२७ जेठ २०८३, बुधबार
सम्पादकीय

भविष्यमा अर्को विपत्ति आउन नदिन खोलाको निकास बढाऊ

असोज १५, २०८१
काठमाडौं
भविष्यमा अर्को विपत्ति आउन नदिन खोलाको निकास बढाऊ

मनसुन सकिनै लाग्दा मध्यअसोजमा भएको भीषण वर्षापछि बाढीपहिरोले देशमा विपत्ति मच्चायो । 

बाढीपहिरोका कारण असोज १५ गते मंगलबारसम्म २ सय बढीको मृत्यु भइसकेको छ । धनजनमा पुगेको क्षतिको यकिन विवरण अझै आइसकेको छैन ।

मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग धेरै ठाउँमा भत्किएका कारण पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्नेछ । पृथ्वी राजमार्गको हालत पनि उस्तैछ । नेपालीहरूको मुख्य चाडबाड दशैं–तिहारको मुखमा राजमार्गको दूरावास्थाले सर्वसाधारणलाई आवतजावतमा कस्ट सिर्जना गरेको छ ।

देश विपतमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर थिए । देशमा सक्रिय कामचलाउ सरकारले उद्धार, राहत र पुनःस्थापनामा देखाएको ढिलासुस्तीको चौतर्फी आलोचना भइरहेको छ । बाढीपहिरोबाट जनता विस्तारै आफ्नो जोहो गर्न लागेको समयमा मात्र सरकाले राष्ट्रिय विपत घोषणा गरेको छ । 

बरू स्थानीय सरकारले केही काम गरे, तर संघीय सरकारले पीडित जनताको पक्षमा केही काम गर्न सकेन । बीचको प्रदेश संरचनाप्रति जनताको भरोसा टुटिसकेको छ । 

देशका अन्य भागजस्तै राजधानी काठमाडौं उपत्यका पनि बाढीपहिरोको चपेटामा पर्‍यो । पानीको निकाश साँघुरो बनाइँदा उपत्यकाको खोला छेउका अधिकांश घरमा बाढी पस्यो । 

वर्षौंदेखि अतिक्रमणको चपेटामा परेका उपत्यकाका नदीखोला उर्लिएर आउँदा साँघुरो बनाइएको निकासले थाम्न सकेन । फलस्वरूप राजधानी काठमाडौं जलमग्न बन्न पुग्यो । 

जलवायु परिवर्तनको असरका कारण पछिल्ला वर्षमा अस्वभाविक ढंगले पानी पर्ने गरेको छ । पानी सोस्ने खुला ठाउँको अभावले आकाशको पानी घरको छतबाट सिधै खोलामा पुग्ने गरेको छ । त्यसमाथि उपत्यकाको छेउछाउमा भइरहेको अवैद्य उत्खनन् र अव्यवस्थित प्लटिङका कारण पनि बाढीले खोला छेउमा क्षति गर्ने गरेको छ । 

असोज ११ गते शुक्रवार भएको जस्तै भारी वर्षा भविष्यमा पनि हुन सक्ने सम्भावना छ । खोलाको बाढी घटेसँगै सरकारी निकायले यो समस्यालाई बिर्सिने खतरा छ ।

‘खोला नदीलाई अतिक्रमण गरेर कुलो’ बनाइएको विद्यमान अवस्थाले भविष्यमा पनि यस्ता विपत्तिको सामना गर्नुपर्ने खतरा देखाउँछ ।

काठमाडौं उपत्यकाका खोला किनारमा थप २० मिटर क्षेत्रमा निर्माण निषेध गर्नुपर्ने सर्वोच्च अदालतको फैसलाले गत महिना राष्ट्रिय बहस सिर्जना गरेको थियो । सर्वोच्चले किटान गरेको जति खाली राख्न सम्भव नभएपनि बर्खाको समयमा बाढी बस्तीमा नपस्ने गरी नदीको निकास बढाउने नीति अनिवार्य भएको छ ।

खोला किनाराका बस्तीलाई सरकारले उचित मुआब्जा या सट्टापट्टा जग्गा उपलव्ध गराएर सुरक्षित ठाउँमा स्थानान्तर गर्न जरुरी छ । 

salt training

कमेन्ट गर्नुहोस्