२६ जेठ २०८३, मंगलबार
नियात्रा

अनौठो संसारमा रमाउँदा

मंसिर १५, २०८१
काठमाडौं
अनौठो संसारमा रमाउँदा

हामी संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ओरल्याण्डो शहरको इन्टरनेसनल ड्राइभ नामक विश्वप्रसिद्ध पार्कमा रमाइरहेका थियौं । पार्कमा विभिन्न खालका रोटेपिङ, रोलर कोस्टर र कहिले नदेखेका र नसुनेका साहसीहरूले मात्र खेल्नसक्ने साधनहरू थिए ।  हजारौं मानिसहरू आफ्ना लालाबालासित रमाइरहेका थिए । केही युवायुवतीहरू अँगालोमा बाधिएर उन्मुक्त प्रेम प्रदर्शन गर्नमा मस्त थिए । 

कसैले देख्लान् र केही भन्लान् कि भन्ने भवनालाई उनीहरूले बेवास्ता गरिरहेका देखिन्थे । उमेरदारमात्र होइन तीन बीस कटेकाहरू पनि प्रणयलीलामा रमाइरहेका थिए । हामी चारजना रमाएर पार्कमा यतिउति हिँड्यौं । 

पार्ककै एउटा कुनामा अर्को उदेकलाग्दो बस्ती थियो, जसले मानिसहरूको दिल र दिमागलाई हल्लाइदिन्थ्यो । पार्कको नामै थियो ‘अचम्मको संसार’ ! अचम्मको संसारमा सबैथोक अचम्मका थिए । त्यहाँ टोर्नेडो (हुरी) चल्ने र भुइँचालो जाने घर देख्दा हामी छक्क परेर हेरिरहेका थियौं । 

यस्तो बस्ती र घरहरू हामीले अन्त कतै देखेका थिएनौं ।  छोरी साधनाले उसकी आमासित भनिन् ‘मामु हेर्नुहोस् न,  कस्तो उल्टो घर रहेछ । घरको जग चाहिँ माथि आकाशमा छ, अनि छानो चाहिँ जमिनमा ।’ छोरीको जिज्ञासापछि हामीले हेर्‍यौं र छक्क पर्‍यौं । 

त्यहाँको संरचना निकैबेर नियाल्यौं । घर पूरै उल्टा थिए, त्यहाँ राखिएका साइनबोर्डहरू पनि उल्टा थिए । 

‘त्यही त नानी, त्यस्ता घरमा मानिस कसरी बस्दा हुन् ? सपना भनौं कि विपना ? म तीनछक परेकी छु,’ उसकी आमाले आश्चर्य प्रकट गरिन् । म पनि अचम्ममा परिरहेको थिएँ ।

छोरीले फेरि ठट्टा गर्दै भनिन्, ‘त्यो घरभित्र त मानिसहरू टाउकाले टेकेर हिँड्छन् होला होइन ?’ यति भनेर उनी मज्जाले हाँसिन् । 

छोरीको कुराले मलाई २०४४ सालतिर पुर्‍यायो । त्यसबेला हामी लगनखेलको प्रसिद्ध कपास साहुका घरमा बस्थ्यौं । म र पत्नी सपना ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रममा पढाउँथ्यौं । छोरी साधना हाम्रै विद्यालयमा नर्सरीमा पढ्थिन् । छोरी सधैं मामुसित खुसी भएर जान्थिन् । म मच्छिन्द्र क्याम्पसमा पढाएर उतैबाट जान्थें । 

एक शुक्रबार सपना स्कुल जान नसकेर बिदामा बसेकी थिइन् । त्यसपछि एकसाताका लागि विद्यालय  बिदा भएको थियो । बिदापछि स्कुल लागेको पहिलो दिन पनि नजाने हो भने बीचका सबै बिदा शिक्षकका सञ्चित बिदाबाट काटिने विद्याश्रमको नियम थियो । त्यसैले सपनाले भनिन्, ‘अघिल्लो शुक्रबार म विद्यालय गएकी थिइनँ । भोलि त टाउकाले टेकेर पनि मैले स्कुल जानैपर्दछ ।’

घरको जग आकाशतिर थियो अनि छत अर्थात् छानो तल जमिनमा थियो । छानामा बनाइएको नमस्ते जमिनमा उल्टो परेर बसेको थियो । उल्टो घरको पेटीमा झुण्डाइएका गमलाका बिरुवा घोप्टो परेर लत्रेका देखिन्थे ।

त्यसको भोलिपल्ट बिहान उठ्नेवित्तिकै मेरा छेउमा आएर आँखा मिच्दै छोरी साधनाले भनिन्, ‘बाबा, आज म हजुरसित स्कुल जान्छु है ? मामुसित जान्न ।’ 

मैले सम्झाउँदै सोधे– ‘किन नानी ? बाबा ढिलो जान्छु, फेरि बाबाले कलेजमा गएर ठूल्ठूला दाजुदिदीलाई पढाउनु पर्छ, म ढिलोमात्र स्कुल पुग्छु, मसित जाँदा नानुको क्लास छुटिहाल्छ नि, मामुसँग नै जाऊ ।’ 

मेरो कुराको प्रतिपाद गर्दै छोरीले भनिन्, ‘नाइँ के आज त म हजुरसितै जान्छु, मामुसित जाँदै जान्न ।’

सधैंभरि खुशी भएर मामुसित स्कुल जाने छोरी आज किन नजाने भन्छिन् ? मैले केही बुझ्न सकेको थिइनँ । फेरि छोरीलाई सोधें, ‘मामुले के गरिन् ? उनीसित किन नजाने ?’

साधनाले जवाफ दिइन्, ‘गर्न त केही गर्नु‘भा छैन । तर, आज मामुसित नजाने ।’

मैले फेरि सोधें ‘त्यसो भए किन नजाने त मामुसित ? जाऊ न, प्लिज !’

साधनाले आँसु झार्दै भनिन्, ‘मामु  अघिल्लो शुक्रबार पनि स्कुल जानुभएन । त्यसैले ।’

उसको कुरा सुनेपछि मैले फेरि भने, ‘अघिल्लो शुक्रबार नगए के भो त नानी ? आज त गइहाल्छिन् नि ।’ 

मेरो कुरा सकिन नपाउँदै छोरीले रुन्चे मुख लगाएर फेरि भनिन्, ‘बाबा, मामुले हिजो भन्नुभएको थियो, आज त टाउकाले टेकेर स्कुल जाने रे ! अनि मैले मामुको हात कसरी समात्नु ? टाउकाले टेकेर हिँड्ने  मामुसँगै म कसरी हिँड्नु ? म मामुसित जान्न ल ।’ 

छोरीको निर्दोष भनाइ सुनेर हामी दुवैजना बेस्सरी हाँसेका थियौं । मामुको लक्षणमूलक अभिव्यक्तिलाई छोरीले अभिधामूलक ठानेर चिन्तित भएकी रहिछन् भन्ने कुराको रहस्योद्घाटन हामीलाई त्यसबेला भएको थियो ।

हुन पनि आमा चाहिँ टाउकाले टेकेर सडक पेटीका हिँडेको कल्पना छोरीले गरेकी रहिछन् । त्यसरी टाउकाले टेक्दै स्कुल जाने मामुसित उनी कसरी जान सक्थिन् त !

त्यसपछि मैले उनलाई टाउकाले टेकेर जाने भनेको आज जसरी पनि जानैपर्छ भनेको हो तर, टाउको भुईँमा टेक्ने अनि खुट्टा माथि उठाएर स्कुल जाने भनेको होइन भनेर सम्झाएको थिएँ । 

त्यसपछि छोरीले फेरि सोधेकी थिइन्, ‘त्यसो भए मामु स्कुल जाँदा आफ्ना गोडाले नै टेकेर जानुहुन्छ त ?’

‘हो नि, गोडाले नै हिँडेर जान्छिन्, पहिलेजस्तै हिँडेर जान्थिन् । त्यसैगरी जान्छिन्, तिम्रा हात समातेर हिँड्छिन्,’ भनेर मैले जवाफ दिएपछि साधनाले मुसुक्क हाँसेर भनेकी थिइन्,  ‘त्यसो भए म मामुसितै स्कुल गइहाल्छु नि !’

म सानै छँदा हाम्रो पूर्वी नेपालको तराईं अर्थात् इटहरीतिर औलो ज्वरोको प्रकोप थियो । हप्तैपिच्छे निभाक्विन नामक औषधि खानु पर्दथ्यो ।

लगलगी कामेर कामज्वरो आउँथ्यो । एक पटकको कुरा हो मलाई दुई/चारदिन हनहनी ज्वरो आएर भर्खर निको भएको थियो । त्यतिबेला जे खाए पनि नमीठो लाग्थ्यो,  खान केही मन लाग्दैन थियो । जे खान दिए पनि एकआधा चम्चा खाएर सबै फ्याकिदिन्थें । 

एकदिन मेरा दुवै आमाहरूले मेरा नजिकै बसेर मेरो कपाल सुमसुम्याउँदै भन्नुभयो, ‘यसलाई तीते करेला र आलुको सब्जी पकाएर खानदिनुपर्‍यो । अनि त्यसले मुख फर्काउँछ । नत्र केही खान मन गर्दैन ।’

त्यति भनेर एकजना आमा  भान्सा कोठातिर पस्नुभयो । अर्की आमा मलाई सुम्सुम्याएर बस्नुभयो । तिते करेलाको सब्जीले मुख फर्काउँछ भन्नुभएको कुराले  मैले आफ्नै गाउँका बाघवीर भन्ने एकजना गाउँले काकालाई सम्झिएँ । ती काकाको मुख अरू मानिसको जस्तो नभएर गालातिर सरेर फर्केको  थियो । मैले त्यसबेला सोचें ‘ती काकाले पनि तितेकरेला र आलुको सब्जी खाएका थिए होलान् अनि उनको मुख अर्कातिर फर्किएछ ।’ त्यसपछि मैले त्यो तीते करेला र आलुको सब्जी  खाँदै नखाने भनेर अड्डी कसें । 

‘ल बाबु , अलिकति यो सब्जी खाइहेर त । अनि तेरो मुख फर्किन्छ,’ आमाले भन्नुभयो । मैले बाघबीर काकाको मुख सम्झिएर भने खान्न म, करेलाको सब्जी त मरे पनि खान्न ।’

आमाले भन्नुभयो, ‘तेरो मुख फर्काउँछ नि त । यति खाइदे न ।’

‘नाइँ मेरो मुख फर्काउन पर्दैन । त्यसै त म राम्रो छुइनँ, हाम्रो माल्दाजु कति राम्रो हुनुहुन्छ । अझै तिते करेलाको सब्जी खुवाएर तपाईंहरू किन मेरो मुख फर्काइदिन चाहनुहुन्छ । म तितेकरेला र आलुको सब्जी त खाँदै खान्नँ,‘ मैले रुँदै भनेको थिएँ । 

मैले रोइकराई गरेर त्यसदिन तितेकरेला र आलुको सब्जी खाँदै खाइँन । त्यसदिन मात्र होइन मुख फर्केला भन्ने डरले ठूलो भएपछि पनि म त्यो सब्जी खान्नथें ।

मुख फर्काउने सब्जीको कथा त्यसदिन मैले पार्कमा सबैलाई सुनाइदिएँ । त्यो सुनेर सबैले मनोरञ्जन गरेको मलाई अनुभूति भयो । 

त्यसैले बालबालिकालाई लक्षणामूलक शब्दको अभिभावकले सही अर्थ लगाइदिने गर्नु पर्दछ । नत्र उनीहरूले लक्षणालाई पनि अभिधाका रूपमा बुझिदिँदा उनीहरूको ज्ञान, सीप र धारणामा फेरबदल आउनसक्छ भन्ने मेरो ठम्याइ छ ।

हामी ओरल्याण्डोको भव्य शहर डाउनटाउनका गगनचुम्बी महलहरू हेर्दै इन्टरनेसनल ड्राइभको वन्डरफुल अर्थात् उदेकलाग्दो  पार्क  पुगेका बखत अतीतका ती विविध घटनाको सम्झना भयो ।

त्यहाँ धेरै कुरा अचम्म लाग्दा थिए । त्यसमध्ये त्यहाँको प्रमुख आकर्षणको केन्द्र एउटा उल्टो घर थियो । घरको जग आकाशतिर थियो अनि छत अर्थात् छानो तल जमिनमा थियो । घरको छानामा बनाइएको नमस्ते जमिनमा उल्टो परेर बसेको थियो । उल्टो घरको पेटीमा झुण्डाइएका गमलाका बिरुवा घोप्टो परेर तलतलसम्म लत्रेका देखिन्थे । 

त्यो घरलाई धेरै घुमन्तेहरूले हाँस्दै नियालिरहेका देखिन्थे । तिनीहरूमध्ये कोही अमेरिकी, कोही बेलायती र एसियन तथा केही अफ्रिकी मानिसहरू देखिन्थे । 

हामी चारैजनाले घरका मूलाढोकातिर पाइला चाल्यौं । मूलढोकामा उभिएर पनि हामीले निकैबेर नियाल्यौं । घरभित्र प्रवेशका लागि टिकट लिनैपर्ने रहेछ । हामी  लाइनमा थियौं । घरभित्र के होला भन्ने उत्सुकता मनमा थियो । 

हामी चारैजना घरभित्र पस्न तम्तयार थियौं । हाम्रो हातहातमा टिकट थियो  । नजिकै विभिन्न देशका मानिसहरू पनि लाइनमा थिए । आएका यात्रुहरूलाई आलोपालो गरेर होइन ४०/५० जनालाई एकै पटक प्रवेश गराउने नियम रहेछ । 

ज्वाइँ प्रकाश लुइँटेलले हामीसित विस्तारै भन्नुभयो, ‘यो घरभित्र सबै जना पुगिसकेपछि ठूलो भुइँचालो जान्छ । त्यहाँ  सात  रेक्टर स्केलको भर्टिकल र होरिजेन्टल दुवैखाले भुइँचालो जाँदाको अनुभव यात्रीले  पाउँछन् ।’

ज्वाइँले फेरि भन्नुभयो, ‘भुइँचालोका विषयमा पढाउनु पर्दा विद्यार्थीलाई प्रयोगात्मक ज्ञानका लागि यही घरमा ल्याएर अनुभूति गराइन्छ । त्यसैले यहाँ विद्यार्थीहरूको सधैं भीडभाड हुने गर्दछ ।’

मैले त्यसबेला आफ्नो देशको शिक्षा र अमेरिकाको शिक्षाको मनमनै तुलना गरें । हामी त्यो उल्टो घरभित्र प्रवेश गर्‍यौं । सबैजना भित्र पसेको केहीबेरपछि घर हल्लिन थाल्यो । कहिले तल कहिले माथि । मेरा मुखबाट अनायासै निस्कियो ‘राम ! राम ! राम !’ हामीले एक अर्कालाई समात्यौं । आफूले टेकेको, समातेको र हेरेको सबैकुरा हल्लिँदा एक तमासको अनुभव भयो । लौ न, घरै ढलेर किच्ने हो कि भन्ने डर पनि नलागेको होइन । 

त्यहाँ सबै मानिसको अनुहार डरत्रासले आकुलव्याकुल भएको देखिन्थ्यो । कोही त डरले न्वारानदेखिको बल निकालेर चिच्याएका पनि देखिन्थे । हामी यस्तै घरमा भुइँचालोको अनुभव सँगाल्न पैसा तिरेर आएका हौं भन्ने लागे पनि अवचेतन त्यसबेला प्रबल हुँदोरहेछ । मनमा डर त्रासको भेलै आउँदोरहेछ !

मैले वास्तविक भुइँचालोको पहिलो अनुभव २०४५ सालमा  गरेको हुँ । भुइँचालो जाँदा हामी लगनखेलमा भाडामा बस्दथ्यौं । एका बिहानै मानिसहरूले भुइँचालो भुइँचालो भनेर चिच्याएको सुनेर म जर्‍याकजुरुक्क उठें र निदाइरहेकी छोरीलाई च्यापें, सपनाले भर्खर जन्मेको छोरालाई थाङनासहितै च्यापिन् ।

हामी दुवैजना बाहिर दौडियौं । बाहिर पुगेपछि पो सम्झना भयो, सालो राजु त भित्रै छुटेछ । उसलाई उठाउन म बाहिरबाट फेरि दौडिएर फर्केको थिएँ । भुइँचालो पूरै थामिसकेको थियो । लगनखेलभरिका मानिसहरू सबै घरबाहिर निस्केर हल्लाखल्ला गरिरहेका थिए । त्योबाहेक हामीले भुइँचालोको वास्तविक  लामो अनुभव २०७२ साल वैशाख १२ गतेदेखि लगातार आएजस्तो कहालिलाग्दो भुइँचालोको अनुभव ओरल्याण्डोको उदेक लाग्ने पार्कमा भएका एक उल्टा घरमा गरेका हौं ।

त्यही अर्को घर रहेछ, त्यसभित्र पसेपछि डरलाग्दो हुरीबतास चल्दो रहेछ, त्यसमा छिर्न पनि टिकट काट्नुपर्ने, पैसा बुझाउनु पर्ने । भो ! हुरी बतासको अनुभव कति गरियो कति ? मैले मानिनँ ।  मलाई ओरल्याण्डोको अचम्मलाग्दो पार्कका देखेका उदेकलाग्दा घरहरू, त्यहाँको उदेकलाग्दो अनुभव र त्यसदिनको सम्झना चलचित्रको रिलजस्तै बनेर आँखा सामु नाचेको नाचेकै छ ।

यो पनि

नासामा अन्तरिक्षको यात्रा गर्दा...

हरबखत जागा रहने शिकागो शहर
 

salt training

कमेन्ट गर्नुहोस्