
सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्षित भएका छन्।
माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको सशस्त्र युद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा सेतिदेवी पञ्चकन्या मावि कुविण्डेबाट हासिल गरेका थिए।
तर, उनी माओवादी युद्ध शुरू भएपछि माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत भए । त्यतिबेला माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत हुनुपरेको उनका निकटवर्तिहरू बताउँछन् ।
सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि माओवादी सेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए। उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनशैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आईए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन्।
शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले फेसबुकमा लेखेका छन्, ‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ। कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्यो। विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएरपछि टुटेको औपचारिक अध्ययन शान्ति प्रक्रियापश्चात जोडेको थिएँ ।’