
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ ।
एक साताअघि मंसिर १६ बाट आज मंसिर २३ सम्म मञ्चन मिति थपेको नाटकले पुनः अन्तिम एक शो थप गरेको हो ।
थपिएको विशेष मञ्चन मंसिर २४ गते सोमबार साँझ ४:३० मण्डला थिएटरमा हुनेछ । गत कात्तिक २४ देखि नियमित मञ्चन थालेको यस नाटकको आज आइतबारको नियमित मञ्चन कायम नै छ ।
दयाहाङ राईको निर्माण तथा केदार श्रेष्ठको लेखन, निर्देशन रहेको नाटकमा मेनुका प्रधान र कार्मलाई मञ्चमा प्रत्यक्ष देख्न पाइनेछ । दर्शकहरूले टिकट नपाएर फर्कने अवस्था आएपछि एक शो थपेर रङ्गकर्मीहरूको सहयोगार्थ विशेष मञ्चन गर्न लागेको मण्डला थिएटरले जनाएको छ ।
मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’लाई अहिलेसम्म नियमित २८ वटा मञ्चनमा ३५ सयभन्दा बढी दर्शकले हेरिसकेका छन् ।
यस नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मेरुदण्ड हो ।
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषणा गरेको ७ निर्देशकमध्येको तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।
देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयम्को हो ।