
लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरू भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले उक्त अभियान शुरू गरिएको हो ।
पूर्वविद्यार्थीको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा–आमाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको टिकाराम–तारादेवी अक्षय कोष स्थापना गरेका छन् । यो अक्षय कोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहनदार विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ ।
यस्तै, मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरे । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ, यो अभियानमा पूर्वविद्यार्थीहरूको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ,' मुख्यमन्त्री आचार्यले भने, ‘सामुदायिक विद्यालयलाई नमूना बनाउनका लागि यो अभियान कोशेढुंगा सावित हुनेछ ।'
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन यो अभियानले सहयोग पुर्याउने उनले बताए ।
७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।

'सामुदायिक विद्यालय धेरै व्यक्तित्व जन्माएको छ । धेरै छलफल गरेर पढेको विद्यालय प्रतिको दायित्व के हुने भनेर चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमितरूपमा अभियान चल्छ । प्रदेश सरकारले अभियान अगाडि बढाउने छ,’ उनले भने, ‘स्वदेश तथा विदेशमा रहनुभएका पूर्वविद्यार्थीले शैक्षिक र भौतिक सुधारका लागि आजको दिनले ढोका खोलेको छ । जिम्मेवारीको बोध गराउन अभियान थालिएको हो । पैसा नहुन सक्छ तर, सीप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।'
अर्घा रजस्थलमा मुख्यमन्त्री आचार्यले आधारभूत तहको शिक्षा आर्जन गरेका थिए ।
लुम्बिनीका १७ वटा विद्यालयबाट एकसाथ अभियानको शुभारम्भ गरिएको हो ।
सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालयप्रतिको जवाफदेहिता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा 'मेरो विद्यालय मेरो दायित्व' सामाजिक अभियान समावेश थियो ।
यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।
प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाएअनुसार अभियान थालिएको हो ।

२०८० को एसईई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीन जना मात्र ग्रेडेड हुन सफल भएका थिए । जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।
अभियानमार्फत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ ।
यस अभियानअन्तर्गत शिक्षाबाट वञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने छन् ।