
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) भन्नेबित्तिकै मानिसहरूको दिमागमा आउने तस्वीर हो, अनुसन्धानमा अब्बल र जटिल अपराधको अनुसन्धान गर्न सक्ने निकाय ।
अझ आम मानिसहरूले नेपाल प्रहरीकै अंगभन्दा पनि अनुसन्धान गर्ने छुट्टै र बलियो निकायको रूपमा चिन्दछन् ।
तर, पछिल्लो समय सीआईबीले आफ्नो त्यो साख बचाउन सकेको देखिँदैन । प्रहरीको विशिष्ट युनिटका रूपमा स्थापना भएको सीआईबीको साख गिर्दै गएको पछिल्ला घटनाक्रमहरूले देखाउँछन् । हाल सीआईबीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हाल्दै आएकी छन् ।
पछिल्लो समय सीआईबी चुकेका केही घटनालाई उदाहरणका रूपमा हेरौं :
घटना १
सीआईबीले नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’अन्तर्गत साउन २५ गते महोत्तरीको पिपरा गाउँपालिका– ८ का रञ्जितकुमार यादवलाई पक्राउ गर्यो ।
सीआईबीले नक्कली डाक्टर भन्दै उनलाई पक्राउ गरेको थियो । तर, ३ दिनपछि उनी सक्कली डाक्टर भएको तथ्य खुल्यो । नाम मिलेको भरमा सक्कली डाक्टरलाई पक्राउ गरेको विषय निकै गम्भीर थियो ।
छुटेपछि रञ्जितले आफू नक्कली डाक्टर नभएको भन्दै प्रमाण देखाउन खोज्दा पनि प्रहरीले जबरजस्ती पक्राउ गरेको बताएका थिए ।
यस प्रकरणमा सीआईबी मेडिकल काउन्सिललाई दोष देखाउँदै उम्किएको थियो । तर, सामाजिक सञ्जालमा सीआईबीको कामको चर्को आलोचना भएको थियो ।
घटना २
असार २४ गते तत्कालीन सञ्चार सचिव कृष्णबहादुर राउतलाई काठमाडौंबाट जनकपुर उड्न लागेका बेला सीआईबीको टोलीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्यो । ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।
२०६६/६७ मा बालुवाटारको सरकारी निवासमा पुग्ने बाटो विस्तारको योजना कार्यान्वयन गर्दा राउत यो प्रकरणमा जोडिएको सीआईबीले दाबी गरेको थियो ।
२०६६ चैत २९ र २०६७ वैशाख ३१ मा मन्त्रिपरिषद्ले बाटो विस्तारको योजना स्वीकृत गरेपछि कार्यान्वयन गर्दा अनुसूची फेरबदल गर्नमा राउतको भूमिका देखिएको आरोप सीआईबीले लगाएको थियो ।
त्यति बेला उनले भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतको हैसियतमा शुरू टिप्पणी फाइल उठाएका थिए । अख्तियारले चार वर्षअघि प्रमाण नपुगेको भन्दै राउतविरुद्ध मुद्दा नचलाउने निर्णय समेत गरेको थियो । तर, सीआईबीले थप प्रमाणविनै उनलाई पक्राउ गरेको थियो । पछि सर्वोच्च अदालतले राउतलाई तत्काल छाड्न आदेश दियो ।
पक्राउ नै गरिएका व्यक्ति छाड्नु मात्र परेन सीआईबीले पर्याप्त प्रमाण जुटाएर उनीविरुद्ध अभियोजन दर्ता गराउन समेत सकेन । यो प्रकरणमा पनि सीआईबीको कमजोरी उदाङ्गिएको छ ।
घटना ३
साउन २५ गते नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई सीआईबले गोल्फुटारमा रहेको उनकै निवासबाट नियन्त्रणमा लियो । शर्मालाई लिखत कीर्तेमा पक्राउ गरिएको थियो ।
संविधानको धारा १०३ मा अधिवेशन चलेका बेला फौजदारी अभियोगबाहेक अन्यमा संघीय सांसदलाई पक्राउ गर्न नपाउने उल्लेख गरिएको छ । पक्राउ गर्नुअघि सभामुखलाई जानकारी हुनुपर्छ । तर, सीआईबीले त्यसलाई लत्याउँदै सांसद शर्मालाई पक्राउ गरेर मात्र जानकारी गराएको थियो ।
पक्राउ गरे पनि तत्कालै जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ, तर सीआईबीले ढिला जानकारी गराएको थियो । अर्को दिन जिल्ला अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न भन्दै छाडेको थियो ।
सीआईबीले अहिलेसम्म पनि उनीमाथि अनुसन्धान गरेर मुद्दा बुझाएको छैन । पक्राउ गरेपछि समय अवधिभित्र अनुसन्धान गरेर अदालतमा बुझाउनुपर्ने व्यवस्था छ । तर, सीआईबीले त्यसपछि केही अनुसन्धान अगाडि बढाएको छैन ।
यति मात्र होइन, सीआईबीले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट (भेप) प्रकरणमा मुछिएका चिनियाँ नागरिकसँग रहेको भन्दै अभियोग प्रतिवेदनमा चार्ट नै उल्लेख गरेको थियो । तर, त्यसलाई पुष्टि गर्न नसकेपछि उनलाई पक्राउ गर्न सकेको छैन । कृष्णबहादुरका छोरा राहुल महरा भने पक्राउ परेका छन् ।
२०७९ माघ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शंकास्पद लागेपछि सुटकेशभित्र रहेको ७३० थान इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको थियो । पछि राखिएको स्थानबाटै भेप साटफेर भएपछि त्यसमा सुन रहेको तथ्य खुलेको थियो ।
सीआईबीको काम उत्साहजनक छैन– धीरजप्रताप सिंह, निवर्तमान आईजीपी
विशिष्ट अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को काम पछिल्लो एक वर्षमा उत्साहजनक नदेखिएको निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बताएका छन् ।
‘सीआईबीको जिम्मेवारीको प्रकृतिका अनुसार जति काम हुनुपर्थ्यो, त्यति भएको देखिँदैन,’ निवर्तमान आईजीपी सिंहले लोकान्तरसँग भने, ‘सामान्य र सन्तोषजनक मात्रै भन्नु पर्छ ।’
सीआईबी अन्तरदेशीय, विशिष्ट र जटिल प्रकारको अनुसन्धान गर्ने निकाय भएकाले सामान्य विषयमा अल्झिन नहुने उनले बताए ।
छिमेकी राष्ट्रहरूसँगको समन्वयमा सीमा वारपारमा हुने अपराध अनुसन्धानमा समेत सीआईबीको ध्यान केन्द्रित हुनु आवश्यक रहेको उनको भनाइ छ ।