
महिलाले नेतृत्व लिएपछि बुटवलका केही सामुदायिक विद्यालय सुधारको बाटोमा अघि बढेका छन् । महिला प्रधानाध्यापक भएका केही विद्यालयले शैक्षिक, व्यवस्थापन र गुणस्तरमा उल्लेखनीय सुधार गरेका हुन् ।
उचित कक्षा कोठा, फर्निचर र भवन अभावले एक दशअघिसम्म छायाँमा परेको बुटवल–११ प्रगतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले अहिले धमाधम विद्यार्थी तानिरहेको छ । विद्यालयकी प्रधानाध्यापक (हेडम्याम) शिवकुमारी अर्याल भन्छिन्, ‘म यहाँ पढाउन शुरू गर्दा जम्मा ४५ विद्यार्थी थिए, अहिले ६०० पुगेका छन् । गत वर्ष विद्यालयबाट एसईई परीक्षा दिएका ८० प्रतिशत बढी विद्यार्थीले कक्षा ११/१२ पढ्न पाउने ‘ग्रेड’ ल्याए । अहिले पनि राम्रो रिजल्टको प्रतिक्षामा छौं ।’
स्कूल वरपरका ठूला र बलिया संस्थागत (बोर्डिङ) विद्यालयसँग प्रतिस्पर्धा गर्दै स्कूलको शैक्षिक र भौतिक गुणस्तर विकासमा प्रअ अर्याल लागिरहेकी छन् । ‘सुकुम्बासी क्षेत्र, ऐलानी जग्गा र बढी राजनीतिक हुने क्षेत्र हो यो,’ प्रअ अर्याल थप्छिन्, ‘लामो शैक्षिक यात्रामा विद्यालयको गुणस्तर सुधार गर्दै यो ठाउँसम्म ल्याउन सफल भएका छौं । आत्मविश्वासले सफलता दिलायो ।’ स्कूलको नेतृत्व गरेपछि जागिरे मानसिकता नभई घरपरिवारझैं उत्तरदायी भएर काम गरेको उनी बताउँछिन् ।
०००
बुटवल–६ स्थित साधना महिला स्कूल (मावि)का आमाहरूकी गुरुआमा हुन् विष्णु गौतम । अधूरो शिक्षा पूरा गर्न आमाहरूले पढ्ने स्कूलको नेतृत्वमा (प्रअ) गौतम आएपछि विद्यालयमा आमूल परिवर्तन आएको छ । २८० जना आमाहरू पढ्ने स्कूलमा पढाउने शिक्षकहरू पनि सबै महिला मात्रै छन् । महिलाहरूकै पहलमा विस. २०६३ मा स्थापित स्कूलमा विभिन्न कारणले बीचमा पढाइ छाडेकाहरू बढ्छन् ।
अहिले स्कूलमा आमाहरूको पढ्ने मोह बढेको प्रअ विष्णु बताउँछिन्। ‘पढाइलाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं भन्ने हाम्रो विद्यालयको नारा हो,’ विष्णु भन्छिन्, ‘विभिन्न कारणले बीचमा पढाइ छोडेकाहरूले अहिले पढाइ पूरा गर्नुभएको छ ।’
अहिले भौतिक व्यवस्थापनअन्तर्गत कक्षा कोठा थप, कम्पाउण्डलगायत पेटी–बरण्डा र सिडीमा टायल/मार्बल बिच्छ्याएको, कम्प्युटर ल्याब र शिक्षक तथा प्रशासन कक्ष व्यवस्थापनसँगै आर्थिकमा पनि सुधार भएको उनले बताइन् । १० जना शिक्षकलाई विद्यालयकै स्रोतबाट तलब सुविधा उपलब्ध गराउँदै आएको उनले बताइन् ।
०००
बुटवल–४ लक्ष्मीनगरस्थित लक्ष्मी माविकी प्रअ शान्ति शर्मा पनि विद्यालयको सुधारमा जुटेकी छन् । केही वर्ष अघिसम्म शैक्षिक वातावरण कमजोर रहेको लक्ष्मी माविले यतिबेला स्तरीय पठनपाठनसहित भौतिक प्रगतिमा फड्को मारेको प्रअ शर्मा बताउँछिन् । विद्यालयको शैक्षिक र पूर्वाधार परिवर्तनका लागि लडिरहेको उनको भनाइ छ ।
‘विद्यालय सुधार गर्न शिक्षक र कर्मचारीका छोराछोरी आफ्नै स्कूलमा पढाउने अभियान थालेका छौं,’ शर्मा भन्छिन्, ‘अंग्रेजी माध्यमबाट पनि पठनपाठन शुरू गरेका छौं, आर्थिक अभाव भएका बालकालिका मात्रै पढ्ने स्कूलबाट रूपान्तरण गर्न हामी जुटेका छौं ।
ठूलो पहिरोको जोखिमले केही विद्यार्थी कम भए पनि आउँदो वर्षबाट क्रमशः सुधार हुने उनले बताइन् । ‘महिलाले काम गर्न सक्दैनन् भन्ने सोचाइबाट हाम्रो समाज विस्तारै माथि उठ्दै छ’ शर्माले भनिन्, ‘स्कूलमा कामको बाँडफाँट गरेपछि विस्तारै शिक्षक, समुदाय र विद्यालय व्यवस्थापन समितिको साथ र सहयोग पाउँदै अघि बढेकी छु ।’ अहिले लक्ष्मी माविमा २१६ जना विद्यार्थी अध्ययनरत छन् ।
०००
बुटवल–८ रामनगरस्थित जनता माध्यमिक विद्यालय वरपर ठूला संस्थागत र सामुदायिक स्कूल छन । ठूला विद्यालयका छायाँमा परेर स्कूलले फड्को मार्न सकेको थिएन । तर, अहिले भने विद्यालय सुधारको बाटोमा छ ।
औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरका छोराछोरी पढ्ने स्कूलको विकासमा अहिले सबै जुटेको प्रअ आशा बस्नेत बताउँछिन् । ‘यो क्षेत्रमा बुटवलका धनी मानिसहरू बस्नुहुन्छ’ बस्नेत भन्छिन्, ‘विद्यालयमा २२५ जना विद्यार्थी छन् । अहिले सबैले विद्यालयको विकासमा लाग्नुपर्छ भन्ने बुझ्नुभएको छ । हामी बामे सर्ने बाटोमा छौं ।’
प्रअ बस्नेत विद्यालय सुधारमा जुटेकी छन् । नजिकै ठूला कालिका मानविज्ञान मावि र वडामा धेरै संस्थागत विद्यालय भएर पनि आफूले थालेको प्रयासबाट विद्यालयमा सुधार आएको उनी बताउँछिन् ।
बुटवल उपमहानगरपालिकाभित्र मदरसासहित ३९ सामुदायिक विद्यालय छन् । जसमध्ये १४ वटा स्कूलमा महिला प्राधानाध्यापक छन् । जनज्योति आधारभूत विद्यालय बुटवल–३ मा बिजु कार्की, सूर्योदय आधारभूत स्कूल बुटवल–११ मा प्रअ शोभा ज्ञवाली, मायादेवी जनजागृति आधारभूत विद्यालयमा दिनकला न्यौपाने र जनशक्ति आधारभूत विद्यालय बुटवल–१७ मा कल्पना भण्डारी प्रअ छन् ।
यसैगरी नरैनापुर आधारभूत स्कूल बुटवल–१६ मा प्रअ अम्बिका अर्याल, दुर्गा भवानी प्रावि बुटवल–१५ मा कल्पना बेल्बासे, सरस्वती प्रावि बुटवल–१४ मा शिवा पोखरेल, बुटवल बालमन्दिर प्रावि बुटवल–५ मा सीता पंगेनी र सुस्त मनस्थिति विद्या बालमन्दिरको प्रअमा मीना भुसाल छन् ।
पछिल्लो वर्ष महिला शिक्षकको संख्या बढ्दै गएको छ भने महिला प्रअहरूले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै गएका छन् । आधारभूत तहमा पुरुषभन्दा महिला शिक्षकको संख्या बढी पुगिसकेको छ । शुरूमा सीमित महिला शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको थियो । उनीहरूले राम्रो काम गरेको देखेर अहिले १४ जनालाई प्रअको जिम्मेवारी दिइएको हो ।