
भन्याको मान्नैनैई किन ए बुद्धिका टोटा!
भात खान्या रोगाती हुन्छन् रोटा खान्या मोटा !
म अलि जिद्दी स्वभावकै थिएँ । आमाका अगाडि त झन् कति हो कति । माथिको भनाइ आमाले गीतका रूपमा प्रयोग गर्नुभएको हो । जतिबेला मेरी आमा कोकिला थापा (हाल दिवंगत)ले भात पकाउनुभएको थियो । मैले म रोटी खान्छु भनेर जिद्दी गरेको थिएँ। अनि, आमाले मलाई पकाउन माथिका शब्द भन्नुभयो ।
आमाहरू पढेलेखेका हुन्थेनन् तर, आमाहरूले जिन्दगी पढेका हुन्थे । तिनै आमाहरूमध्ये मेरी आमालाई त किताबी ज्ञान कत्ति पनि थिएन । तर, मेरी आमाले जिन्दगी पढेकी थिइन् । सायद संसारमा जिन्दगी नपढेकी आमा कमै हुन्छिन्!
केटाकेटी उमेरमा जे नगर भन्यो त्यही गर्ने, जे चुलामा पाकेको छैन त्यही खान्छु भनी जिद्दी गर्ने प्राय: केटाकेटीहरूको बानी नै हुन्छ। घरमा भात नपाकेको बेला म भात खान्छु भनि जिद्दी गरिरहन्थें। त्यसैबेला आमाले यसो भनेर सम्झाउँथिन् :
लोटा समाई पानी ल्याउन धारा जा ए कान्छा!
रोटाले छेराउटी लाग्दी भातै खा ए कान्छा !
जसरी आमाहरूले अथाह दुःख कष्टहरूका बीच सन्तान जन्माउन हुर्काउन जानेका हुन्छन् ठीक त्यसरी नै सन्तानलाई फकाउन बुझाउन पनि आमाहरूले जानेका हुन्छन्। त्यसैले त भनिन्छ- आमाको महिमा अपरम्पार छ। आमाको लिला अपरम्पार छ । आमाको माया अपरम्पार छ । आमाको स्थान कसैले लिन सक्दैन । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !’
आमाभन्दा अगाडि कोही पनि छैन । यदि कोही छ भने देश छ । देश र आमा बराबरी छन् घटीबढी कुनै छैन!
आमाहरू पढ्ने कुनै विश्वविद्यालय हुन्थेनन् । कुनै पाठशाला हुन्थेनन् र पनि आमाहरू विद्वान थिए। वैज्ञानिक थिए। हामी बोल्न जान्थेनम र पनि आमाहरू हाम्रो भाषा बुझ्थे। हामीलाई भोक प्यास लागेको नत्र कसरी थाहा पाउँथे आमाहरू?
त्यसैले भनिन्छ सन्तानले ब्रह्माण्डलाई जितोस्, विश्वलाई जितोस् तर आमाबालाई कहिल्यै पनि जित्न सक्दैन । हाम्रा जीतहरूमा हाँसीखुसी हारिदिने हाम्रा आमाहरू बाहरू भन्दा माथि को हुन सक्छ र?
आमाको पेट, आमाको काख, आमाको छाती, बाको काँध, बाको हात, बाको ढाडलाई भन्दा हामीले बढी दुःख कसलाई नै दिएका हुन्छौं र?
तिनै बाआमा बुढा भए राति खोक्दा हामी भन्छौं- रातभरि बड्डाले सुत्न दिएन । बड्डीले सुत्न दिइन ।
झर्को गरी गफ छाट्ने पनि हामी सन्तानहरू नै होइनौं र? छोराले पानी नखाँदा, दूध नचुस्दा निन्याउरो भइरहँदा, वैद्य,धामी झाँक्री र डाक्टरहरूका पासमा रातदिन नसुती खट्ने हाम्रा बाआमाहरूको योगदान हामीलाई हुर्काउनमा कति छ? हामी त्यसको मूल्य चुकाउन कदापि सक्दैनौं!
धर्तीमा निस्किँदा बित्तिकै रोएन भन्ने चिन्ता, ६ महिनाको हुँदैमा अन्न खाएन भन्ने चिन्ता, वर्षको पुग्नै लाग्दा धर्तीमा गोडा टेक्न सकेन भन्ने चिन्ता । यस्ता अथाह चिन्ता लिने आमाबाहरू आफूले अन्तिम सास नलिँदासम्म सन्तानकै चिन्तामा रुमल्लिरहेका हुन्छन् । कसरी बुझ्छन् आमाहरूले हाम्रो भाषा ? कसरी थाहा पाउँछन् हाम्रा इच्छा र चाहनाहरू आमाबाले? कहीँकतै नहारेका आमाबाहरू किन हार्छन् आफ्ना सन्तानका अगाडि?
थाहा छ, तपाईं-हामी तिनै आमाबामाथि मुटुमा लाग्ने खालका वचन प्रहार गर्छौं र पनि तिनीहरू दुःख नमानी हाम्रा लागि मुसुक्क मुस्काइदिन्छन्। जिन्दगीभर डोको हँसिया नाम्लो बोकेर हिँड्ने मेरी आमा चप्पल लगाउन जान्थिनन् । तर, हामीलाई चप्पल लगाउन सिकाउँथिन् । त्यतिबेला एउटा/दुईटा मात्रै सन्तान हुन्थेनन् करिब आधा दर्जन सन्तानको लालनपोषणमा आमाले खर्चिएको समय, भोगेका दुःख र भोकै बसेका रातदिनहरू सम्झँदा हामीलाई अहिले कथा लाग्छ।
सन्तानले राम्रो काम गर्दा बाको नाम आउने र नराम्रो गर्दा आमाको नाम आउने अहिले पनि हाम्रो समाजमा विद्यमान चलन छ। सन्तान दृष्टिविहीन,अशक्त या सुस्तमनस्थितिको भएपनि आमाको नजरमा कहिल्यै पनि दृष्टिविहीन,अशक्त र सुस्तमनस्थितिको हुँदैन । र, आमाको ममता कुनै पनि सन्तानमा भेदभावपूर्ण कहिल्यै हुँदैन। निधारमा बरियो एक हातमा आसी र पिठ्युमा घाँसको डोको, त्यही डोकोको माथि सन्तानलाई राखेर हिँड्ने आमाहरू कुनै युद्ध लड्न तम्सिएको साहसिक योद्धाभन्दा कम कदापि हुँदैनन्।
इतिहास पढ्दा,सुन्दा जसरी सुनिन्छ फलानो राज्य कब्जा गर्दा फलानाले यसरी लड्यो, फलानाले त्यसरी लड्यो । ठीक त्यसरी नै घरपरिवारको साम्राज्य चलाउन आमाले लडेको युद्ध लड्ने सामर्थ्य सायद बाभित्र पनि अलि कम हुन्छ । यो भनिरहँदा मैले बा कर्तव्यबाट पन्छिएको कुरा गरेको होइन । सायद, आमाले भोगेको दुःख भन्दा बाले भोग्ने दुःख अलि कम नै हुन्छ।
गोठका तीन/चारवटा भैँसी, दुईवटा गोरु करिब १०/१२ वटा बाख्रा २५/३० जानी खेतबारी, चुलाचौका र पिँढीमा भोकाएका करिब आधा दर्जन लालाबालाको स्याहार सुसारमा चौबीसै घण्टा खटिरहने आमाहरूलाई आरामको जरुरत हुँदो हो, भोक लाग्दो हो, निद लाग्दो हो । तर, कहिल्यै कसैसँग म भोकी छु, मलाई निद लागेको छ, मलाई प्यास लागेको छ, मलाई थाक लागेको छ भनेर गुनासो नगर्ने आमाहरूलाई आजीवन उच्च सम्मान छ।
फलानाले देशका लागि लड्यो, फलानाको सम्मान गर्नुपर्छ, फलानाको नाउँमा चोक स्थापना गर्नुपर्छ भनेर कुर्लदै हिँड्ने हामीहरू पनि आमाको योगदानलाई नजरअन्दाज गरिरहेका हुन्छौं। तिनै आमाको स्याहार सुसार र संस्कारले हुर्किएका छोरा सन्तानहरू नै हुन् आखिर देशका लागि लड्ने र मर्ने । तर, यो कुरा बारबार हाम्रो मानसपटलबाट बाहिर निस्किरहेको हुन्छ। सन्तानको पहिलो स्कूल या जिन्दगीको डिग्री लिने कुनै विश्वविद्यालय छ भने त्यो आमाको गर्भाशय, आमाको काख, आमाको छाती र आमाको संस्कार नै हो।
कागजी डिग्री लिने, पढाउने विश्वविद्यालयहरू संसारमा अथाह छन्। तिनै विश्वविद्यालयहरूको सम्मान गर्नुपर्दैन, गर्नुहुँदैन पनि भन्न खोजिएको होइन । तर, पहिलो विश्वविद्यालय आमाको गर्भाशय हो । आमाको छाती हो। आमाको काख हो। र, आमाको भरणपोषण हो।
यसो भनिरहँदा बाउको उत्तरदायित्व कम र जीवनमा गुरुहरूको कमिलाई उल्लेख गर्न खोजिएको होइन, आ-आफ्नो ठाउँमा सबैको उत्तिकै योगदान छ । तर, त्यसमध्ये पनि आमाको योगदानलाई अरु कसैको योगदानसँग तुलना गर्न मिल्दैन भन्ने म ठान्छु ।
अहिलेका आमाहरू पनि पहिलेका आमाभन्दा कम कदापि छैनन् । काखमा बच्चा च्यापेर सरकारी सेवामा खटिएका, सुरक्षा सेवामा खटिएका आमाहरूको योगदान पनि पहिलेका आमाहरूको योगदानभन्दा कम कदापि छैन। हामीले यो कुरा बुझ्न जरुरी छ, आमाहरू पहिलेका र अहिलेका हुँदैनन् आमाहरू सधैं नै आमा नै हुन्। आमाको काम, कर्तव्य र जिम्मेवारी अरु कसैले पनि उठाउन सक्दैन!
आफ्नो मुलुकमा मात्र सीमित नभई आफ्ना लालाबालाको भोक प्यासलाई मध्यनजर गरी, पढाइलाई ध्यानमा राखी खाडीमा मुदिरहरूको गाली खान विवश आमाहरूको कथा व्यथालाई म कसरी प्रस्तुत गरुँ? अनि, त्यही समाजले लान्छना लगाउँछ । अलिकति लुगाफाटा र छालामा चम्किलोपना के आउँथ्यो फलानीले यसो गरी फलानीले उसो गरी भनेर तपाईं हामीहरू नै तिनै आमाप्रति प्रश्नहरू खडा गर्छौं।
यो समयमा हामी भुलिरहेका हुन्छौं, हामी पनि तिनै आमाहरूबाट जन्मेका हौं भनेर।
यदाकदा केही आमाहरू खराब पनि होलान्। तिनका बाध्यता पनि होलान् । तर, सयमा ९९ प्रतिशत आमाहरू कहिल्यै खराब हुँदैनन्। यदि आमाले कुनै गलत कदम चाले पनि केवल सन्तानको खुशी र सन्तानको खुशीको स्वार्थ जोडिएको हुन्छ। त्यसमा पनि आमाहरू कहिल्यै गलत हुँदैनन् र आमाहरूको चरित्रमाथि शंका गर्नु पनि पाप हो भन्ने हामी किन बुझ्दैनौं?
विभिन्न कारणवश दुई दिन घरबाहिर बसेर घर फर्किएकी आमालाई घरभित्र छिर्ने अनुमति हुँदैन। तर, दशक भन्दा बढी समय बाहिर बसेर बाहरू घर फर्किँदा पनि आमाले सहर्ष स्वीकार गर्नुपर्छ। यहाँनिरबाट शुरू हुँदैन र भेदभावको? तपाईंहरूलाई लाग्दैन यो भेदभाव हो भन्ने?
आमाको चरित्रमाथि शंका गर्ने बाहरूभित्र पर्ने तपाईं हामीहरू पनि त हो! समाजका अनेक लान्छना र भाषासँग लड्दालड्दै कहिल्यै हार नखाने आमाहरू आफ्ना सन्तानका अगाडि सधैँ निरीह देखिन्छिन्। जसरी सुन खाएर पचाउने पंक्षी कुखुरालाई भनिन्छ ठीक त्यसरी नै दुःख पीडा र आँसु खाएर पचाउन सक्ने यदि संसारमा कोही छ भने त्यो आमा हो। त्यसैले, आमाको ठाउँमा कोही अरु बस्न सक्दैन र बसाल्न पनि सकिँदैन।
मलाई अझै याद छ, मेरी स्वर्गवासी आमा कोकिला थापाले विक्रम सम्वत २०७८ साल वैशाख १३ गतेको बेलुका ‘कान्छा ! तलतिर काँङ्णो लाइहाल, खुर्सानी लाइहाल। म मरिगया भन्या पनि तमेरु खाउला त नातीहरू खालान् तेरा बा पनि खालान्’ भनेकी थिइन्। कस्तो दुखद् बिडम्बना! त्यसको भोलिपल्टै १४ गते बिहान साढे तीन बजे मेरी आमाले यो धर्ती छोडिन् र त्योभन्दा पछिको समय मेरो कस्तो छ त्यो मलाई मात्रै थाहा छ।
कालको प्रतीक्षामा बसेकी मेरी आमालाई आफ्नो मृत्युभन्दा पनि हामी बाँच्नेहरूको खानपिनको चिन्ता कति हो कति? त्यसकारण आमाको ठाउँमा कोही अरु बस्न पनि सक्दैन र बसाल्न पनि सकिँदैन। र, बसाल्नु पनि हुँदैन!