
अमेरिकन चर्चित र्यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते (बुधबार) अर्थात् अक्टोबर २ मा हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिनेछन् ।
एलओडी क्लबका सञ्चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा क्लबले शुःल्क लिने व्यवस्था गरेको छ । भीआईपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।
भीआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोही दिनको टिकट खल्ती एप्सबाट खरिद गर्न सक्ने सिंहले बताए ।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड, अर्मान मल्लिक, इण्डियन आइडल पवनदीपलगायत धेरै गायकहरूले प्रस्तुति दिई सकेका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टांग्रीलगायत कलाकारले प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुन: ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परि छनोटमा परेको थियो । युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औं स्थानमा राखेको हो ।