरेका छन् ।
अर्का विश्लेषक शंकर तिवारी पूर्वसंस्थापनलाई तितरबितर पार्ने रणनीतिको रुपमा यस प्रकरणलाई व्याख्या गर्छन् ।
‘कतिपय नेताको अयोग्यता नै योग्यता बनिदिन्छ । शशांकको बीपीको छोरा भएकोले पार्टीमा होल्ड छ । देउवालाई डमी सभापति चाहिँदा उनी त्यसको उम्मेदवार हुन सक्छन् । देउवाको सोच पनि शेखर र शशांकलाई इन्गेज गरेर पार्टीभित्रको विपक्षलाई तितरबितर पार्ने रणनीति देखिन्छ,’ विश्लेषक तिवारी भन्छन्, ‘देउवा खेमामा उनले जे बोल्यो त्यो चल्छ । पत्नी आरजु राणालाई महामन्त्री वा उपसभापतिमा सेटल गर्ने र भावी नेतृत्वको लागि अघि सार्ने शर्तमा देउवाले अनुकूलता हेरेर कोइरालालाई अगाडि सार्ने विषयलाई नकार्न भने सकिंदैन ।’
विरासतमै बल देख्छन् शशांक
देउवालाई सहयोग भन्दा पनि गुटबन्दीबाट माथि उठ्न आफूले भूमिका खेलेको शशांक बताउँछन् । तर सबैका हुन खोज्दा महामन्त्री हुँदाका कमजोर कार्यसम्पादन, रामचन्द्र र शेखरलाई गरेको असहयोगले शशांकको यो समूहका नेताबाट टाढा पुगेको बताइन्छ । उनीसँग बाँकी यही एउटा कोइराला विरासत मात्रै छ । यो विरासत पनि शेखरको हकमा पनि उत्तिकै लागू हुने मान्यता कांग्रेसका नेता कार्यकर्ताले राख्न थालेका छन् ।
तर पनि हिजो सुशील र आज देउवाले चलाएको पार्टी आफूले पनि चलाउन सक्छु भन्ने उनलाई लाग्न भने छोडेको छैन ।
‘शशांक अरुले जस्तो अप्रिय बोल्दैनन् । कार्यकर्तालाइ माया गर्छन् । यसैले हिजो सुशीलले चलाएको पार्टी शशांकले किन चलाउन सक्दैनन् भन्ने पनि छन् । देउवाले कुन खतरनाक हिसाबले चलाएर भन्ने पनि नभएका होइनन्,’ तिवारी भन्छन्, ‘युवा पुस्ताको नेता आएर चलाउँदा अलि गति लिन्छ भन्ने हो नत्र जो आए पनि पार्टी चलिहाल्छ भन्ने पनि देखिएको छ ।’
१५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भनेर शशांकले मुख खोलेका छैनन् । तर सार्वजनिक कार्यक्रम र मिडियासँग कहिलेकाँही म किन सभपातिको उम्मेदवार हुन नहुने भन्दै प्रश्न भने गर्न छोडेका छैनन् ।
सकेसम्म देउवाकै समर्थनमा सर्वसम्मत सभापति बन्ने नभए उनको टिमलाई हराउन सभापतिमा अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा भने शशांक यसपटक दृढ छन् । किनकि रामचन्द्र र शेखरले देउवालाई हराउन नसकेपछि बीपीपुत्र हुनुका फाइदा आफूले उठाउन सक्ने दाबी उनको छ ।
यही मिठो बोली र विरासत यतिखेर शशांकको सबैभन्दा ठूलो हतियार रहेको मान्ने एउटा पार्टी पंक्ति छ । शेखर वा गगन अर्को समूहबाट सभापतिमा उठ्ने अवस्था आएसम्म शशांकलाई अब कोइराला विरासतले मात्रै साथ नदिइने बताइन्छ ।
केन्द्रीय समितिको बैठक चल्दै गर्दा गत साउन ९ गते शशांकले केन्द्रीय सदस्यका लागि चियापानको कार्यक्रम राखेका थिए । चियापानबारे प्रष्ट पार्दै शशांकले भनेका थिए, ‘हामी एकतावद्ध भएर हिँडनुपर्छ । यसैले यहाँ भेला भएका छौं । किनकि कांग्रेस एक भएको खण्डमा धेरै ठूलो परिवर्तन ल्याउन सकिन्छ । यस्ता चियापानसहितका कार्यक्रमले भाइचारा स्थापित हुन्छ । हामी आउँदो दिनमा कता हो त्यो बाटो पहिल्याउनुपर्छ । किनकि कांग्रेसको विकल्प अरु छैन । कांग्रेस नै हो ।’
विश्लेषक दाहाल महाधिवेशन आउन ६-७ महिना अगाडि मात्रै के होला भन्नेमा एउटा लक्षण देखापर्ने बताउँछन् ।
‘देउवा अब चुनाव लड्नुहुन्न । तर उहाँसँग पूर्णबहादुर, विमलेन्द्र पनि हुनुहुन्छ । प्रकाशमान पनि अर्का दाबेदार नहुनुभएको होइन । शेखरले नयाँ पोल खडा गर्नुभएन भने सहकार्य गर्न खोज्दा देउवा र शेखरसँग लय मिल्न सक्छ,’ दाहाल भन्छन्, ‘होइन अब पार्टीमा नयाँ पुस्तालाई भित्र्याउनैपर्छ भन्ने देउवालाई कुनै कुनामा लाग्यो भने गगन र विश्वप्रकाश शर्मा दुई भाइ कांग्रेसमा उदाउन पनि सक्नेछन् ।’
शेखरलाई देउवाले रोज्ने सम्भावनालाई अथ्याउँदै दाहाल भन्छन्, ‘शेखर किन पनि देउवाको रोजाइमा पर्न सक्छन् भने उनी सक्रिय छन् । राजनीतिक समझ र क्षमता छ । खट्न सक्छन् । आफ्नो उत्तराधिकारी नालायक होस् भनेर सकैले सोच्दैन । यसमा अलिकति स्वार्थ मिसाउँदा ट्युनिङ मिल्न सक्छ ।’ अर्कोतिर पूर्वसंस्थापनका दुई उम्मेदवार रामचन्द्र र शेखर लगातार देउवासँग सभापतिमा पराजित भए । यस्तोमा तेस्रोपटक पनि सोही पक्षकै शेखर वा गगन उम्मेदवार भएमा शशांक भड्किँन सक्छन् । यस अवस्था आएका शेखर र गगनलाई पनि उत्तिकै चुनौती भने छ ।
तर महामन्त्री हुँदा शशांकले सिन्कोसमेत नभाचेकाले सधैँ बीपीपुत्रको मात्रै योग्यताले काम नगर्ने विश्लेषक दाहाल बताउँछन् ।
बरु तीन वर्षमा देउवाले कसलाई अघि सार्दा आरजु स्थापित हुन्छिन् उसैलाई पार्टी बिसाउने सम्भावना बढी देखिने उनको तर्क छ ।
‘देउवाको समय अब सकियो । उहाँलाई श्रीमती आरजुलाई स्थापित गर्नु पनि छ । राजनीतिक उचाइ दिएर कतिपय कुरा धोइपखाली पनि गर्नुपर्नेछ,’ दाहाल भन्छन्, ‘यसैले आरजु स्थापित हुँदाको स्वार्थ हेरेर आफूलाई को सहज हुन्छ उसैलाई देउवाले अघि सार्नुहुन्छ ।’
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...