
गायनबाट आफ्नो परिचय स्थापित गरेका गीतकार २८ वर्षीय अफसर अलीको मुख्य कर्मथलो बुटवल हो । उनले गायनमा प्रवेश गरेको धेरै भएको छैन । यद्यपि उनी आधुनिक गीत, लोक, पप र शास्त्रीय संगीतदेखि गजल, सुफी, कवालीगरी प्रायः सबै विधामा आफ्नो गायनकला प्रस्तुत गरेर चिनिन थालेका छन् ।

असरफ ‘नेपाल आइडल सिजन वान’बाट पहिलोपटक दृश्यमा आएका थिए । त्यसपछि उनले सांगीतिक यात्रा अघि बढेको हो । उनी सानैदेखि गीत गाउन र सुन्न रुचाउँथे । विस्तारै उनले संगीतमै स्थापित हुने सपना पाले । अहिले उनी आफ्नै ‘अफरफ अली एन्ड द मिराज ब्यान्ड’मार्फत् अघि बढिरहेका छन् ।
‘सानैदेखिको रहर र निरन्तरको लगावबाट नेपालको सांगीतिक क्षेत्रमा अहिले पाइला अघि बढाउँदै छु, हेरौं कहाँ पुग्छु,’ उनले भने ।
प्रस्तुति हेर्दा असरफको ब्यान्ड नेपथ्यकोजस्तै बाटोमा लम्किरहेको महसुस हुन्छ । यो ब्रान्ड पश्चिम क्षेत्र (लुम्बिनी र गण्डकी)मा रुचाइएको ब्यान्डको रूपमा स्थापित भइसकेको छ । असरफ ‘स्टेज पर्फमेन्स’मा पोख्त मानिन्छन् । उनीसँग स्टेजका लागि चाहिने आकर्षक व्यक्तित्व छ । भावनामा डुबेर गाउने र स्टेज तताउन सक्ने खुबी उनमा छ । भिन्न विषय र शैलीका गीत गाउनु उनका विशेषता हुन् ।
रूपन्देहीको तिलोत्तमा–१६ कोटिहवामा एक निम्नमध्यम वर्गीय परिवारमा विसं २०५३ मा जन्मिएका असरफले गाउँकै लिटिल स्टार बोर्डिङ स्कूलबाट एसएलसी उत्तीर्ण गरे । उनले प्लस टू र ब्याचलर तिलोत्तमामै रहेको राममणि बहुमुखी क्याम्पसबाट गरेका छन् । प्लस टू पढ्दापढ्दै बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्न थालिसकेका थिए उनले । उनमा संगीतको लगाब (प्यासन) देखेपछि प्रशिक्षकले ‘तिमीमा ठूलो सम्भावना छ’ भनेका थिए ।
प्रशिक्षकको ढाडस पाएपछि असरफ स्कूलमा रायम्स गाउन सधैँ अघि सर्न थाले । विस्तारै गाउँमा हुने गीत–संगीतका कार्यक्रममा भाग लिन थाले । आफूले गाउने पालो कुर्न उनी दिनभर बस्थे ।

झण्डै चार वर्ष बागेश्वरीमा संगीत सिकेपछि असरफ विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन थाले । उनले १२ वर्षको हुँदादेखि नै स्टेज चढेका थिए । २०६३ मा ‘भ्याइस अफ टीन’मा अडिसन दिए, तर सफल हुन भने सकेनन् । २०६८ मा नेपाल टीभीले चलाएको नेपाली तारा सिजन– ३ मा शीर्ष ४० सम्म पुगेर बाहिरिए । बुटवलको चर्चित मानिने प्रदर्शनी आइडलमा शीर्ष १० सम्म पुगे । २०७० मा भएको भ्वाइस अफ भैरहवामा उनले देस्रो स्थान हासिल गरे । सोही साल नै उनी बुटवलको दीप गायन तारा सिजन ३ को उपाधि चुम्न सफल रहे ।
२०७४ मा नेपाल आइडलको सिजन वानमा देशभरबाट एक लाख जना अडिसनमा सहभागी भएकामध्ये असरफ पनि थिए । उनी प्रतिस्पर्धाका लागि छनोट भए । त्यसबखत उनी नेपाल आइडलको शीर्ष १८ सम्म पुगे । तर, त्यसभन्दा अघि बढ्न भने सकेनन् । ‘त्यो बेला देशमा चुनावको माहोल थियो । यसले गर्दा मानिसले नेपाल आइडलको भाटिङतिर चासो दिएनन्,’ यसबारे उनी भन्छन्, ‘जसले गर्दा पनि म शीर्ष १८ बाटै बाहिरिएजस्तो लाग्छ ।’ शीर्ष १८ बाटै बाहिरिए पनि आफूलाई नेपाल आइडलको मञ्चले नै देशभर चिनाएको उनको बुझाइ छ । यसर्थ उनलाई नेपाल आइडलमा शीर्ष १८ सम्म पुगेकोमा गर्व छ ।
नेपाल आइडलबाट बाहिरिएपछि पनि असरफले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन छोडेनन् । त्यसपछि उनले ‘हिड्न थाल्दै छु, ‘नशा’, ‘यो शहर’, ‘मेरो मोल’, ‘जान देउ मलाई’, ‘फर्की आउ’, ‘राम साइली’, ‘तिमी र म’, ‘तस्वीर’लगायत दजर्नभन्दा बढी गीत गाए ।
जसमध्ये ‘नशा’, ‘यो शहर’, ‘फर्की आउ’जस्ता गीतले उनलाई थप चिनाउन मद्दत गरे । यीमध्ये धेरैजसो गीतमा उनीकै लय, शब्द र संगीत छ । यसैले उनलाई कतिपयले गायनबाट परिचय बनाएका गीतकारका रूपमा पनि चिन्ने गरेका छन् । अब उनले ‘झिमिक्क परेली’ र ‘तारेभीरै’मा गीत ल्याउने तयारी गरिरहेका छन् ।
अहिले असरफ स्टेज कार्यक्रममा व्यस्त हुन्छन् । ब्यान्डको ‘लिड भोकलिस्ट’ आफैँ हुन् । उनी आफ्नो ब्यान्डसहित स्टेज चढ्छन् । गजल, सुफी, कवालीसहितको प्रस्तुति दिने गरिन्छ । जसलाई दर्शक–स्रोताले सर्वाधिक रुचाइरहेका छन् । बुटवल क्षेत्रका विभिन्न ‘कर्पोरेट इभेन्ट’मा यो उनको द मिराज ब्यान्ड असाध्यै चलेको छ । अहिले उनी आफ्नै ब्यान्डमार्फत सिजनको बेला मासिक १५/१६ वटासम्म प्रस्तुति दिने गर्छन् । आगामी ६ महिना एक वर्षसम्मको प्रस्तुतिका लागि अहिले नै ‘बुकिङ’ भइसकेको उनले जानकारी दिए ।
यस क्षेत्रमा रहेको भारतीय ब्यान्डको दबदबालाई अफसरको ब्यान्डले रोक्न सफल भएको चर्चा सुनिन्छ । आफ्नै टीमका दक्ष संगीतकारसम्मिलित द मिराज ब्यान्डले एकपटकमा तीन घण्टाको पर्फमेन्स दिने रहने असरफ बताउँछन । जसमा २०/२५ वटासम्म गीत हुन्छन् । द मिराज गजललाई लक्षित गरेर निर्माण भएको पहिलो नेपालकै ब्यान्ड रहेको उनको दाबी छ । उनले चितवनमा अर्बपति पंकज ओसवालको गरेको महंगो फ्यामेली इभेन्ट पनि सफलतापूर्व सम्पन्न गरेका छन् । गाउन उनी कतार र यूएईसम्म गएका छन् ।

कुनै बेला राजधानी काठमाडौं, विराटनगर, पोखरालगायत शहरी क्षेत्रमा मात्रै पप शैलीका गीत बढी सुनिन्थ्यो । अहिले पप संगीतको दायरा र पहुँच फराकिलो हुँदै गएको असरफको बुझाइ छ । विदेशी कलाकारको प्रभावबाट जोगाउन र पप संगीतमा मौलिकता खोज्न आफूले सधैँ अग्रजबाट प्रेरणा मिलेको उनले बताए । ‘आजकल बुटवल क्षेत्रमा पनि पप गायकलाई हेर्ने दृष्टिकोणमा राम्रो परिवर्तन आएको छ,’ उनले भने ।
अहिले असरफ पढाइलाई पनि निरन्तरता दिँदै अघि बढेका छन् । उनीजस्ता धेरै युवा देश छाडेर विदेश रोज्दा उनी भने नेपालमै बसेर संगीतबाट आफ्नो भविश्य खोजिरहेका छन् । आफ्नी आमा अकिरुन निसाले सिकाएको कुरा उनी सधैँ मनमा राखिरहन्छन् । ‘आमाले कसैलाई ठगेर नखानू, सधै मेहेनत गर्नू, नआत्तिनु, नमात्तिनु धैर्य लिएर काम गर्नू भन्नुभएको छ,’ उनी भन्छन्, ‘म यो सधैँ शिरोधार्य गर्छु । आमाको यही वचन आत्मसात गर्दै गीत–संगीतमार्फ आफ्नै गाउँठाउँलाई योगदान दिन लागिपरेको छु ।’
नेपालमा निम्नमध्यम वर्गीय परिवारलाई विदेशिनुपर्ने बाध्यता छ । असरफका बुवा पनि विदेशिएका थिए । त्यही बेला उनले नेपालमा संगीतमा संघर्ष गरे ।
‘मैले गीत–संगीतमा जे–जति गरेँ, आफ्नै संघर्षबाट गरेँ । बाबा विदेशमा हुनुहुन्थ्यो । यसले गर्दा घरको कामको जिम्मेवारी ममाथि थियो । घरको जिम्मेवारीलाई पनि आत्मसात गर्दै सानैदेखि संगीतमा लागेको हुँ,’ उनले भने, ‘मैले मेरो धरातल, दुःख र संघर्ष बिर्सिएको छैन ।’
असरफ मुस्लिम समुदायबाट आएका गायक हुन् । तराई बसोबास गर्ने मुस्लिम समुदायबाट गायनमा प्रवेश गर्ने कमै मात्र गायक छन् । थोरै अपवादमध्ये असरफ एक हुन् । उनले गायनमार्फत सबै क्षेत्र, समुदायका स्रोता–दर्शकको मन जित्न सफल भएका छन् । किनकि, उनी हरेक विधाका गीत गाउन सक्छन् ।