
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको भवन मंगलबार हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय दूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा भवन हस्तान्तरण गरे ।
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । जसलाई जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरे । नवनिर्मित संरचना विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास लिइएको छ । साथै, यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख थापाले बताए ।

प्राथमिक विद्यालयका रूपमा भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नति भएको हो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थी अध्ययनरत छन् जसमा ५४ प्रतिशत छात्रा रहेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको दूतावासका काउन्सलर सिंहले बताए ।
