
काँठे भाका ‘पानी सलल’को भिडियो सार्वजनिक गरिएको छ।
आइतबार एक कार्यक्रमका बीच राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, व्यवसायी श्याम डंगोल, कलाकार राजीव मानन्धर, भिडियोका निर्देशक सुरज खनाललगायतले काँठे लोक भाकाको लोकार्पण गरेका हुन्।
सो अवसरमा बोल्दै राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले देश र जनताको हितमा गीत–संगीत सिर्जना हुनुपर्ने बताइन्।
पछिल्लो समय कला क्षेत्रमा केही विकृति पनि देखिएको गुनासो गर्दै उनले भनिन्, ‘कलालाई कहाँ कस्तो ठाउँमा प्रयोग गर्ने, कस्ता शब्दहरू ल्याउने भन्ने कुरामा सबै कलाकारहरू संवेदनशील हुनुपर्छ। किनकि नेताहरूको भाषणभन्दा कलाकारहरूको गीत धेरै जनताको कानमा गुञ्जिन्छ।’ सही सन्देश दिने खालका गीतहरू गाउनुपर्ने उनको भनाइ थियो।
‘जुन गीत हामी समाज, परिवारमा बसेर सुन्न सकौं। हामीले गाएका गीतहरूबाट समाजका व्यक्तिले केही सन्देश लिन सकून्। राजनीतिक नेताहरूलाई पनि सन्देशको गीत बन्न बनोस्,’ सार्वजनिक गीतलाई शुभकामना दिँदै उनले भनिन्।
यो गीतमा पार्वती कार्की र गोविन्द दुलालले स्वर दिएका छन्। शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन्। भिडियोमा सुवी शाही र मोहन डंगोलको अभिनय छ।
इभा फिल्मस् प्रालिको प्रस्तुति रहेको ‘पानी सलल’ को भिडियोलाई सुरज खनालले निर्देशन गरेका हुन्। कार्यक्रममा गायक बैकुण्ठ महत, भिडियोका निर्देशक खनाल, इभा प्रालिका प्रोप्राइटर तथा कलाकार श्याम खनाल, गायक मोतीराज खनाल लगायतले गीतलाई स्रोता–दर्शकले रुचाउने विश्वास व्यक्त गरे।
सो अवसरमा भिडियो निर्देशक, कोरियोग्राफरदेखि कलाकारसम्मलाई प्रशंसापत्र समेत वितरण गरियो। भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफी, शिव विकको छायाँकन, विनोद बमको सम्पादन छ।