२६ जेठ २०८३, मंगलबार
बालकुमारी घटना

उपत्यका प्रहरीको गम्भीर लापरबाहीः २ युवाको ज्यान गयो, मन्त्रीको गाडी पनि जल्यो

पुस १३, २०८०
काठमाडौं
उपत्यका प्रहरीको गम्भीर लापरबाहीः २ युवाको ज्यान गयो, मन्त्रीको गाडी पनि जल्यो

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले शुक्रवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी गरे । यस घटनापछि भएको झडपमा २ युवाको ज्यान गइसकेको छ । राजधानीजस्तो देशको मुटुमा दिउँसै यस्तो घटना भएको हो । मन्त्रीको गाडीमा आगजनी भएको यस्तो घटना जनआन्दोलनको समयमा पनि भएको थिएन । प्रहरीको लापरबाहीका कारण मन्त्रीको गाडीमा आगजनी भएको अधिकांशको टिप्पणी छ । 

उपत्यका सुरक्षाका लागि ३ तहको सुरक्षा प्रहरीको सुरक्षा निकाय हरपल सुरक्षामा खटिएको हुन्छ । काठमाडौंको समग्र सुरक्षा हेर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) छ । जसमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को नेतृत्व हुन्छ । त्यसपछि समग्र जिल्लाको सुरक्षा हेर्नका लागि ललितपुर प्रहरी परिसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र त्यसको मातहतमा सातदोबाटोमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा वृतले कमाण्ड गरेको हुन्छ । त्यसमा अलवा हरेक क्षेत्र हेर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वमा अर्को प्रहरी युनिट हुन्छ । 

त्यसमाथि पनि मन्त्रीका लागि सुरक्षा गार्ड र अन्य सुरक्षा निकायका कर्मचारीहरू हरबखत साथमा हुन्छन् । मन्त्रीको गाडी उपत्यकामा हिड्दा ट्राफिक प्रहरी र जनपद प्रहरी कहाँबाट कहाँ गएको भन्ने सञ्चार सेटमा सूचना अपडेट भइरहेको हुन्छ । यसको अर्थ मन्त्रीको गाडी सुरक्षाका विषयमा प्रत्येक मिनेटमा अपडेट भइराखेको हुन्छ । यस्तो अवस्थामा शुक्रवार दिउँसै ईपीएस परीक्षाको आन्दोलनमा मन्त्रीको गाडी कसरी जल्यो ? त्यसमा पनि मन्त्री र पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)लाई गाडीबाट ओरालेर सोही गाडीमा आगो लगाउनु भनेको ‘गम्भीर’ विषय भएको सरोकारवालाहरूको भनाइ छ ।

पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले मन्त्रीको गाडी जलाइनुमा सुरक्षा निकायको कमजोरी रहेको बताए ।

null

बिहानैदेखि आन्दोलन भइराखेको ठाउँमा प्रहरीले मन्त्रीलाई जान दिनु पनि सुरक्षा निकायको कमजोरी रहेको अधिकांशको भनाइ छ । यसमा पूर्वडीआईजी ठकुरीको भनाइ पनि मेल खान्छ ।

‘यस्तो आन्दोलन भएको ठाँउमा भीआईपी गाडी जान नदिनु र घटना भएकापछि त्यसको सुरक्षा दिने जिम्मा प्रहरीको हो,’ लोकान्तरसँग उनले भने, ‘भीर्आइपीको मुभमेन्टमा सुरक्षा निकाय हरबखत तयारी अवस्थामा हुन्छ । आन्दोलन भइराखेको ठाउँमा सवारी जान हुँदैनथ्यो त्यो कमजोरी भएको देखिन्छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो)का प्रमुख एआईजी दीपक थापाका अनुसार मन्त्री ज्वाला पार्टी (नेकपा एकीकृत समाजवादी)को कार्यक्रममा जानेक्रममा उनी सवार गाडीमा आगजनीको घटना भएको हो । ग्वार्कोको एक पार्टी प्यालेसमा पार्टीको कार्यक्रममा उपस्थित हुन मन्त्री त्यहाँ गएका थिए । कार्यक्रम सकिएपछि बाहिर निस्कन खोज्दा आन्दोलनकारीले आगजनी गरेको एआईजी थापाले बताए । 

‘उहाँ पार्टीको कार्यक्रममा उपस्थित हुन जानु भएको रहेछ । त्यो कार्यक्रम सकेर बाहिर आउँदा आन्दोलनकारीले गाडीबाट ओरालेर आगो लगाएछन्,’ एआईजी थापाले लोकान्तरसँग भने, ‘अन्य विषय के भएको हामी अनुुसन्धान गरिराखेका छौं ।’

एआईजी थापाले आन्दोलनकारीहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । त्यसपछि भीड तिरबितर भएको थियो । तर एउटा भीडले ग्वोर्कोभन्दा केही उत्तरतर्फ गुडिरहेको मन्त्रीको गाडीमा एक्कासि आक्रमण गरेर आगो लगाएको दाबी उनले गरे । 

‘आन्दोलनकारीहरू तितरबितर भएर तल भाग्दै रहेछन् । मन्त्रीको गाडी देखेपछि उहाँहरूलाई ओरालेर पहिला टायरको हावा पुस्काएछन् । त्यसपछि आगो लगाएछन् । त्यसबेलासम्म भीड नियन्त्रण गर्न लागेको प्रहरीले सुरक्षा दिन नभ्याएको देखियो,’ एआईजी थापाले भने ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पनि भीडलाई भगाउन खोज्दा एक समूहले आगजनी गरेको बताए । 

‘भीडलाई नियन्त्रण गर्न खोज्दा भागेका एक समूहले आगो लगाएको देखिन्छ तर कसरी सुरक्षाकर्मीको आँखा पुगेन हामी अनुसन्धान गर्दैछौं,’ डीआईजी कडायतले लोकान्तरसँग भने । 

तर मन्त्रीको गाडीमा आगजनी भएकोभन्दा केही मिनेटअगाडि आन्दोलनकारीले त्यही ठाउँमा बा५ख ८७१७ नम्बरको बसमा तोडफोड गरिराखेका थिए । त्यो अवस्थामा सडकमा आएका मन्त्रीको गाडीलाई सुरक्षा दिन प्रहरी चुकेको देखिएको छ ।

यातायातमन्त्री ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।

मन्त्री ज्वालाले उनी चढेको गाडी जलाएको विषयमा जानकारी नभएको बताएका छन् । उनले गाडी रोकेको र त्यसपछि हावा फुस्काएको मात्र आफूले देखेको बताए । ‘हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कारण छैन । गोली चलेको, मान्छेलाई गोली लागेको, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएकाजस्ता धेरै कुरा त मलाई त जानकारी नै छैन,’ मन्त्री ज्वालाले भने । 

आलोचनाबाट बच्न समिति

सुरक्षा कमजारीको आलोचनाबाट बच्नका लागि गृह मन्त्रालयले छानबिन समितिले बनाएको छ । समितिमा ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पनि छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा बनेको समितिमा सहायक प्रजिअ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

null

सुरक्षा निकायमा जिल्ला प्रशासन कार्यालय र प्रहरीको मुख्य भूमिका हुन्छ । गृहले तीनै निकायका दोस्रो व्यक्तिहरूलाई समेटेर समिति बनाइएको छ । यसले छानबिनमा निष्पक्ष र सत्यतथ्य अनुसन्धान बाहिर आउनेमा शंका देखिने विज्ञहरूको तर्क छ ।

ईपीएसको आन्दोलनमा २ जना प्रदर्शनकारीको मृत्यु नै भएको छ । प्रर्दशनकारीलाई अश्रुग्यास प्रहार गर्दा २ जनाको मृत्यु भएको हो । सानो संख्यामा भएका आन्दोलनकारीका गतिविधिबारे आकलन गर्न नसक्दा २ युवाको अनाहकमा ज्यान गएको विश्लेषण गरिएको छ । 

दैलेख घर भएर ललितपुरमा बस्दै आएका सुदन राउतको मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नवराज कार्कीले बताएका छन् । उनको छातीमा अश्रु ग्याँसले लाग्दा किष्टमा मृत्यु भएको हो । अर्का मृत वीरेन्द्र शाह हुन् । उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्