×

NMB BANK
NIC ASIA

वाम एकतामाथि विश्लेषण : भारतसँग बदला कि नयाँ नेपालको प्रवेशद्वार ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

२०७३ साल असारकोे दोस्रो साता । तत्कालीन प्रधानमन्त्री केपी ओली र उनको सरकारलाई सघाइरहेको माओवादी केन्द्रबीच असन्तुष्टिका स्वरहरू बाक्लिरहेका थिए । केपी ओलीविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सार्वजनिक कार्यक्रमा रुखो शैलीमा प्रस्तुत हुँदै थिए । त्यही सेरोफेरामो प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भयो ।

दुइ नेताबीचको भेट लामो चलेन तर छोटै भेटमा अर्थपूर्ण कुराकानी भयो । उक्त भेटबारे परिचित एक एमाले नेताका अनुसार त्यही भेटमा ओलीले प्रचण्डलाई वचन दिए – ‘अबको पाँच महिना (२०७३ साल कात्तिक) मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्नेछन् । उनको भ्रमण सकिएपछि म पनि चीन जान्छु । फर्केर आउनासाथ सत्ता तपाईंलाई सुम्पन्छु । यसमा तपाईं ढुक्क भए हुन्छ । अबको प्रधानमन्त्री तपाईं हो । हामी तपाईंलाई सहयोग गर्छौं ।’

ती एमाले नेताका अनुसार ओलीको उक्त आश्वासनपछि प्रचण्ड हँसिलो मुद्रामा बालुवाटारबाट निस्केका थिए । यति भनेपछि प्रचण्डमा बाक्लिँदै गएको आफूप्रतिको तिक्तता कम हुन्छ भन्नेमा ओली पनि ढुक्क हुँदै गए ।
प्रचण्डसँग उक्त कुराकानी भएको करीब दुईसाता अर्थात् असार २९ गते एकाबिहानै माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री ओलीसँग अति जरूरी कुराकानी गर्नुप–यो भन्दै भेटका लागि समय मागे ।

ओलीले बिहान साढे १० बजे सिंहदरबारमा भेट्न सकिने जवाफ दिए । जनार्दन शर्मा लगायत माओवादीका तीन नेता साढे १० मै सिंहदरबार पुगे र ओलीलाई एक पत्र दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लियौं भनेर जानकारी गराए ।

यी सबै परिघटनासँग परिचिति ती एमाले नेताका अनुसार ‘पत्र बुझ्दै ओलीले माओवादी नेताहरूलाई ‘ल, तपाईंहरूलाई अबको यात्राका लागि शुभकामना छ’ भनेका थिए । ओलीले तत्काल आफ्ना निकटस्थहरूलाई आफ्नै कार्यकक्षमा बोलाए । माओवादी नेताहरूले ओलीलाई भेटेर सरकारबाट बाहिरिने (सरकारलाई दिएको समर्थन फिर्ता लिने) पत्र बुझाएको विषय केही बेरमै व्यापक भयो । एकाएक राजनीति तात्यो । बाहिर विभिन्न टिप्पणी शुरु भए तर भित्र एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले माओवादी भड्काउने र आफू नेतृत्वको सरकार ढाल्ने खेलाडीका बारेमा गम्भीर समीक्षा गरे ।

असार २९ गते आफू निकटहरूसँगको उक्त बैठकमा ओलीले माओवादी त केवल गोटी बनेको तर आफ्नो सरकार ढाल्ने खेलाडी अरू नै (स्पष्ट बुझिने भाषामा भारत) भएको विश्लेषण सुनाए । भारतको उक्साहटमा नेपाली काँग्रेस र माओवादी केन्द्रका केही नेताहरू मिलेर आफू नेतृत्वको सरकार ढालेको ओलीको बुझाइ थियो ।

आफू नेतृत्वको सरकार ढाल्न भारतले मध्यस्थकर्ताका रूपमा नेपालका केही उच्च सरकारी अधिकारी पनि प्रयोग गरेको एमाले नेताहरूको विश्लेषण रह्यो । विश्वस्त स्रोतका अनुसार त्यही बैठकमा ओलीले आफूलाई ‘डिस्ग्रेसफुल एक्जिट’ अर्थात् ‘अपमानपूर्वक घर फर्काउने’ हरूलाई दह्रै जवाफ दिनुपर्ने (बदला लिएरै छोड्ने) दृढता प्रकट गरेका थिए ।

२०७४ असोज १७ (मंगलवार) को एमाले–माओवादी–नयाँ शक्ति चुनावी तालमेल र चुनावपछि वाम एकता गर्ने घोषणासभालाई धेरैले अनेक कोणबाट विश्लेषण गरिरहेका छन् । नेपाल जस्तो गरिब मुलुकमा उस्तै प्रकृतिका धेरै पार्टी रहिरहनु भन्दा पार्टीहरु मिलेकै उचित देखिन्छ । वाम एकता नयाँ नेपालको प्रवेशद्वार हो या आवेग र आक्रोशको परिघटना ले निम्त्याएको दृश्य हो, आगमी कदमले प्रस्ट्याउने छ ।

नेपाली राजनीतिक घटनाक्रमसँग गहिरो चासो राख्ने र सूक्ष्म ढंगले व्याख्या गर्नेहरूले असोज १७ को घोषणालाई ओलीको आफूलाई ‘अपमानपूर्वक’ घर फर्काउनेहरूसँग बदला लिएरै छोड्ने १५ महिना पुरानो दृढता कार्यान्वयनमा आएको दिनका रूपमा व्याख्या गरिरहेका छन् ।

असोज १७ को चुनावी तालमेल र वाम एकता घोषणा सभाका अनेकौं भित्री पाटा बिस्तारै खुल्दै जालान् । वाम एकताका प्रभाव र त्यसबाट निस्कने नतिजा आगामी दिनमा स्पष्ट हुनेछन् । कम्युनिस्ट पार्टीहरूबीचको चुनावी तालमेलले ल्याउने नतिजा अबको चुनावपछि देखिनेछ ।

चुनावपछि कम्युनिस्ट पार्टीहरूबीच एकीकरण हुने नहुने भन्ने पनि समयले छर्लङ्ग पार्नेछ । तर मंगलवारको उक्त चुनावी तालमेल र वाम एकता घोषणासभाबाट तत्कालका लागि सबैभन्दा बढी लाभान्वित नेकपा एमाले भएको छ । उक्त पार्टीका अध्यक्ष केपी ओली भएका छन् । नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन जसरी पनि तोड्ने एमालेको ठूलो रणनीति सम्बोधन भएको छ, सफल भएको छ । एक किसिमले एमालेलाई यसले ठूलो राहत मिलेको हुनुपर्छ ।

माओवादी र काँग्रेस गठबन्धन लम्बिँदै गयो भने आफू लामोे समयसम्म सरकारबाहिरै बस्नुपर्ने, सत्तापक्षबाट पेलिँदै, हेपिँदै र पाखा लाग्दै जानुपर्ने एमाले नेताहरूको विश्लेषण र कतिपयका शब्दमा त्यस्ता सम्भावित नियतिबाट मुक्ति मिलेको एमालेको बुझाइ छ ।

असोज १७ को वाम एकता घोषणासभाले एकैपटक तीन तीर सोझ्याएको छ – पहिलो यसले भारतसँग बदला लिएको छ । दोस्रो, यसले नेपाली काँग्रेसलाई छाँगाबाट खसेझैं पारिदिएको छ, काँग्रेसलाई अहिलेलाई एक्लो बनाइदिएको छ । र तेस्रो तर अत्यन्तै चलाखीपूर्ण तरिकाले माओवादी केन्द्रलाई भयंकर ठूलो चेपुवामा पारिदिएको छ, अर्थात् माओवादीलाई निल्नु न ओकल्नुको अवस्थामा पु–याइदिएको छ । माओवादीलाई आफ्नो साथ छोड्न पनि नसक्ने र तर उसले भनेजस्तो हुन पनि नसक्ने अवस्थामा पु–याइदिएको छ ।

ओली नेतृत्वको सरकारलाई ढाल्न खेल खेलेको आरोप लागेको छिमेकी मुलक भारत असोज १७ को कदमबाट तीव्र असन्तुष्ट बनेको यस लेखकसँग सम्पर्कमा आएका सूत्रहरूले पुष्टि गरेका छन् ।

नेपाली राजनीतिमा जेसुकै घटना हुँदा त्यसमा भारतको हात रहेको देख्नेको संख्या नेपाल र बाहिर ठूलो छ । वाम एकताले भारतमा ठूलै कम्पन गएको सूत्रहरूको दाबी छ । यस लेखकसँग सम्पर्कमा आएका साउथ ब्लकनिकट एक अधिकारीका अनुसार, एमाले–माओवादी सम्भावित चुनावी तालमेल रोक्न असोज १५ कै दिन नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले प्रयास गरेकै हुन् । उनले प्रचण्डलाई भेटेर ‘तपाईंले ठीक गर्दै हुनुहुन्न, एकपटक पुनर्विचार गर्नुहोस्’ भनेका थिए ।

ओली सरकार ढालेपछि पहिला प्रचण्ड नेतृत्वको सरकार बनाउन सहयोग गरेको र अहिले शेरबहादुर देउवाको नेतृत्वमा सरकार चलाइरहेको दल नेपाली काँग्रेसलाई यो घोषणाले ठूलै झड्का दिएको हुनुपर्छ । काँग्रेस नेताहरूले भन्न त ‘वाम एकता भएर ठीकै भयो’ भनिरहेका छन् । तर भित्रभित्रै उनीहरू अबको चुनावमा एमाले र माओवादी मिलेर कदाचित् दुई तिहाइ ल्याइहाले भने आफूहरू भित्तामा पुग्ने, नेपाली काँग्रेसको हविगत भारतीय काँग्रेसको जस्तो हुने त्रासमा देखिन्छन् ।

उता नेकपा माओवादी केन्द्र दोस्रो संविधानसभा निर्वाचन र स्थानीय निर्वाचनपछि निराश बन्दै गएको स्थिति थियो । अब हुने प्रदेश र केन्द्रको चुनावमा एक्लै भिड्दा पछारिने छनक उसले पाइसकेको थियो । प्रदेश र केन्द्रको चुनावमा एक्लै चुनाव लड्दा बढीमा १० देखि १२ सिट मात्र जित्न सकिने सूचना माओवादीका शीर्ष नेताहरूकहाँ पुगिसकेको छ ।

माओवादी केन्द्रलाई कुनै न कुनै पार्टीको टेको आवश्यक भइसकेको थियो । स्थानीय चुनावमा उसले नेपाली काँग्रेससँग तालमेल गर्‍यो । तर काँग्रेस कार्यकर्ताले हँसिया र हथौडा चुनाव चिह्नमा अपेक्षा गरे अनुसार भोट हालेनन् ।

अर्कोतर्फ नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल लगायतका नेताहरू माओवादीसँगको सम्बन्धलाई लम्ब्याउन नहुनेमा जोड दिइरहेका थिए । त्यसले पनि माओवादी केन्द्र काँग्रेससँग सशंकित बन्दै गइरहेको थियो । यही बेला नेकपा एमालेले माओवादीलाई कि काँग्रेस रोज कि एमाले रोज भनेर दबाब दियो ।

अन्ततः माओवादीले एमाले रोजेको छ । माओवादी र एमालेबीच विगतमा थुप्रै तिक्ततापूर्ण घोचपेच नभएका होइनन् । यी दुइ पार्टीका कार्यकर्ताबीच अहिले पनि थुप्रै समस्या छन् । भोलिका दिनमा एमालेसँग चुनावी तालमेल गर्दा या पार्टी नै एकीकरण गर्दा आफूले भनेजस्ता एजेन्डा लागू गराउन सकेनन् भने माओवादीको भविष्य के हुने ? न एमालेलाई छोड्नु, न काँग्रेसले पत्याउनु । त्यसैले एमालेसँगको अहिलेको उसको एकताले माओवादी चेपुवामा परेको विश्लेषण गर्ने पनि छन् ।


जुन काम गरेर देउवाले प्रचण्डलाई खुशी पारे त्यही काम बन्यो बाधक


विश्वस्त राजनीतिक सूत्रहरूका अनुसार एमाले अध्यक्ष ओली र उक्त पार्टीका शीर्ष नेताहरू खासगरी भरतपुरको चुनावी काण्डपछि काँग्रेस र माओवादीसँग बढी चिढिएका थिए । प्रचण्डपुत्री रेणु दाहाललाई जिताउने षड्यन्त्रकै रूपमा गन्दागन्दैको अवस्थामा मतपत्र च्यातिएको एमालेको विश्लेषण रह्यो, जुन स्वाभाविक विश्लेषण पनि थियो ।

भरतपुर प्रकरणका सम्बन्धमा सर्वोच्च अदालतमा रिट प–यो । एमाले नेताहरू भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान होइन, मतगणना हुनुपर्छ भन्नेमा थिए । एक एमाले नेताका अनुसार, ओलीले प्रधानमन्त्री देउवालाई भेटेर च्यातिएका मतपत्रलाई बदर घोषणा गरेर पुनः मतगणना गरिएपछि आउने परिणामलाई मान्न आफ्नो पार्टी तयार रहेको तर पुनः मतदान गराइए त्यो मान्य नहुने कडा र गम्भीर सन्देशसहितको चेतावनी दिएका थिए ।

भरतपुर चुनावी काण्डको विषयमा देउवासँगको भेटमा ओलीले भनेका थिए – ‘पुनः मतदान गराउने काम भयो भने जसरी तपाईंहरूले कुनै पार्टीलाई तानेर ल्याएर सरकार बनाउनुभयो त्यसो गर्न एमालेलाई पनि आउँछ, याद राख्नुहोला ।’ ओलीको त्यो संकेत आफू नेतृत्वको सरकारबाट माओवादीलाई फिर्ता गराउनमा काँग्रेसले जुन खेल खेल्यो, त्यस्तै खेल खेल्न एमालेलाई पनि आउँछ भन्ने थियो । अर्थात् कुनै पनि बेला देउवा नेतृत्वको गठबन्धन सरकारलाई संकटमा पारिदिन सक्छौं भन्ने स्पष्ट सन्देश ओलीले दिएका थिए । उनको त्यो चेतावनीलाई देउवाले गम्भीर रूपमा नलिएको जानकार सूत्रको बुझाइ छ ।

सूत्रहरूका अनुसार, नेकपा एमाले भरतपुर–१९ मा पुनः मतदान गराउने पक्षमा सर्वोच्चको आदेश नआओस् भन्ने चाहन्थ्यो । तर सर्वोच्चले मतगणना होइन, मतदान गर्न आदेश दिएपछि एमाले अदालत, प्रधानमन्त्री देउवा र उनको दल नेपाली काँग्रेससँग थप चिढिएको जानकारहरूको बुझाइ छ ।

भरतपुर चुनावी काण्डको परिस्थिति नै यस्तो बनिदियो जसले एकैपटक चारैतिर ‘फायर’ खोल्यो । देउवा भरतपुरमा पुनः मतदान भयो भने प्रचण्डपुत्रीलाई जिताउन सकिने र पुत्रीले जितेपछि प्रचण्ड खुशी हुने अनि उनको साथ लामो समयसम्म काँग्रेसलाई रहिरहने विश्वासमा थिए । त्यसैले उनी भरतपुर–१९ मा पुनः मतदान हुनु दुई दिनअघि नारायणघाट–मुग्लिङ खण्डमा निर्माणाधीन सडकको निरीक्षण गर्ने बहानामा चितवन पुगे । देउवाले सडकको निरीक्षण पनि गरे । तर त्यो बहाना मात्र थियो । खासमा उनी चितवन पुगेर नेपाली काँग्रेसका प्रभावशाली स्थानीय नेता, कार्यकर्तालाई भेट्ने र जसरी पनि प्रचण्डपुत्रीलाई जिताउनुपर्ने उर्दी जारी गर्ने उद्देश्यले त्यहाँ पुगेका थिए । उनले त्यहाँ पुगेर त्यही गरे ।

चुनावकै दिन नेपाली काँग्रेसमा देउवा गुटका एक प्रभावशाली नेता मानिने विमलेन्द्र निधिले ट्वीट गर्दै ‘भरतपुर मेयरमा रेणुले जित्नुपर्छ, काँग्रेसको मान्यता यही हो । बाँकी विश्लेषण गर्दै गरौंला’ भने । अब एमालेरहित नेपाल बनाउनुपर्छ भनेर पटकपटक भाषण गर्दै हिँडेका निधिको त्यो टवीट्ले भरतपुर प्रकरणमा काँग्रेसको चाहनालाई सतहमा ल्याइदिएको थियो । त्यसबाट एमाले नेताहरू थप चिढिएको स्पष्ट हुन्थ्यो ।

नभन्दै प्रचण्डपुत्री रेणुले भरतपुर महानगरपालिकाको मेयर जितिन् । पुत्रीलाई जिताएपछि प्रचण्ड आफू र काँग्रेससँग खुशी भएको देउवाको विश्लेषण रह्यो । तर त्यो चुनावलगत्तै प्रदेश र केन्द्रका चुनावमा वाम पार्टीबीच तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्ने विषयमा प्रचण्डले एमाले नेताहरूसँग छलफल र सम्पर्क बाक्लो बनाएको देउवाले शायद सूचना पाएनन्, पाएपनि गम्भीर रूपमा लिएनन् या प्रचण्डप्रति देउवाले बढी नै विश्वास गरे ।

भरतपुर प्रकरणमा देउवा र नेपाली काँग्रेसका सबै घटनालाई नेकपा एमाले र उससम्बद्ध नेताहरूले नजिकबाट नियालिरहेका थिए । मतगणना गर्दागर्दै मतपत्र च्यात्ने र त्यसको बहानामा फेरि चुनाव गराउँदा नराम्रो नजिर बस्ने भन्दै एमाले नेताहरूले लिएको अडानमा मिडिया र नागरिक समाजले पनि साथ दिइरहेको थियो । तर पनि नतिजा देउवा र प्रचण्डले चाहेजस्तै आयो ।

भरतपुर प्रकरणमा के देखियो भने जुन काम गरेर देउवा प्रचण्डलाई खुशी पारें भनेर मख्ख परिरहेका थिए, त्यही कामकै कारण एमाले आफूसँग थप चिढिएको उनले या त त मेसो पाउन सकेनन्, या त्यतापट्टि ध्यानै दिएनन् । शायद १७ असोजको कदमबाट देउवाले यस विषयमा पनि गम्भीर समीक्षा गर्दै होलान् – जुन काम गरेर मैले प्रचण्डलाई गुन लगाउन खोजें, उनको साथ लम्ब्याउन खोजें आखिर त्यही काम नै आफूबाट प्रचण्डलाई अलग गराउने प्रमुख कारण बन्यो ।

माओवादीको अस्तित्व सकिएको हो ?

माओवादीका केही नेताले आफ्नो पार्टीलाई प्रचण्डले एमालेमा विलय गराउन लागेको भनेर सार्वजनिक रूपमै विरोध जनाइरहेका छन् । उनीहरूको भनाइ छ – एमालेसँग मिल्नु नै थियो भने त्यत्रो त्याग र संघर्ष जरूरी थियो ?’
२०५२ सालअघि पनि एमाले थियो ।

०५२ सालमा माओवादीले युद्ध शुरु गर्नुअघि नै एमालेसँग मिलेको भए भइहाल्थ्यो नि । उससँग मिल्नु नै थियो भने किन जनयुद्ध गरेको ? किन रगतको खोला बगाएको ? किन १७ हजार मानिसको ज्यान जाने गरी युद्ध मच्चाएको ? अहिले आएर एमालेसँग मिल्नु थियो भने माओवादी पार्टी किन जन्माएको ? जन्माएर के अर्थ भो ? १० वर्ष सशस्त्र युद्ध गरेर के फाइदा भो ? कार्यकर्तामाझ माओवादी पार्टी जन्माउँदा के कस्ता आश्वासन दिइएको थियो ? ती पूरा भए ? एमालेसँग पार्टी एकीकरण गर्नुअघि माओवादीले आफ्ना लाखौं कार्यकर्ताको मनोभावना बुझ्यो ? बुझ्ने प्रयास गर्‍यो ? रायसुझाव लियो ?

पछिल्ला वर्षहरूमा माओवादी पार्टी फुटेर चार टुक्रा भएको छ । सबै जुटेर चुनावमा जाँदा माओवादी झण्डै झण्डै काँग्रेस एमालेकै हाराहारी उभिनसक्ने कतिपय विश्लेषण गर्छन् । यस्तो अवस्थामा माओवादीबाटै टुक्रिएर गएका वैद्य, विप्लव, बाबुरामलाई मिलाएर पार्टी एकीकरण गर्नेतर्फ नलागी प्रचण्डले किन एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरे ?

यी प्रश्न स्वाभाविक रूपमा प्रचण्ड र माओवादीका शीर्ष नेताहरूमाथि तिनका स्थानीय तहका तमाम नेता कार्यकर्ताले तेर्स्याएका छन् । ‘पोलिटिक्समा इथिक्स’ अर्थात् राजनीतिमा नैतिकता हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता राखिन्छ । यदि त्यसो हो भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र शीर्ष नेताहरूले यी प्रश्नको जवाफ दिनुपर्ने आवश्यकता ठान्छन् कि ठान्दैनन् ? कतिपयका विश्लेषणमा एमालेसँगको एकता दिगो हुने नहुने विषय यस्ता प्रश्नका उत्तरमा भरपर्ने निश्चित छ ।

यस्तै प्रश्न एमालेप्रति तेर्स्याउनेको संख्या पनि ठूलो छ । एमालेलाई के पुगेको थिएन, छैन र माओवादीसँग मिल्नुपर्‍यो ? माओवादीसँग मिल्दा कति बढी फाइदा हुन्छ ? के त्यस्तो गम्भीर समस्या आइपर्‍यो जसका कारण एमालेले माओवादीको साथ लिनुपर्‍यो ? वा के त्यस्तो सम्झौता बनेको छ, जसले एमाले र माओवादीलाई एक ठाउँमा उभ्याउन पुग्यो ? के भारत र काँग्रेससँग बदला लिन मात्र यत्रो नाटक रचिएको हो ? वा साँच्चिकै वाम एकताबाट राजनीतिक स्थिरता ल्याएर मुलुकलाई समृद्धिको पथमा डोहो–याउन र नयाँ नेपालको प्रवेशद्धारका रुपमा मुलुकको राजनीतीलाई अघि बढाउन एमाले अघि बढेको हो ?

के एमालेका लाखौं कार्यकर्ता र नेता माओवादीलाई ४० प्रतिशत सीट छोड्न तयार रहलान् ? जसले वर्षौंदेखि आफ्नो सिंगो जीवन एमालेमा समर्पण गरे, एमालेका लागि बलिदान दिए, आज आएर आफू चुनाव लडेर नेता हुने बेला अरू पार्टीबाट आएको व्यक्तिलाई त्यो अवसर छोडिदिन एमालेका लाखौं नेता कार्यकर्ता तयार रहलान् ? यस्तै समस्या माओवादीका स्थानीय नेता तथा कार्यकर्तामा पनि देखिनसक्छ ।

यी प्रश्न अहिले पेचिला बनेका छन् । यी सम्भावित प्रश्नको समीक्षा गरेरै एमाले र माओवादीका नेताहरूले यस्तो कदम उठाए या यी प्रश्नको समीक्षा हुनै बाँकी छ ? सम्भावित वाम एकता टिक्ने नटिक्नेमा यी प्रश्न प्रधान भइदिए भने ?

कस्तो आउला अबको चुनावी परिणाम ?

एमाले–माओवादी–नयाँशक्तिको चुनावी तालमेलले अबको चुनावबाट कस्तो नतिजा ल्याउला ? के यो तालमेलले माओवादी र एमालेका स्थानीय तहका नेता कार्यकर्ताहरू खुशी छन् ? के एमाले नेता कार्यकर्ताले माओवादीलाई र माओवादीका नेता कार्यकर्ताले एमालेलाई भोट देलान् ? के चुनावपछि वाम पार्टीहरूबीच एकता होला ? धेरैको मनमा उब्जिएका अहिलेका प्रश्न यिनै हुन् । कतिपय विश्लेषण र टिप्पणी परिस्थितिमा पनि निर्भर गर्छन् ।

स्थानीय तहको काँग्रेस–माओवादीबीचको चुनावी तालमेलमा अपेक्षाकृत नतिजा देखिएन । माओवादी कार्यकर्ताले रुखमा र काँग्रेसीहरूले हँसिया हथौडामा दिल खोलेर भोट हालेको देखिएन । कतै एमाले–माओवादी चुनावी तालमेलमा पनि त्यस्तै परिदृश्यहरू दोहोरिने त हैनन् भनेर प्रश्न गर्ने पनि धेरै छन् ।

गाउँगाउँमा माओवादीप्रतिको आक्रोश अहिले पनि सुनिन्छ । उतिबेला माओवादीले दिएका दुःख, यातना, पीडाको बदला चुनावका बेला लिन्छौं भन्नेको संख्या अहिले पनि सुनिन्छ गाउँमा ।

पहिलो संविधानसभा निर्वाचनमा ठूलो पार्टी बनेपनि त्यसपछिका निर्वाचनमा माओवादीले हार बेहोर्नुमा उसले जनयुद्धताका गराएका घटनालाई मुख्य कारण मान्नेको संख्या पनि सानो छैन । यस्तो अवस्थामा त्यही पार्टीलाई बोकेर हिँड्दा कतै एमाले कायकर्ताको मनस्थिति पनि परिवर्तन हुने र एमाले माओवादी दुवैलाई भोट नदिने अवस्था आउने त होइन भन्नेसम्मका टिप्पणी सुनिन थालेका छन् ।

तीन वाम पार्टीबीचको चुनावी तालमेलले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकिने ती पार्टीसँग आबद्ध नेताहरूको विश्वास देखिन्छ । तर स्थानीय तहमा विद्यमान माओवादीप्रति जनताको आक्रोश, एमाले र माओवादी कार्यकर्ताबीचको पुराना तिक्ततालगायत पक्षले पनि चुनावमा निर्णायक भूमिका खेल्न सक्छन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति

अबको निर्वाचनमा तालमेल गरेर दुई तिहाइ बहुमत ल्याउने, दुई तिहाइले संविधान संशोधन गर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या कार्यकारी राष्ट्रपतीय पद्धतिमा जाने विषयमा सहमति बनेकाले एमाले र माओवादीका नेताहरूले चुनावी तालमेल र पार्टी एकीकरणको प्रयास थालेको खबरहरू आइरहेका छन् । तर एमालेकै कतिपय नेताहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र कार्यकारी राष्ट्रपतिका विषयमा सहमति भइनसकेको बताएका छन् ।

अबको चुनावबाट वाम पार्टीहरू दुई तिहाइ बहुमत ल्याउन सफल भए भने सम्भवतः माओवादी नेताहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या कार्यकारी राष्ट्रपतिका लागि दबाब दिनेछन् ।

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा बोल्दै प्रचण्डले केपी ओलीलाई गणतन्त्र र संघीयताको विरोधी भएको आरोप लगाएका थिए । प्रचण्डले भन्न सक्नुपर्छ – उनले संसदमा लगाएको त्यो आरोप गलत थियो । होइन भने प्रचण्डले गणतन्त्र र संघीयता पनि स्वीकार नगर्ने ओली र उनको पार्टीले भोलिका दिनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति स्वीकार गर्छन् र त्यो जिम्मेवारी आफैंलाई दिन्छन् भन्ने निष्कर्षमा कसरी पुगे ? आधार के देखे ?

एमाले र माओवादीका शीर्ष नेताहरूबीच प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या कार्यकारी राष्ट्रपतिका विषयमा कुरा मिलेको हो भने त्यसले अस्थिर राजनीति, भद्रगोल अवस्था, अव्यवस्थित प्रशासनिक पद्धति, विकासको दुरवस्थाबाट निराश बनेका नेपालीहरूमा आशाको सञ्चार चाहिँ जगाउनेछ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x