
राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र, बढ्दो बेरोजगारीजस्ता विषयले देशमा चरम निराशा छाइरहेको समयमा आशा र उत्साह दिइरहेको एउटा क्षेत्र हो– खेलकुद ।
खेल क्षेत्रमा गरिएको सीमित लगानी, खेलाडीलाई प्रोत्साहनको अभाव र तमाम बेथितिका बाबजुद नेपालका खेलाडीले आमजनतामा आशा जगाउने काम गरेका छन् ।
पछिल्लोेपटक पारा ओलम्पिकमा पलेशा गोबर्धनले जितेको कास्य पदकले नेपालको प्रतिष्ठा बढाएको छ । पदक जितेर आएपछि मन्त्री नै गएर खेलाडीलाई नगर परिक्रमा गराइएको छ । काठमाडौं महानगरदेखि, सरकारसम्मले नगद पुरस्कारले सम्मान गरेका छन् ।
यसको अँध्यारो पाटो– खेल तयारीका क्रममा सरकारले वास्ता गरेको थिएन । आम निराशाबीच पलेशाले एउटा आशा जगाउने काम गरिन् । उपाधि जित्न नसके पनि धाविका सन्तोषी श्रेष्ठले पनि जनताको मन जितिन् ।
उपाधि जित्न नसके पनि गत महिना महिला भलिबल टोलीले जनतामा त्यस्तै खुशी दिएको थियो । बलियो प्रतिस्पर्धी भारतलाई टक्कर दिँदै काभा वुमन्स भलिबलमा नेपाल उपविजेता भयो ।
त्यसअघि नेपाली क्रिकेट टोलीले टी–ट्वन्टी विश्वकप खेल्यो । कमजोर पूर्वाधार र राज्यको उपेक्षाबीच क्रिकेट टोली विश्वकपसम्म पुग्नु नेपालका लागि गौरवको विषय थियो ।
पर्याप्त पूर्वाधार विकास गर्न सके क्रिकेटमा नेपालको प्रचुर सम्भावना छ । विश्वका राम्रा टोलीलाई नेपालमा क्रिकेट खेल्न ल्याउन सके पर्यटक नेपाल भित्र्याउन अरू केही गर्नुपर्दैन ।
खेल क्षेत्रले आशा जगाए पनि त्यहाँभित्र कयौं बेथिति छन् । पूर्वाधार गतिला छैनन् । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका जापानका फूटबलर होन्डाले नेपालको जस्तो खराब रंगशाला कहीँ देखेको थिइनँ भनेर दिएको अभिव्यक्ति सरकारका लागि दह्रो झापड हो ।
बन्दै गरेका पूर्वाधार पनि भ्रष्टाचारको शिकार भएर गतिला बनिरहेका छैनन् । यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ ।