२६ जेठ २०८३, मंगलबार
संस्मरण

दलित भनेर गरिएको त्यो अपमान

माघ २६, २०८१
काठमाडौं
दलित भनेर गरिएको त्यो अपमान

बेलगाम, कर्नाटकको बसाइँलाई सम्झनाहरूको आलिङ्गनमा छोड्दै, जुलाई २७ को बिहान आयो । ज्वाइँ गणेश शाही र शान्ति थापा भाइले मप्रति माया र स्नेहले भरिएको बिदाइ दिएर बसपार्कसम्म पुर्‍याए ।

बिदाइका मौन तर भावनाले भरिएका हातहरू हल्लाउँदै म गोवातर्फ जाने बसमा प्रवेश गरेँ । उनीहरू आफ्ना कर्मपथतर्फ फर्किए । म नयाँ गन्तव्यतर्फ अग्रसर भएँ । मनमा विगतको मिठास थियो, भविष्यको अनिश्चितता र यात्राको अव्याख्येय रोमाञ्च ।

करिब दुई वर्षसम्मको बेलगाम बसाइँ मेरा लागि सहज र स्मरणीय रह्यो । कुनै असहजता वा कठिनाइको अनुभूति कहिल्यै भएन  । किनभने मभन्दा अघि नै त्यहाँ मेरो आदरणीय भतिजको उपस्थिति थियो । ‘आदरणीय’ किन भन्छु भने उनको कर्मशीलता, उनका आदर्शहरू, उनको निष्ठा, नम्रता र कहिलेकाहीँ देखिने गम्भीर मौनताले मलाई गहिरोसम्म प्रभावित पारेको थियो । 

उनी मात्र एक व्यक्ति होइनन्, अनुशासन र समर्पणको प्रतिमूर्ति थिए-भूपेन्द्र बहादुर थापा । उनको व्यक्तित्वको रुखोपनभित्र लुकेको सौम्यता र दृढताले मलाई मुग्ध बनाएको त्यही समय थियो । उनीसँग बिताएका क्षणहरूले जीवनलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो ।

बेलगाममा बिताएका ती दिनहरू कहिल्यै कामको बोझजस्तो लागेन । वातावरण यति सहज र पारिवारिक थियो कि म आफैंलाई श्रमभन्दा पनि अनुभवको यात्रामा रहेको महसुस गर्थेँ । साहुहरूसँग सौहार्दपूर्ण सम्बन्ध थियो र सहकर्मीहरू सबै असल मनका, दक्ष र सहयोगी थिए । 

भतिज भूपेन्द्र र मैले धेरै समय सँगै बितायौँ । हाम्रो संवाद केवल दिनचर्याको कुरामा मात्र सीमित थिएन, बरु समसामयिक विषयदेखि लिएर जीवनका गहिराइमा पुग्ने विमर्शसम्म फैलिन्थ्यो । विशेष गरी समस्या समाधान र परस्पर सहयोगका सम्बन्धमा हाम्रा छलफलहरू निरन्तर भइरहन्थे । ती संवादहरू केवल विचारको आदानप्रदान मात्र थिएनन्, ती जीवन बुझ्ने र अघि बढ्ने मार्गदर्शन पनि थिए । 

भूपेन्द्रसँगको संगत मेरा लागि एउटा मूल्यवान पाठ बन्यो । उनको विचार, अनुशासन र जीवनप्रति रहेको सकारात्मक दृष्टिकोणबाट मैले धेरै राम्रा कुरा आत्मसात् गर्ने अवसर पाएँ । मबाट उनले के पाए, त्यो त उनैलाई थाहा होला । तर, मैले उनलाई जीवनलाई बुझ्ने नयाँ दृष्टि र आत्मविश्लेषणको अवसरका रूपमा पाएको थिएँ ।

जब म साथीहरू, सहकर्मीहरू र काम गरिरहेको त्यो परिचित वातावरण छोड्दै थिएँ, मन भारी भएको महसुस भयो । म आफ्नो बाटो लाग्दै गर्दा उनीहरूको मनमा पनि बिदाइको पीडा थियो होला । बेलगाममा बिताएका ती क्षणहरू केवल एक ठाउँमा बिताएको समय मात्र थिएन, आत्मीय सम्बन्धको गहिरो स्पर्श थियो । 

शान्ति भाइ, गणेश शाही, अमृत शाही, सुन्दर शाही, नवीन बस्नेत र अनगिन्ती साथीभाइहरू, जो मेरो जीवनको अभिन्न अंश बने, तिनीहरू सबैसँग बिताएको पलहरू सम्झनामा जीवन्त भइरहे । 

गोवामा नयाँ अवसर खोज्न मसँगै आएका भतिज पारस शाहीलाई पनि म अत्यन्तै मिस गरिरहेको थिएँ । यात्रा त केवल भौतिक दूरीको कुरा हो तर, सम्बन्धहरू हृदयमा रहन्छन् र ती सम्झनाहरू कहिल्यै मेटिँदैनन् । 

बेलगाम छोड्नुको मेरो मूल कारण आर्थिक स्थायित्व र केही अतिरिक्त सुविधाको खोजी थियो । जीवन अघि बढ्नका लागि परिवर्तन आवश्यक हुन्छ र यही सोंचका साथ मैले नयाँ अवसरको खोजीमा गोवा जाने निर्णय लिएँ । 

चारजना साहुहरूसँग भर्चुअल अन्तर्वार्ता दिइसकेपछि, जुलाई २८ बाट मैले ‘काके दी हट्टी’ रेस्टुरेन्टमा म्यानेजरको रूपमा आफ्नो यात्रा शुरू गरेँ । तर, यहाँ अवसरभन्दा चुनौतीहरू बढी थिए । 

नौलो ठाउँ, नौला मानिसहरू मभन्दा अघि नै रेस्टुरेन्ट उद्घाटनदेखि निरन्तर खटिरहेका कर्मचारीहरू अनि गोवाको खुला र भिन्न वातावरण । मदिरा यहाँ सहजै र सस्तोमा उपलब्ध भएकाले यसको असर व्यवसाय र कर्मचारीहरूमा प्रत्यक्ष देखिन्थ्यो । 

तर, सबभन्दा असहज पक्ष त आफ्नै नेपाली दाजुभाइहरूको व्यवहार थियो । प्रारम्भिक दिनहरूमा, मदिराको नशामा उनीहरूले दिएको तनाव, असहयोग र असहज परिस्थितिले मलाई कतै गलत निर्णय त गरिनँ भनेर सोच्न बाध्य बनायो । कहिलेकाहीँ लाग्थ्यो, म यहाँ आउनु नै भूल त भएन ? तर, जीवनका यस्तै चुनौतीहरूले मानिसलाई बलियो बनाउँछन् र मैले पनि आत्मबल गुमाउन चाहिनँ । 

समय बित्दै गयो । तर, केही मानिसहरूको स्वाभाव भने उस्तै रह्यो । उनीहरू सुध्रिने संकेत देखिँदैनथ्यो । अन्ततः समयले आफ्नो बाटो पहिल्यायो र तिनीहरूले पनि आफ्नो दिशानिर्देश आफैं तय गरे । 

मेरो लक्ष्य कसैसँग सम्बन्ध बिगार्नु थिएन, न त कसैलाई अँगालेर आफ्नो बनाउनु नै । म आफ्नो पदअनुसारको जिम्मेवारीमा केन्द्रित थिएँ र मेरो सम्पर्क सीमित रूपमा केवल कामसम्मै सीमित रह्यो । 

आजको दुनियाँमा ज्ञान बाँड्नु भनेको कहिलेकाहीँ आफ्नै मूर्खताको प्रमाण पेश गर्नुजस्तै लाग्छ । अनुभवले सिकायो, सबैलाई बुझाउनु आवश्यक छैन । न त आफूलाई प्रमाणित गर्न कोसिस गर्नुपर्छ ।

त्यसैले, न मैले आफूलाई चिनाउन जरुरी ठानेँ, न त अरूलाई मेरो परिचयको आवश्यकता थियो । मेरो कर्म नै मेरो पहिचान बनोस् भन्ने विश्वासका साथ म अघि बढिरहेँ ।

०००

अब मूल विषय-
सरसफाइ युटिलिटीमा कार्यरत चारजना मेहनती दिदीबहिनीहरू थिए । आफ्नो जिम्मेवारी पूरा गर्थे तर, गोवामा पनि मानिसहरू बाहिरी रूपकै आधारमा मूल्यांकन गर्ने प्रवृत्ति देखियो । 

हुन त, जहाँ नेपालीहरू छन्, त्यहाँ सोचाइको सीमितता पनि सँगै हुन्छ भन्ने कुरा अनुभव गरिरहेको थिएँ । मानिसहरूले सतही दृष्टिकोण राखेर निष्कर्ष निकाल्ने बानी छोड्दैनन् । मेरो टाउकोको तालु खुइलिएको थियो, कपाल कम थियो, अनि म लामो जुँगा-दाह्रीमा थिएँ । यही आधार हो या कोपकल्पित आधार खडा गरेर मानिसहरूले मलाई ‘दलित’ भन्न भ्याए ।

के बाहिरी स्वरूपले मानिसको जात, वर्ग या पहिचान निर्धारण गर्छ ? के केवल जुँगा-दाह्री पाल्दैमा वा कपालको स्वरूप फरक हुँदैमा कोही ‘दलित वा उच्च’ हुन्छ ? यस्तो सोच कहाँबाट आयो ?

यस्ता घटनाहरू देख्दा लाग्थ्यो, शिक्षा र चेतनाको अभावले मानिसलाई कति संकुचित बनाउँछ ! जसले सोचको स्तर फराकिलो बनाउनुपर्थ्यो, उसैले तुच्छ मानसिकता प्रदर्शन गर्दा समाज कहिले अघि बढ्ला भन्ने प्रश्न उठ्थ्यो । 

परिचयको क्रममा मैले मेरो नाम ‘सूर्य थापा’ भनेँ । यत्ति भन्दा पनि पुग्दैन रहेछ, एउटी दिदीले फेरि सोधिन्- तपाईं खसमा पर्नुहुन्छ?’

मैले सहजै भनेँ- ‘म यहाँ म्यानेजरको रूपमा काम गरे पनि, गाउँमा मेरो हातको पानी चल्दैन । अब के गर्नु, समयले यस्तै बनायो ।’

त्यो सामान्य वाक्य कसरी फैलियो, कसरी व्याख्या भयो, म बुझ्नै सक्दिनँ । तर, भोलिपल्टदेखि नै वातावरण बदलियो । असली अपमान त्यहाँबाट शुरू भयो ।

अब कामको मामिलामा नेपाली दिदीबहिनीहरूको व्यवहार परिवर्तन भयो । म केही काम तोक्दा उनीहरू झर्किन्थे । उग्र प्रतिक्रिया दिन्थे र कहिलेकाहीँ त बोलीबाटै अपमान गर्ने गर्थे । शुरूमा बुझिनँ, समस्या के हो ? कुनै व्यवस्थापनमा त्रुटि भयो कि ? कतै तलब समयमा पुगेन कि ? कसैले बढी कामको दबाब दियो कि ? 

एकदिन मैले उनीहरूलाई सोध्नै पर्‍यो, ‘तपाईंहरूको खास गुनासो के हो ? समयमै तलब पाइरहनुभएको छैन ? कसैले जबर्जस्ती बढी काम गराएको छ ? यहाँ कोही थिचोमिचो गरिरहेको छ ? कसैले हिंसा गर्‍यो कि ?’

शुरूमा त सबै मौन बसे । तर, केही क्षणपछि एउटी दिदीले साहस जुटाएर जवाफ दिइन्, ‘हामी त गाउँमा तल्लो जातको, दलितको छोएको पानी पनि चलाउँदैनौं । यहाँ त उल्टै उसले काम अराउँछ । पैसाको जरुरत भएकाले मात्र यहाँ छौं, नत्र हामी दलितको मुखै लाग्दैनौं ।’

त्यो सुनेर केही क्षण म स्तब्ध भएँ । यो कुन युगको सोचाइ हो ? कुन चेतनाको स्तर हो ? मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण अझै पनि यति संकुचित हुन सक्छ भन्ने कुरा देख्दा उदेक लाग्यो । 

म व्यवस्थापक थिएँ । मेरो जिम्मेवारी थियो,  सबैलाई समान व्यवहार गर्नु, कामको अनुशासन कायम गर्नु । तर, यहाँ त नेपाली हुनुको अर्थ मात्र एक भाषा बोल्नु रहेछ, सोचाइमा एकताको नाममा विभाजनका गहिरा खाडलहरू अझै पनि बाँकी रहेछन् ।

त्यो दिन मैले बुझेँ, शिक्षा किताबमा मात्रै सीमित हुँदा, चेतना उस्तै रहन्छ । समयले परिवर्तन गरे पनि, मनहरू अझै पुरानै चौघेरामा बाँधिएर बसेका छन् । 

जीवनमा पहिलो पटक १२० भोल्टको झट्का लागेको जस्तो अनुभव गरेँ । शरीरले होइन, आत्माले महसुस गर्‍यो त्यो झट्का, जातीय विभेदको कटु यथार्थले । 

हिजोसम्म म चेत बसेपछि जातीय विभेदविरुद्ध कलम चलाउने मान्छे थिएँ । समानताका पक्षमा लेख्थेँ, बोल्थेँ तर, जब वास्तविकताले मलाई घेराबन्दी गर्‍यो, जब विभेदको पीडा आफ्नै छालामा महसुस गरेँ, म एकाएक मौन भएँ । 

एकोहोरो टोलाउँथे, घरी उनीहरूको बोली सम्झिन्थेँ, घरी आफैंलाई प्रश्न गर्थेँ, ‘यो वास्तविकता मैले पहिले देख्न नसकेको थिएँ कि मैले देख्नै चाहिनँ ?’ 

उनीहरूलाई म ‘कथित माथिल्लो जात’को हुँ भनेर चिनाउनु जरुरी थिएन । त्यो प्रश्न नै गलत थियो, किनकि म आफूलाई सधैँ एउटै चीज ठान्थेँ, मान्छे । तर यहाँ, मान्छे हुनु पर्याप्त रहेनछ । 

जातको खोलमै मान्छे पहिचान खोज्ने समाजमा, मैले पाएको त्यो झट्का एक दिनको पीडा मात्रै थिएन । त्यो झट्का मेरो सोच, मेरो लेखनी र मेरा विश्वासहरूलाई पुनर्विचार गर्न बाध्य पार्ने एउटा कठोर यथार्थ थियो ।

दिदीबहिनीहरू आफ्नो चुलो-चौको र परिवारका सदस्यहरूलाई छोडेर गोवामा काम गर्न आएका थिए । उनीहरूको संघर्षको कथा बुझ्न पनि गाह्रो थिएन। त्यहाँ काम सानो ठूलो हुँदैन र हुनु पनि हुँदैन । संघर्षको तीव्रताले नै जीवनका सबै पक्षलाई परिभाषित गर्छ तर, एक जिज्ञासाले मलाई एक महिना जति पिरोल्यो । जातीय विभेद भनेको के हो र तिनीहरूले त्यसरी अरूसँग भेदभाव कसरी गर्न सके ? 

तिनीहरूको संघर्षसँगै, मैले आफैंलाई यो प्रश्न गरिरहेँ। त्यो समय जति बित्यो, म सचेत हुँदै गएँ र एक दिन मैले ती दिदीबहिनीहरूसँग खुलेर संवाद पनि गरेँ । मैले उनीहरूलाई गहिरो ज्ञान र समझ दिने कोसिस गरेँ । 

तर, साँचो कुरा भनेको विभेदको जरा केवल बाह्य रूपमै सीमित हुँदैन । त्यो जरा त मानव मस्तिष्कको गहिराइमा गुम्सेर बसेको हुन्छ । र, म आफूलाई यो स्वीकार्न बाध्य भएँ। के म, के तिनीहरू, यस्ता कुनै बाह्य शक्ति, इन्द्रेका बाउ चन्द्रे पनि आएर यसको समाधान गर्न सक्दैनन् । 

समयसँगै मैले एक महत्त्वपूर्ण पाठ सिकें: जति व्यस्त भए पनि, जति ठूलो या सानो पदमा भए पनि, नेपाली समाजका कतिपयलाई राजनीति गर्न, संघसंस्था खोल्न र जातीय विभेद गर्ने समय भनेजस्तो नै तयार हुन्छ । यसले मलाई जीवनका एक नयाँ पक्षको महत्त्वपूर्ण बुझाइ दिएको थियो, जसले विचार र भावना सँगसँगै नै विकसित हुनु पर्ने हो भन्ने कुरा स्पष्ट पार्‍यो ।

मलाई अनुहारको कारणले दलित भनेर व्यवहार गरियो र प्रश्नहरू त्यसको आधारमा तेर्स्याइयो । एकपटक जब मैले आफूलाई सूर्यबहादुर थापा भनेर परिचय दिएको, तब पनि बारम्बार दिदीहरू मसँग सोध्थे- ‘तपाईं खसमा पर्नुहुन्छ ?’ 

मलाई यसो भनिएको प्रश्नले हैरान बनाएको थियो भने, तिनीहरूको दृष्टिकोणले मलाई अझ ठूलो प्रश्न उठायो । मैले साँच्चिकै सोच्न थालेँ, ‘हामी एउटा यस्तो समाजमा बस्छौं, जहाँ अनुहार र बाहिरी रूपका आधारमा हामीलाई मूल्यांकन गरिन्छ भने  वास्तविक दलितहरूले  हाम्रो समाजमा कति थिचोमिचो र अपमान सहनु परेको होला ?’

एकपलका लागि कल्पना गरौं, हामीलाई जस्तो केही थिचोमिचो परेको छ, त्यो भोगिरहेका तिनीहरूको जीवन कस्तो हुन्छ ? यसले मेरो हृदयलाई गहिरो तरङ्ग दिएर सोच्न बाध्य बनायो । तर, समयसँगै के भएको भने, तिनी दिदीबहिनीहरूमध्ये कतिपय अहिले लजाउँछन् । उनीहरू मसँग यो कुरा भन्छन्, ‘हाम्रो आँखा खोलिदिनुभयो, अब हामी विभेद गर्दैनौं ।’

यद्यपि, यो परिवर्तन सुखद् हो । मेरो मनमा भने अझै एक किसिमको पीडा गहिरो रूपले बसिरहेको छ । किनकि म बुझ्न सक्छु, मानिसहरूको सोंचलाई तत्काल बदल्न सकिँदैन र यसका लागि समय र गहिरो आत्मचिन्तनको आवश्यकता छ । जातीय विभेदको पीडा केवल बाहिरी अपमान मात्र होइन, यो मानव चेतनामा गहिरो रूपमा जरा गाडेको सामाजिक रोग हो । 

अनुहार, पहिरन वा नामका आधारमा गरिने मूल्यांकन समाजको सतही सोचको प्रमाण हो, जसले मानिसको अस्तित्वलाई सीमित परिभाषामा बाँध्न खोज्छ । जब म आफूले यस्तो भेदभावको सामना गरेँ, तब बल्ल वास्तविक दलितहरूले भोग्ने अपमान र पीडाको झल्को पाएँ । हाम्रो समाजमा समानताको नारा लगाइए पनि चेतनास्तर अझै साँघुरिएको छ । समयसँगै ती विभेद गर्नेहरूमध्ये कतिपय लज्जित भए, सचेत भए तर यो परिवर्तन तत्काल सम्भव हुँदैन । चेतना विस्तारका लागि शिक्षा मात्र होइन, आत्मचिन्तन आवश्यक छ ।

जात, वर्ग वा बाहिरी स्वरूपभन्दा माथि उठेर मानवतालाई आत्मसात गर्न सकेमात्र समाज रूपान्तरण सम्भव छ । विभेदको अन्त्य तब मात्र हुन्छ, जब हामी ‘पहिचान’ होइन, ‘व्यक्तित्व’ हेर्ने दृष्टिकोण अपनाउँछौं ।

salt training

कमेन्ट गर्नुहोस्