२६ जेठ २०८३, मंगलबार
राजावादीको हिंसात्मक प्रदर्शनपछि

ज्ञानेन्द्रको च्याप्टर सकियो, 'डीपीकेहरू नयाँ राजा' बन्न नखोजून् !

कम्युनिस्टको कोखबाट फेरि नजन्मिऊन् गणतन्त्र मास्न खोज्ने उदण्ड प्रसाईंहरू
चैत १७, २०८१
काठमाडौं
ज्ञानेन्द्रको च्याप्टर सकियो, 'डीपीकेहरू नयाँ राजा' बन्न नखोजून् !

हिजो शनिबारको दिन म आफ्नो सवारीसाधन घरमै राखी सार्वजनिक बसमा चढेर शहरका केही ठाउँ घुमें । कारण थियो– राजसंस्थाबारे भइरहेको बहस र राजावादीहरूको प्रदर्शनबारे सर्वसाधारणको धारणा बुझ्नु । 

ललितपुरको भैँसेपाटी–रत्नपार्क रुटमा चल्ने बस चढेका केही बेरोजगार युवाले कुरा गरे– ‘आज छुट्टी हो, भोलिदेखि फेरि आन्दोलनमा जानुपर्छ । राजनीति, कुनै वादभन्दा पनि उनीहरू पेसेवर आन्दोलनकारी जस्तो लाग्थ्यो । त्यही भएर एउटाले आज ‘छुट्टी’ भन्यो । सम्भवतः उनीहरू शुक्रबारको प्रदर्शनमा सहभागी भएका थिए । 

बसको यात्रापछि अन्य बेला खासै नजाने केही चिया पसलमा गएर जनताका कुरा सुनें, कुनै प्रतिक्रिया नजनाई । ‘लेमन टी’ मगाएर चिया पसलमा भेला भएकाहरूको कुरा सुनें । 

चिया पसलमा भेला भएका प्रायः ललितपुरका स्थानीय र घरजग्गाको कारोबार गर्नेहरू थिए । उनीहरूले शुक्रबारको घटनाबारे कुरा गरे, केहीले आन्दोलनमा घुसपैठ भएको प्रतिक्रिया दिए । 

एकजना लगभग ६५ वर्षका वृद्ध थिए, जो राजावादी नेता केशरबहादुर विष्टका आफन्त या उनका समर्थक नै रहेछन् । सम्भवतः थर पनि विष्ट नै थियो । उनले भने– ‘त्यो दुर्गेले बिथोल्यो, त्यस्तोलाई नेता बनाएर महाराज फर्किन्छन् त ?’ 

भैँसेपाटीको अर्को एउटा चिया पसलमा पनि मैले उभिएर कुरा सुनें, गफको विषय त्यही थियो– राजावादीको प्रदर्शन । त्यहाँ एउटाले राजावादीको प्रदर्शन बदनाम गर्नका लागि घुसपैठ भएको दाबी गर्‍यो ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि राजतन्त्र पक्षधरहरू रक्षात्मक भएका छन्, उनीहरूको चरित्र उदांगो भएको छ । तर, राजनीतिक दलका नेताहरूप्रतिको आक्रोश कम भएको छैन । 

बदनाम ज्ञानेन्द्र मात्र छैनन्, डीपीकेहरू राजा बन्न नखोजून्

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्रको नूर गिरेको छ । राजावादीको आन्दोलन एकप्रकारले विसर्जन भएको छ । ज्ञानेन्द्र शाहलाई एरेस्ट गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलेका छ । सरकारले ज्ञानेन्द्रको पासपोर्ट रद्द गर्नेसम्मको तयारी गरेको छ ।

तर, राजावादीको आन्दोलन तुहियो भन्दैमा आलोपालो राज्यसत्ताको बागडोर सम्हालिरहेका नेताले हर्षबढाइँ गर्न हतारो नगरून् । जनताका गुनासा, असन्तुष्टि र प्रश्न उनीहरूसँग पनि छन् । जे कारणले मिल्काइसकिएको राजसंस्थाको पक्षमा माहोल सिर्जना भएको थियो, ती कारक तत्त्व हल हुन बाँकी नै छन् । 

ज्ञानेन्द्र शाहको ख्यातिबाट होइन, दलको अक्षमताको फाइदा उठाएर राजावादी जुर्मुराउन खोजेका थिए । बदनाम पूर्वराजा ज्ञानेन्द्र मात्र होइनन्, राजनीतिक दलका नेता पनि पानीमाथिको ओभानो छैनन् । जनआक्रोशको यो अवस्था आउनुमा आलोपालो सरकारको नेतृत्व गरेका दलहरू जिम्मेवार छन्, जसले चुलिएको जनआकांक्षा पूरा गर्न पहल गरेनन् ।

राजावादीले भनेजस्तो देश चौपट भएको होइन, देशको विकास भइरहेको छ । दुर्गा प्रसाईंले आरोप लगाएजस्तो नेताले देश लुटेका मात्र होइनन्, गणतन्त्र स्थापनापछिका १७ वर्षमा गाउँमा धेरै विकास भएका छन् । गाउँ–गाउँमा बाटोघाटो, स्कूल, स्वास्थ्यचौकीजस्ता पूर्वाधार बनिरहेका छन् । युवाले गाउँमा बसेर उच्चशिक्षा अध्ययन गर्न पाए पनि रोजगारी पाएका छैनन्, यो बेग्लै बहसको विषय हो । 

गत चैत ६ गते प्रतिनिधि सभा बैठकमा माओवादी उपमहासचिव जनार्दन शर्माले भनेका थिए– ‘मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छैन, बरु हाम्रा कमीहरू स्वीकार्न र सच्च्याउन सक्छौं कि सक्दैनौं भन्ने डर छ ।’

आजको अहम् प्रश्न यही हो । राजतन्त्र फर्काउन गरिएको प्रयास हिंस्रक र आपराधिक गतिविधिमा रूपान्तरण भएपछि राजा फर्किने ‘च्याप्टर क्लोज’ भएको छ । जनताको चेतनास्तर, अहिलेको शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय परिस्थितिले राजसंस्था फर्किने सम्भावना थिएन, तैपनि राजावादीहरूले पुरानै साम्राज्य फर्काएर हालीमुहाली गर्ने मनको लड्डु खान बाँकी राखेका थिएनन् ।

null

शुक्रबारको आपराधिक क्रियाकलापपछि राजतन्त्र फर्काउन खोज्नेको आन्दोलन बिर्सजनउन्मुख भएको छ । कथित कमान्डर लुकेर भाग्दै हिँडेका छन् । तर, डीपीके (रिदम मिलाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छोटकरी नाम)हरूले आफूलाई गणतन्त्रका राजाको शैली नदेखाऊन् ।

कुनै कार्यक्रममा सहभागी हुन जाँदा बाटो नै खाली गराउने, जनतालाई कस्ट दिनेगरी जाम गराउने, पूर्व विशिष्टका नाममा सुविधा बाँड्ने, एकपटक कार्यकारी पदमा पुगेका व्यक्तिले आजीवन सरकारी सुविधा दोहन गर्ने, छोरा–नातिका विवाह भोज भड्किलो गर्ने, जनतासँग विकट र स्वार्थ समूहसँग निकट रहने जस्ता क्रियाकलाप उनीहरूले त्यागून् । 

प्रचण्डले सार्वजनिक कार्यक्रममा भन्दै आएका छन्– ‘सच्चिनुपर्छ’ । तर, सच्चिनका लागि ढिला हुन थालिसकेको छ । गणतन्त्रका नेताले आफूलाई राजसी ठाँटबाट टाढा राख्नैपर्छ । मनमोहन अधिकारीहरू त्यही सादगी जीवनका कारण मरेर गएको दशकौंसम्म जनताको मनमा छन् । 

कम्युनिस्ट कोखबाट फेरि नजन्मिऊन् उदण्ड प्रसाईंहरू 

दुई जनाको ज्यान जाने गरी शुक्रबार भएको वितण्डाको योजनाकार राजसंस्था फर्काउने आन्दोलनका कथित कमान्डर दुर्गा प्रसाईं हुन् । पछिल्ला वर्षमा नेताविरुद्ध सामाजिक सञ्जाल र मूलधारबाहिरका मिडिया (युट्युब)मार्फत समाजमा वितृष्णा र घृणा फैलाउन उनले भूमिका खेलेका थिए । 

राजनीतिक दलका नेताहरूलाई अप्रमाणित कुराको आरोप लगाएर नेतासँग असन्तुष्ट जमातको वाहवाही (पिसाबको न्यानो)मा रमाउने त्यस्ता विवादास्पद पात्र व्यवस्था परिवर्तनको कमान्डर बने । विवादास्पद पात्रको बुई चढेर ज्ञानेन्द्रले व्यवस्था उल्टाउने सपना देखेका थिए ।

बैंक डिफल्टर प्रसाईंले जनताबाट निर्वाचित भएर आएका नेताभन्दा आफूलाई ‘सुपेरियर’ ठाने । आफूले जे बोलिरहेको छ, जनता त्यसैको पक्षमा छन् भन्ने भ्रममा बाँचे । मनमा जे आयो त्यही बोल्ने प्रसाईं (फरार)ले प्रधानमन्त्रीले आफूलाई गोली हान्न निर्देशन दिएको समेत भन्न भ्याए, आइतबार भिडियो सन्देशमा । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेका छन् भनेर केही कीर्ते कागज सार्वजनिक गरे, (लहलहैमा प्रचण्डले समेत संसदमा कम्बोडियाको लगानीबारे ओलीलाई सोधे), प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्यान्डमा घर किन्दिएको भनेर आक्षेप लगाउने काम गरे । आफ्नो स्वार्थसिद्ध भएन भने भविष्यमा यिनै प्रसाईंले ज्ञानेन्द्र शाहलाई ‘मूर्तिचोर र भाइमारा’ भन्न बेर लगाउँदैनन् । 

दुर्भाग्य भन्नुपर्छ, समाजमा हिंसा भड्काउने यस्ता कुपात्र कम्युनिस्ट पार्टीको कोखबाट जन्मेका थिए । आफूहरूले हतियार बोकेका कारण प्रचण्ड प्रधानमन्त्री बन्न पाएको भनेर प्रसाईंले फुईँ लगाए ।

null

प्रचण्ड र ओलीलाई आफूले मिलाएको भनेर बाहिर रवाफ र शक्ति देखाउन खोजे । माओवादीबाट फाइदा लिए । एमालेको केन्द्रीय सदस्य बने । कालान्तरमा उनी व्यवस्था उल्ट्याउने हुटिट्याउँका रूपमा प्रकट भए । 

बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नुपर्दैन भन्ने आश्वासन बाँड्दै केही मानिसलाई भ्रममा पारेर जनता उराल्ने काम गरे । छोटो समयमा अर्बपति बनेका प्रसाईंले आफूलाई गणतन्त्र नेपालको शंखधर साख्वा भनेर ऋण मिनाहा गर्ने प्रलोभन देखाए । कमान्डर प्रसाईं नेतृत्वको आन्दोलनको नतिजा– लुटपाट र हिंसामा समापन भयो । 

यस्ता ‘उदण्ड प्रसाईं’हरू फेरि–फेरि कम्युनिस्ट पार्टीको कोखमा जन्मिने खतरा कायम छ । कहिले सर्वेन्द्र खनाल त कहिले जगमान गुरुङका नाममा प्रकट भएका छन्, व्यवस्था उल्ट्याउने दुस्वप्न देखेर । प्रहरी महानिरीक्षकबाट राजीनामा गरेको केही समयमै एमाले प्रवेश गरेर सर्वेन्द्रले २०७९ सालको चुनाव र ०८० को उपचुनावमा टिकट हत्याए ।

प्रसाईं र सर्वेन्द्र प्रवृत्तिलाई टिकट दिइँदा र केन्द्रीय सदस्य बनाइँदा दशकौं पार्टीमा योगदान गरेका सच्चा र इमान्दार कार्यकर्तामाथि चरम अन्याय भएको थियो । जनतामा बढेको आक्रोशको एउटा कारण यो पनि थियो– ‘पैसा लिएर समानुपातिक सांसद बनाउने ।’

ज्ञानेन्द्रका लागि हितकर बाटो

शुक्रबारको हिंसात्मक प्रदर्शनको सडक कमान्डर प्रसाईं भएपनि खास निर्देशक ज्ञानेन्द्र शाह भएको कुरा कतै छिपेको छैन  । फागुन ७ मा उनले गरेको कथित आह्वानपछि राजावादी शक्ति जुर्मुराएका हुन्, त्यसैले आह्वान गर्नेले यसको जिम्मा लिनुपर्छ । १५ गतेको प्रदर्शनको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले प्रसाईंलाई भेटेर निर्देशन दिएका थिए । 

शुक्रबार र त्यसअघि पनि भएका प्रदर्शनमा भएको जनधनको क्षतिप्रति ज्ञानेन्द्रले प्रायश्चित गर्नुपर्छ । जनतासँग माफी माग्नुपर्छ र दण्डित हुन तयार हुनुपर्छ । जनताले स्थापित गरेको व्यवस्थालाई मान्ने र व्यवस्थाविरुद्ध नलाग्ने सार्वजनिक प्रतिबद्धता जनाउनुपर्छ । ज्ञानेन्द्रले बिर्सनु हुँदैन, नेपाली जनता उदार भएर उनलाई सुरक्षासहित स्वदेशमै बस्ने प्रबन्ध मिलाइएको थियो । 

ज्ञानेन्द्रलाई सुरक्षा प्रबन्धको ग्यारेन्टी गर्ने तत्कालीन सरकारका गृहमन्त्री कृष्ण सिटौलाले चैत ४ गते राष्ट्रिय सभा बैठकमा भनेका थिए, ‘स्वयं म आफैं प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा एक घण्टा वार्ता गरेर उहाँ (ज्ञानेन्द्र)लाई बडो सम्मानका साथ निवास र सुरक्षा प्रबन्ध हुन्छ भन्ने ग्यारेन्टी गरेको हो, मन्त्रिपरिषद्को निर्णयबाट ।’ 

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले फागुन १२ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए– 'व्यवस्था ढलेपछि राजा र तिनका परिवार या विदेश भागेका छन्, या त जेल परेका छन् । तर, ज्ञानेन्द्र शाहले नेपालको उदार लोकतन्त्रको लाभ लिएकै थिए । नेपालमा जनताले पूर्वराजालाई एउटा स्पेस दिएकै छन् । मठमन्दिर घुम्न पाएका छन् ।'

पढ्नुहोस्, यो पनि : 'अरू देशमा व्यवस्था ढलेपछि राजाको परिवार जेल बस्नु पर्थ्यो, सम्पत्ति हरण हुन्थ्यो'

व्यवस्था उल्ट्याउने दिवास्वप्न देख्नुभन्दा पूर्वराजाले आफ्नो जीवन भोगाइबारे एउटा किताब लेखुन्– जहाँ दरबार हत्याकाण्डबारे अहिलेसम्म बाहिर आएका तथ्य र सूचनालाई गलत सावित गर्ने गरी वास्तविकता बाहिर ल्याऊन् ।

प्रचण्डले सार्वजनिक मञ्चबाट लगाएको ‘भाइमारा र हत्यारा’को आरोप तथ्यले गलत प्रमाणित गर्ने काम गरून् । राम्रो साहित्य लेखेर नोबेल पुरस्कार पाउनेतिर ध्यान लगाऊन् । 

नेपालमा फेरि ज्ञानेन्द्र राजा बन्ने च्याप्टर क्लोज भइसकेको छ, त्यसैले नेपालको अन्तिम राजा थिएँ बनेर बसून् । विमलेन्द्र निधिले संसदमा बोलेको शब्द सापटी लिएर भन्दा ज्ञानेन्द्र शाह– ‘रिजेक्टेड किङ वा एबोलिस्ड मोनार्की’ हुन्, त्यो वास्तविकतालाई स्वीकार गरे ज्ञानेन्द्र, पूर्वराजपरिवार र नेपाली जनता सबैको हित हुनेछ । 

ज्ञानेन्द्र शाहले इरानका अन्तिम राजा रेजा पेहल्वीको भनाइ स्मरण गरुन्– ‘इरानका अन्तिम राजा रेजा पेहल्वीले जीवनको आखिरी समयमा भनेका थिए– ‘जब म इरानमा थिएँ, इरानलाई बुझ्न सकिनँ । आज इरानलाई बुझेको छु, तर म इरानमा छैन ।’

पशुपतिनाथले ज्ञानेन्द्र शाहलाई सदबुद्धि दिऊन् !

पढ्नुहोस्, यो पनि :

तीनकुनेमा विसर्जन भएको राजावादी आन्दोलन र ज्ञानेन्द्रमाथि उत्पन्न धर्मसंकट !

पूर्वपञ्चहरूको विनासाइतको हर्षबढाइँ र गणतन्त्रवादीहरूको लाचारी

गणतन्त्रमा राजैराजा !

salt training

कमेन्ट गर्नुहोस्