×

नेकपा एसका दु:ख– नेतृत्वको ‘अक्षमता’ र अस्तित्वको लडाईँ

काठमाडाैं | जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करिब ३ वर्षमा नेकपा एस कसै न कसैको सहारामा भर परेको देखिन्छ । खासमा नेकपा एस नेकपा एमालेबाट फुट्दै गर्दा  र २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता हुँदै गर्दा यसमा आबद्ध नेता कार्यकर्तामा जुन उत्साह थियो, त्यो अहिले रहेको पाइन्न ।

देशमा भएको ३ निर्वाचनपछि त्यो उत्साह १०० बाट घटेर ३० मा आएको देखिन्छ । स्थानीय तहमा नेकपा एसले खासै मत ल्याउन सकेन । सीमित ठाउँमा आफ्नो बिउ जोगाउनेबाहेक नेकपा एसले आफ्ना उम्मेदवार जिताउन सकेन, बरु त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले उठाए । 


Advertisment

यता संघीय चुनावमा पनि नेकपा एस कांग्रेस र माओवादीको सहयोगीबाहेक केही बन्न सकेन । विडम्बना, पार्टीले राष्ट्रिय दलको मान्यता समेत पाउन सकेन । कार्यकर्तामा सबैभन्दा बढी दबाब र नैराश्यता यही कारण बढ्न पुग्यो । यसको जीवन भर्न न केन्द्रीय तहका नेताले सके, न त जिल्ला तथा स्थानीय तहका नेताले पार्टी स्थापित गर्न नेतालाई झक्झकाउन नै सके ।


Advertisment

खासगरि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाएर पनि राष्ट्रिय दल बनाउन नसकेको अपजसको भारी बोक्नुपर्‍यो । यसको धेरथोर जिम्मेवारी पदाधिकारी र केन्द्रीय समितिले पनि अवश्य लिनुपर्छ । एमालेबाट विभाजित हुँदै गर्दा विद्रोही पक्षलाई साथ दिने नेता/कार्यकर्ताले छुट्टै, भरिलो र जोशिलो पार्टी बन्ने आशा गरेका थिए ।

यद्यपि, तत्कालीन समयमा एमालेका १० प्रभावशाली नेताले माधवकुमार नेपाललाई साथ नदिएपछि त्यही दिनदेखि नै यो पार्टी ‘रेड जोन’मा परेको विश्लेषण नभएको होइन । 

राष्ट्रिय दल नभएपछि कार्यकर्तामा चरम निराशा 

खासमा एमालेबाट विभाजन भएपछि जुन रफ्तारमा पार्टी नेतृत्वले संगठन विस्तार र कार्यकर्तामा उत्साह भर्न सक्नुपर्थ्यो, त्यो नसकेकै हो । २०७९ को निर्वाचनमा पार्टी गठबन्धनको भरमा पर्दा र गतिलो उम्मेदवारी नदिँदा पार्टी राष्ट्रिय दलको मान्यता पाउन समेत नसक्ने अवस्थामा आइपुग्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताको मूल्याकंनमा नेकपा एस फेल भयो । पार्टीका अध्यक्ष नेपालले पनि कार्यकर्तामा उत्साह भर्न सकेनन्, न त उनले खास भिजन नै दिन सके । जसका कारण भएको जिल्ला कमिटी समेत होलसेलमै एमालेमा प्रवेश गर्नतिर लाग्यो । अन्य जिल्लामा त्यसको प्रभाव पर्‍यो । यस्तो विषम परिस्थितिलाई केन्द्रीय कमिटी र पदाधिकारीले गहिरो समीक्षा र त्यस अनुरूपको रणनीति बनाउन नसक्दा पार्टी ओरालो लाग्ने क्रम झन बढिरह्यो ।

खासमा अहिले जसरी नेपालले अडान र एक्सन लिएको भए त्यसबेला गठबन्धनकै बलमा भएपनि अरू थप सिट जित्न सक्ने अवस्था रहन्थ्यो । हुन त स्थानीय र जिल्ला तहमा पार्टीले व्यवस्थितरूपमा नेता/कार्यकर्ता परिचालन गरेको मात्रै भएपनि समानुपातिक मतले पार्टी राष्ट्रिय दल बन्न सफल हुन्थ्यो, तर गठबन्धनकै भरमा दौडिँदा न प्रत्यक्षमा भनेजस्तो सिट ल्याउन सक्यो, न त समानुपातिक मतले थ्रेसहोल्ड कटाउन सक्यो । निर्वाचनपछि एमालेको नेतृत्वले थ्रेसहोल्ड पनि कटाउन नसक्ने पार्टी भन्दै जिल्ला–जिल्लामा कार्यकर्ता तान्ने र सके जिल्ला कमिटी नै भित्र्याउने काम गर्‍यो । यसले आमकार्यकर्ता हतोत्साहित हुन पुगे । यसको भेउ नेतृत्वले पाउनै सकेन । आफ्नै वरिपरि रहेको घेराबन्दीमा नेतृत्व फस्यो । 

माओवादीको पुच्छर बन्दा धोकै–धोका 

नेकपा एस विभाजनपछि आफ्नो छुट्टै रणनीति र राजनीतिमा लाग्दै लागेन भन्दा पनि हुन्छ । कोटेश्वरमा भन्दा बढी खुमलटारमा माधव नेपालको हिमचिम टिठलाग्दो नै थियो । पार्टी विभाजनको लामो समयसम्म पनि नेकपा एसलाई माओवादीमा मिल्न लाग्यो, मिली नै सक्यो भन्नेसम्मको आरोप लाग्यो । त्यसको प्रमुख कारण माधव नेपाल नै हुन्, किनकि पार्टी नेतृत्वको हिसाबले नेपालले त्यसको जिम्मेवारी लिनैपर्छ । त्यतिसम्म नजिक भएका नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आमनेसामने अवस्थामा छन्, किनकि त्यहीँ निकटताको ख्याल नराखी माओवादी अध्यक्ष प्रचण्डले नेपाललाई पटक–पटक धोका दिए ।  प्रचण्डले नेपाललाई प्रयोगमात्रै गरिरहे । यतिसम्म कि चुनावमा सँगै मिलेर होमिएका दलहरूसँग उनले कुनै छलफल नै नगरी रातारात एमालेसँग गठबन्धन गर्न पुगे । अध्यक्ष नेपाल चिल्लै परे ।  त्यत्रो विभाजनपछि हरेक राजनीतिक गतिविधिमा साथ दिएका अध्यक्ष नेपाललाई प्रचण्डले धोका मात्रै दिएनन्, राजनीतिक बेइमानी नै गरे ।

केही समय एमालेसँग मिलेर सरकार बनाएका प्रचण्ड फेरि कांग्रेस र नेकपा एसको फेरो समाउन आइपुगे ।  माधव नेपालले साथ दिइहाले । त्यसपछि एक वर्ष सरकार चलाएका प्रचण्डले माधव नेपालसँग एक वचनसमेत नसोधी फेरि खुट्टा उचाले । उनले एमालेसँग समीकरण मिलाउँदै नेकपा एसलगायत नेपाली कांग्रेस सबैलाई चिल्लै बनाए । प्रचण्डले यसलाई उथलपुथल भन्दै समीकरणको रक्षा गरे । माधव नेपाल धोकेबाजसँग फेरि सहयात्री बन्न पुगे । उनले तत्काल २ मन्त्रीको नाम लिस्ट प्रचण्डलाई बुझाए । यसरी प्रचण्डले धोकैधोका दिँदा पनि माधव नेपाल किन उनकै सरकारमा बस्न बाध्य छन् त ? यो प्रश्नको सिधा उत्तर हो, उनको पार्टीमा मन्त्री नपाए जुनसुकै बेला पनि  सांसद एमाले प्रवेश गर्ने डर छ । आजभोलि पनि त्यो चर्चा चल्न छोडेको छैन । एमालेले हल्ला चलाइरहेको नै छ नेकपा एसमा पहिरो जाँदैछ । स्याल कराउनु र बाख्रा हराउनु एकै समयमा नहोस् । यो पंक्तिकारको शुभकामना । 

पार्टीको अस्तित्व नै खतरामा

नेकपा एसको मुख्य दुःख भनेकै सांसद कसरी जोगाउने भन्ने हो । कहिले कसको घुर्की त कहिले कसको घुर्कीले नेकपा एसमा जुनसुकै बेला पहिरो जान सक्छ भन्ने शंका व्यक्त भइरहेको छ । नेतृत्वले यसबारे कार्यकर्तालाई र सांसदले नेतृत्वलाई प्रस्ट भन्न नसकेरै कार्यकर्ता दोधारमा छन् । उनीहरू संगठन विस्तारभन्दा पनि नेतृत्वतिरै फर्किरहेको देखिन्छ । यो पार्टीको प्रमुख समस्या हो । यता नेकपा एमालेले गर्ने विभिन्न प्रहारलाई पार्टी नेतृत्वले रोक्न सकेको छैन । साँच्चै भन्ने हो भने एमालेको डरमा आज पनि नेकपा एस रहेको प्रस्ट हुन्छ । एसका कार्यकर्ताको नजर एमालेतिर पर्नु र एमालेले त्यसको प्रचार र हुइँया मच्चाउनु नेकपा एस दुर्घटनातिर उन्मुख छ कि भन्ने भविष्यवाणी गर्न सकिन्छ । यस्तो परिस्थितिका बाबजुद पनि आम कार्यकर्तालाई नेतृत्वले विश्वास दिलाउन नसक्नु र पार्टीको जीवन भर्न नसक्नु नेतृत्वको कमजोरी नै हो । भर्खरै उपनिर्वाचन सकिँदै गर्दा नेकपा एसले एक्लै चुनाव लडेको वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाम २ मा प्राप्त मतले त आमकार्यकर्तामा थप निराशा उत्पन्न भएको छ ।

यसको गम्भीर समीक्षा नेकपा एसले गर्नु जरुरी छ । पार्टी चलाउनका निमित्त जुन ढंगले नेतृत्व प्रस्तुत भएको छ, त्यो एकदम फितलो, गन्तव्यहीन, दिशाहीन र लक्ष्यविहीन रहेको हुँदाहुँदै पनि इलाममा नेताहरूले भाषण गरेजस्तो नाम जीतबहादुर भएर जितिँदैन् । त्यसका लागि संगठन, विचार र भिजनरी नेतृत्व आवश्यक छ । समयसापेक्ष, वैज्ञानिक र प्रविधिमैत्री पार्टीको खाँचो छ । जनतामा भिज्न सक्ने, जनतालाई २१ औं शताब्दीको युगमा हिँडाउन सक्ने नेतृत्वको आवश्यकता छ । अनि मात्रै जुनसुकै पार्टीमा जनलहर आउन सक्छ । ८/१० वटा सांसद लिएर सत्ताकेन्द्रित राजनीतिमा लिप्त हुँदा आमकार्यकर्ताले भनेजस्तै २०८४ सम्म पार्टी रहला ? यो शंका केवल शंकामात्रै नभई वास्तविकतामा परिणत हुन सक्छ भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । 

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

साउन ३, २०८१

इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x