
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औं दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताए ।
‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढेका छौं, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्’, केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने ।
उनले विद्यार्थीलाई पढाईसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए । ‘सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ ।’ प्रधानमन्त्री ओलीले सीप र उत्तरदायित्वबाट विद्यार्थीले देश र नागरिकको पहिचान कायम राख्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले धर्तिको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा दुःखेसो पोख्दै अन्य भूभागसमेत मरूभूमि बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरे । ‘अरूका गल्तीले धर्तीका भूभाग मरूभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौं, कालापत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ’, उनले भने ।
उनले पुर्खाले वरपीपल र तुलसी धेरैभन्दा धेरै रोपेर अक्सिजनका लागि ‘ब्यालन्स’ मिलाएको उल्लेख गर्दै पारिस्थितिकि चक्रलाई नबिगार्न त्यसो गरिएकाले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्दछ भन्ने विषयमा आफूले जोड दिँदै आएको बताए ।