
नेपालमा राजतन्त्र अन्त्य भएको डेढ दशक (२०६५–२०८१) बितिसक्दा समेत पूर्वराजाका गतिविधिले आमजनतामा तरंग सिर्जना गर्ने गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यका गतिविधि स्वदेश मात्र होइन, विदेशमा समेत चर्चाको विषय हुने गरेको छ ।
राजसंस्था र राजपरिवारप्रति आमजनताको चासो हुनुमा गणतन्त्र स्थापनाभन्दा ७ वर्ष पहिले भएको नारायणहिटी दरबार हत्याकाण्ड मुख्य कारण हो, जुन हत्याकाण्डको निष्पक्ष छानबिन होस् र वास्तविकता सार्वजनिक होस् भन्ने आममानिसको अपेक्षा अहिले पनि कायम छ ।
अहिले पनि सार्वजनिक यातायातका पछाडि पूर्वराजा वीरेन्द्रको परिवारका सदस्यहरूको तस्वीर राखेको देखिन्छ, न कि आन्दोलनले विस्थापित भएका ज्ञानेन्द्रको ।
पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशपछि राजावादी एकाएक जुर्मुराए । राजतन्त्रलाई भजाएर आफ्नो राजनीतिक दुनो सोझ्याएकाहरूले ज्ञानेन्द्र काठमाडौं फर्किने दिनमा आफ्नो शक्ति परीक्षणको मेसो मिलाए । आइतबार एयरपोर्टबाहिर पूर्वराजाको स्वागतका नाममा भीड जम्मा भयो ।
राजतन्त्रका पक्षधरहरूको प्रचार यस्तो थियो, मानौं कि निर्वासनमा गएका पूर्वराजा स्वदेश फर्किंदै छन् र त्यसैको विषयमा उत्सव मनाइँदैछ । आइतबारको प्रदर्शनमा ‘मानव सागर’ उर्लेको भनेर राजावादीहरू हौसिएका छन् ।

विमानस्थलमा बाजागाजासहित स्वागत गर्नुपर्ने कुनै विशेष परिस्थिति बनेको थिएन, तैपनि पूर्वपञ्चहरूले आइतबार थोरै भएपनि आफ्नो बोसो घटाए । राजतन्त्र बिर्सन लागेको पुस्तालाई फेरि एकपटक सम्झाइदिए ।
ज्ञानेन्द्र शाह काठमाडौं फर्किने विषय पछिल्लो साता ‘टक अफ द टाउन’ भयो । विमानस्थलबाट घर (निर्मल निवास) जान लागेका शाह नारायणहिटी नै फर्किन लागेको जसरी प्रचार जो भएको थियो ।
आन्दोलनमा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हुन्, या कमल थापा, सबैले अहिले पनि गणतन्त्र भोग गरिरहेका छन् । गणतन्त्रको उद्घोष गर्ने पार्टीको नेतृत्व (प्रचण्ड)को सरकारमा सहभागी भएर दुवैजना गणतन्त्रका हिस्सेदार भइसकेका छन् । लिङ्देन, थापा या अराजक दुर्गा प्रसाईंको नेतृत्वमा हुने आन्दोलनले राजा फर्काउने कुरा स्वयं ज्ञानेन्द्र शाहलाई पनि पत्यार लाग्दैन होला ।
देशको अर्थतन्त्र कमजोर बनेका बेला बैंकको ऋण नतिर्न उक्साउने, शब्दैपिच्छे कटुवचन बोल्ने प्रसाईंले राजतन्त्र फर्काउँछु भन्दा ज्ञानेन्द्रलाई शंकोच लाग्नुपर्ने हो । कमल थापाको कुरा नगरौं, उनी राजतन्त्र र धर्मलाई बेचेर शक्ति आर्जन गर्ने व्यापारी हुन् । एमालेसँग तालमेल गरेर चुनाव लडेका थापा अनुकूल पर्दा माओवादीको चिह्नबाट चुनाव लड्न पनि पछि पर्दैनन् ।
१० हजार आसपासको मासलाई देखाएर राजेन्द्र लिङ्देन– कमल थापाहरू व्यवस्था फेर्नुपर्ने दलिल गरिरहेका छन् । राजतन्त्र ढाल्न कुन स्केलको आन्दोलन भएको थियो भन्ने हेक्का जनआन्दोलन दबाउने पात्र समेत रहेका तत्कालीन गृहमन्त्री कमल थापालाई नभएको होइन ।
राजतन्त्रलाई घुँडा टेकाउन विमानस्थलको गेट होइन, सिंगो रिङरोडमा मानव साङ्लो बनेको धेरै भएको छैन ।
एयरपोर्टबाहिर उपस्थित संख्या र मनोविज्ञान
आइतबार पूर्वराजाको स्वागतका लागि भएको कार्यक्रममा तीनथरि मनोविज्ञानको संयोजन भएको देखियो । विगतमा राजतन्त्रको पालामा कुनै न कुनै ढंगले लाभ लिएका र अझै पनि त्यसप्रति आस्था राख्ने व्यक्तिहरू, जो उमेरले ६० वर्षभन्दा माथिका छन् । दोस्रो– राजतन्त्रलाई देखाएर शक्ति आर्जन गर्न चाहने शक्तिहरू लिङ्देन, थापा र प्रसाईं र उनका आसेपासे । तेस्रो, रमितेहरू, जो रमाइलो हेर्न गएका थिए ।
निश्चय पनि आइतबारको प्रदर्शनमा राजावादीहरू हौसिनुको कारण सत्ताको नेतृत्व गरेका र गर्दैआएका राजनीतिक दलप्रतिको आक्रोश प्रमुख पक्ष हो । सामाजिक सञ्जाल र कहीँ कतै जवाफदेही हुनुनपर्ने सञ्चार माध्यम (युट्युब)ले फैलाएको अफवाहले जनतामा आक्रोश पैदा भएको छ ।
मानिसहरूले आफ्नो क्षेत्रमा भइरहेको विकास हेरेका छैनन्, सामाजिक सञ्जालको ‘अल्गोरिदम’का आधारमा राजनीतिक दलले देश चुसे, नेताले लुटे भन्ने भाष्य बनाइरहेका छन् । आफ्नो घर आँगनको डिलमा बनेको चिल्लो बाटो हेरेर होइन, सामाजिक सञ्जालमा सुरेन्द्र केसी, भीम उपाध्याय र पुण्य गौतमले बोलेको आधारमा समाजले धारणा बनाइरहेको छ ।

२ दशकअघिसम्म बदनाम कहलिएको राजसंस्था फर्किए देशका तमाम समस्या चुट्कीको भरमा समाधान हुन्छन्, भन्ने भाष्य सिर्जना गरिएको छ । आमजनताको दिमागमा नकारात्मक सोच भर्नुमा नयाँ भनिएका राजनीतिक दल र नेताको पनि योगदान छ ।
आजको दिनमा गणतन्त्रप्रति खतरा राजावादीबाट भन्दा जनताको दिमागमा भरिदिएको ‘अल्गोरिदम’बाट ज्यादा छ । ७७ जिल्ला र वडा तहमा आफ्नो संगठन भएका राजनीतिक दलहरूले देशमा भएको सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सकेका छैनन् ।
बरु गणतन्त्रका लागि लडेका राजनीतिक दलहरू नै सत्तास्वार्थका लागि एकले अर्कोलाई बदनाम गर्न खोजिरहेका छन् । संसदबाटै एउटाले स्वीट्जरल्याण्डको बैंकमा थुपारिएको पैसा र कम्बोडियाको टेलिकममा गरिएको लगानीको हिसाब माग्छ । अर्कोले दुबईको बैंकमा जम्मा गरिएको पैसा र लसभेगासको जुवाघरमा गरिएको लगानीको हिसाब खोज्छ ।
आफूलाई परिवर्तन पक्षधर भन्नेहरू एकले अर्कोलाई बदनाम गराउने खेलमा लाग्दा राजावादीहरू हौसिएका छन् । सल्बलाउन थालेका छन् । यो अवस्थाको जिम्मेवार आलोपालो सरकारको नेतृत्वमा रहेका नेताहरू हुन् ।
जतिसुकै हौसिए पनि नेपालमा तत्काल राजतन्त्र फर्किने कुनै राजनीतिक, सामाजिक या अन्तर्राष्ट्रिय परिस्थिति बनेको छैन । गणतन्त्रलाई सहर्ष स्वीकार गरेर लोकतान्त्रिक बन्दै गएको सेनाको मनोविज्ञान फेरि राजा फर्काउने छैन । राजसंस्थाप्रति मोह भएका ‘रूक्माङ्गत कटवाल’ पुस्ता सेनाको नेतृत्वबाट बिदा भइसकेको छ ।

सत्ता राजनीतिको भागबण्डामा पानी बाराबारको अवस्था सिर्जना भए पनि गणतन्त्र जोगाउने मामिलामा प्रमुख दलहरू एक ठाउँमा छन् । काठमाडौंका राजावादीको गतिविधि बढ्न थालेपछि हुलाकी राजमार्गको कार्यक्रम स्थगित गरेर माओवादीले काठमाडौंमा फर्किएर गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गर्यो ।
सैद्धान्तिक रूपमा पनि राजतन्त्र आन्दोलनबाट फर्किँदैन, सैन्य कू वा त्यस्तै परिस्थिति बन्नुपर्छ । १८ औं, १९ औं र २० औं शताब्दीमा विश्वका कतिपय मुलुकमा राजतन्त्र पुनःस्थापना भएका थिए, जतिबेला लोकतन्त्रको महत्त्वबारे विश्वव्यापी बहस भएको थिएन ।
जे होस्, गणतन्त्र स्थापनापछिका १७ वर्षमा राजतन्त्रको पक्षमा कति जनसमर्थन रहेछ भन्ने मापन गर्ने अवसर आइतबारको प्रदर्शनले दिए । आइतबारको उपस्थितिलाई ज्ञानेन्द्र शाहले शक्तिपीठमा धाएर सञ्चित गरेको ताकतका रूपमा बुझ्नुपर्दछ ।
योगीको फोटो देखाएर भारतलाई विवादमा तान्ने कोशिश
बुझिएअनुसार राजावादीको गतिविधिप्रति यतिबेला भारतीय संस्थापनको सहयोग, समर्थन या सहानुभूति केही पनि छैन, हिन्दू राष्ट्रको पक्षमा रहेका केही साधु सन्तको भए बेग्लै कुरा । आइतबार राजतन्त्र पक्षधरको कार्यक्रममा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रदर्शन गरिएको विषयलाई लिएर नेपालमा अनेकथरि टिप्पणी भएका छन् ।
सरकारको नेतृत्वकर्ता दलका जिम्मेवार नेताहरूले समेत सामाजिक सञ्जालमा सस्ता टिप्पणी गरेका छन्, जुन असान्दर्भिक छन् । राजतन्त्रवादी या गणतन्त्रवादी जो कोहीको आन्दोलनमा घुसपैठ र भिजिलान्ते प्रयोग भएका हुन्छन् ।
राप्रपा नेताहरूसँग बुझ्दा आदित्यको फोटो प्रदर्शन गर्ने कुनै योजना थिएन । कमल थापाको पार्टीमा रहेका प्रदीपविक्रम राणा आदित्यनाथको फोटो बोकेर र्यालीमा सहभागी भएका थिए । उत्तर प्रदेशको मुख्यमन्त्री हुनुअघि आदित्यनाथले नेपालमा राजसंस्था पुनःस्थापना र हिन्दू अधिराज्य कायम हुनुपर्ने बताएका थिए । तर, उनको त्यो अभिव्यक्ति भारतीय जनता पार्टीको आधिकारिक धारणा थिएन ।
आयोजकले मुख्य ब्यानरमै कसैको तस्वीर झुण्ड्याएको भए बहसको विषय बन्थ्यो । तर, व्यक्ति विशेषले आफ्नो नामसहित योगी आदित्यनाथको तस्वीर देखाएको भरमा कोकोहोलो गर्नु आवश्यक थिएन । आदित्यनाथ एउटा व्यक्तिको फोटो प्रदर्शन गरिँदैमा राजावादीको आन्दोलनमा भारतको नाम जवरजस्ती जोड्नु अतिरञ्जना हो । यस्तै सस्ता टिप्पणी र कुप्रचारले छिमेक सम्बन्ध बिगार्न मलजल गर्ने हो ।
अहिले नेपालमा भएको राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्षपरोक्ष सहयोग रहेको जगजाहेर छ । गणतान्त्रिक व्यवस्थालाई भारतले औपचारिकरूपमा स्वीकार गरिसकेको छ । यस्तो बेला भाजपाको मूलधारबाट विस्तारै कर्नरमा पर्दै गएका आदित्यनाथले चाहँदैमा पनि नेपालमा राजसंस्था फर्किहाल्ने अवस्था होइन ।