
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अघि बढ्न साथ देऊ’ भनि आह्वान गरे । त्यसपछिका राजनीतिक घटनाक्रमले ‘को कुन कित्तामा छ’ एउटा ‘क्लियर’ दृष्य आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प ‘राजतन्त्र फर्काउनु हो’ भन्ने नयाँ पुस्तामा परेको थोरै भ्रम पनि चैत १५ गतेको गतिविधिले केही चिरेको छ । जुन कार्यको साइत पूर्वराजा ज्ञानेन्द्र शाहकै सल्बलाहटबाट जुरेको हो ।
अवाञ्छित समूह, व्यक्ति, अति हिन्दूवादीहरूको उक्साहटमा रमेका पूर्वराजा ज्ञानेन्द्रको चलखेलको सीमा लगभग योभन्दा पर जाने अवस्थामा देखिन्न । राजतन्त्रको भूत जगाएर ‘जन्मसिद्ध श्रेष्ठता’ हासिल गर्ने व्यवस्था फेरि स्थापित गर्छौं भनेर कुर्लनेहरू कति क्रूर, अराजक, विवेकहीन छन् भन्ने तीनकुने घटनाले छर्लङ्ग पारेको छ । चिना, हातका भाग्य रेखा र राशि हेरेर ‘राजयोग देखियो, राजा फर्किबक्सन्छ’ भन्ने पन्डाहरू नै हुन् राजतन्त्रका भूतहरू हुन् । उनीहरू जनतालाई फेरि पनि रैती बनाउन मठमन्दिरका ढुङ्गाका मूर्ति पुजेर वा ढोगेर शक्ति आर्जन गर्न तयार छन्, तर, जनताको सेवातिर फर्किने आँट गर्दैनन् । भूत एउटा अन्धविश्वासको खाडल हो । यही भूत जगाउने भ्रम यस्तै तन्त्रमन्त्र, जोगी–योगीहरूको उक्साहतबाटै हुन्छ ।
लोकतन्त्रको सुन्दर परिपाटीबाटै चुनिएर आएका हुन् राजेन्द्र लिङ्देन र ज्ञानबहादुर शाहीहरू । त्यहीँ व्यवस्थामा रहेर लिङ्देन र शाहीहरू संसद्मा ‘राजावादी हामी हौं,’ भनेर छाती ठोक्न पाएका छन् । यदि राजतन्त्र थियो भने जो कोही गणतन्त्रवादी सांसदले सदनमा यसरी ‘हामी हौं गणतन्त्रवादी’ भनेर छाती ठोक्ने छुट पाउँथेनन् होला ।
राजतन्त्रको भूत जगाउने कस्ता पात्रहरू छन् ? त्यसका लागि धेरै टाढा जानु पर्दैन, शीतलनिवासबाट कथित ‘जनकमाण्डर’ बनेका दुर्गा प्रसाईंलाई हेरे पुग्छ । यतिखेर राजतन्त्रको भूत जाग्छ कि भनेर मन्दिरमा छु भन्दै रोइकराई गरेको फेसबुक लाइभबाटै थप प्रष्ट हुन्छ । कम्तिमा जनताका लागि राजतन्त्रको भूत आउँछ भन्ने विश्वास लाग्थ्यो भने प्रसाईंले भन्नु सक्नु पथ्र्यो– ‘म जनताको बीचमा छु ।’ अर्को उदाहरण हो, पूर्वराजा ज्ञानेन्द्र फर्काउने आन्दोलनको नयाँ संयोजक जगमान गुरुङ । जसले आन्दोलनको नेतृत्वभन्दा पूर्वराजा ज्ञानेन्द्रको ‘राजयोग’ छ भनेर साइत जुराइरहेका छन् ।
अर्कोतर्फ तीनकुने घट्नाका प्रत्यक्ष दोषी को ? यसमा वादविवाद गर्नु पर्ने कुनै जरूरी छैन । फागुन ७ गतेयता आफूलाई साथ देऊ भनेर आह्वान गर्ने, कथित ‘स्वागत–सवारी’ आयोजना गर्न लगाउने, ‘जनकमाण्डर’ घोषणा गरेर शीतलनिवासबाटै तोकेर पठाउने पूर्वराजा ज्ञानेन्द्र हुन् । तीनकुनेमा चैत १५ गते निषेधित क्षेत्र तोडेर अराकता सृजना गर्ने ती ‘जनकमाण्डर’कैकारण हिंसा भड्किएको छ । दोषी स्वतः पूर्वराजा ज्ञानेन्द्र नै हुन् । पूर्वराजा ज्ञानेन्द्र समर्थक तथा राजतन्त्रका भूतहरूले पूर्वराजा ज्ञानेन्द्र दोषी हुन्भन्ना साथ सदनमा छाती ठोक्नु कुनै जरूरी छैन । तीनकुने शैलीकै हो टीकापुर घटना । जहाँ रेशम चौधरीलाई दोषी करार गरिएको इतिहास धेरै टाढा छैन ।
यदि पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी दायरामा लिइन्न भने अझै पनि गणतन्त्रवादी कानुनपालक र शासकहरूको दिमाग तथा मनमा राजतन्त्रको भूतले बास गरेको ठहर्छ ।
तीनकुने घटनाले राजावादी भूतहरूको पहिलो ‘ट्रेलर’ नै खराब रह्यो । गणतन्त्रको विकल्पमा राजतन्त्र ल्याउँछौं भन्नेहरूको सन्देश हिंसात्मक, प्रतिशोधात्मक र अराजकतामै सीमित रह्यो ।
हिजो निरङ्कुश पूर्वराजा ज्ञानेन्द्रको दमन नखेपेका नयाँ पुस्तालाई गज्जबले बुझ्ने मौका मिल्यो । मलाई साथ देऊ भन्ने पूर्वराजा ज्ञानेन्द्रले आन्दोलनमा मृत्यु भएका र सार्वजनिक धनजनको क्षतिप्रति एक शब्द नबोलेर प्रर्दशन गरेको क्रूरता व्यवहारबाटै राजतन्त्र के हो ? भन्ने पुर्नपुष्टि भएको छ ।
नेताहरूमा थोरै पलाएको चेत
‘एकै दिन राजधानीमा दुइटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रमभन्दा धेरै जनताको सहभागिता रह्यो । मोर्चाको कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो’, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चैत १८ गते सदनमा सम्बोधन गर्ने क्रममा दिएको मन्तव्यको अंश हो यो ।
यसले के सन्देश दिएको छ भने टाउको उठाउन खोजेको राजतन्त्रको भूतविरूद्ध सबै गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा छन् । गणतन्त्र स्थापना गर्ने शक्तिहरूबीच वैचारिक भिन्नता, सत्ता समीकरण फेरबदलमा आवेग, चुनावी प्रतिस्पर्धा हुने एउटा पक्ष हुन सक्छ । तर, गणतन्त्र व्यवस्थाका लागि भने कम्तिमा यो पछिल्लो घटनाले एक ठाउँमा उभ्याएको छ । गणतन्त्रवादीहरूले एक ठाउँ बसेर कम्तिमा आफ्नो कमजोरीलाई निर्मम आत्मसमीक्षा गर्ने मौका यही हो । दलहरूलाई कम्तिमा एकै ठाउँमा उभ्याउने पूर्वराजा ज्ञानेन्द्रको चलखेल गज्जबको माध्यम बनेको छ । यसले नेताहरूमा थोरै भए पनि चेत खुलाइदिएको छ भन्ने आभास गणतन्त्रको पक्षमा दिएको पछिल्लो अभिव्यक्तिहरूले दिलाएको छ ।
हिजो सात दललाई गणतन्त्रसम्म पुर्याउने मुख्य भूमिका पनि पूर्वराजा ज्ञानेन्द्रको सक्रिय शासनकाल थियो । अहिले जनताको केही निराशामा चलखेल गरेर विचारविहीन नयाँ पुस्तालाई भड्काउन खोज्दा पूर्वराजा ज्ञानेन्द्र जनताबाट झन् टाढा पुग्ने वातावरण पनि उनीबाटै भयो । यो सुवर्ण अवसरलाई गणतन्त्रवादी दलहरूले आफ्ना मतदभेदलाई टाढा राखेर राजतन्त्रको भूतलाई व्यवस्थित रूपले तह लगाउने रणनीति बनाउनु पर्छ । जुन रणनीतिले राजतन्त्रको भूत राजेन्द्र लिङ्देन, ज्ञानबहादुर शाहीहरूको छातीमा मात्रै भेटियोस् ।
सत्ता पक्षले आह्वान गरेको गणतन्त्रवादी दलहरूको सर्वदलीय बैठक र त्यसमा सहभागी दलका नेताहरूको अभिव्यक्तिले राजतन्त्रवादीहरू लगभग रक्षात्मक अवस्थामा पुगेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रवादीहरूलाई समाजवादीको सभाले तह लगाएको भनि सार्वजनिक रूपमै बोलेका छन् । जनतामा केही निराश छन्, तर व्यवस्था परिवर्तन चाहेका छैनन् भन्ने प्रष्ट तस्वीर चैत १५ गतेको समाजवादी मोर्चाको सभा र चैत १८ गते नेकपा (एमाले)को मोटरसाइकल र्यालीमा सहभागीको संख्याले प्रष्ट देखाएको छ ।
दोगला ‘प्रबुद्ध’रूको रोदन
राजावादीहरूको अभियानले व्यवस्था परिवर्तन गर्छ भन्ने एकथरी ‘प्रबुद्ध’हरू निष्कर्षमा पुगेका थिए । सोही कारण एक हुल नागरिक समाज अर्थात् ‘प्रबुद्ध’ भनिएकाहरूको चैत १४ गते एउटा भेला भयो । राजतन्त्रको भूतको आन्दोलनप्रति समर्थन जनाउँदै भेलामा सहभागीहरूको नामसहितको विज्ञप्ति जारी भयो । त्यसको अनेकन पहेलीहरू होलान् । तर, चैत १५ को साँझदेखि उनीहरूको रोइलो मच्चियो ।
अघिल्लो दिन खुलमखुल्ला व्यवस्था परिवर्तनका लागि राजतन्त्रको पक्षमा उभिएका ‘प्रबुद्ध’हरू एकाएक बहाना बनाएर चोख्खिन खोजे । चैत १५ गते जब तीनकुनेमा उपद्रव गतिविधि र अराजक, हिंसात्मक घटनामा राजतन्त्र फर्काउनेहरू उत्रिए त्यसपछि अघिल्लो दिनको ‘प्रबुद्ध’ समर्थकहरूले दोगला व्यवहार प्रकट गरे ।
सञ्चार, फिल्मी, राजनीतिक, प्रशासनिक क्षेत्रमा राम्रै ख्याति कमाएका ‘प्रबुद्ध’हरूको अघिल्लो दिन समर्थन थियो । तर, १५ गते नै एकाएक विविध कारण देखाएर ‘प्रबुद्ध’हरू प्रष्टीकरण दिंदै हिँडे । ‘प्रबुद्ध’हरूमा देखिएको यो चरित्रले राजतन्त्र ब्यूत्याउने भूतहरूको हबिगत र चरित्र समाजमा छर्लङ्गै देखिएको छ । जब–जब मुलुकमा सही निर्णय लिने वा कित्ता क्लियर गर्ने समय आउँछ, त्यस्तो बेला यस्ता पात्रहरू पहिचान गर्ने अवसर जुर्छ । पछिल्लो समय ‘प्रबुद्ध’ भनिनेहरूको चरित्र पनि त्यही सिलसिलाको एउटा क्षण हो ।
असली गणतन्त्रवादी रवि !
सत्ता पक्षले गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक चैत १७ गते डाक्यो । त्यसमा संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी भएन । पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते आफूलाई साथ देऊ भनि आह्वान गरेदेखिन् रास्वपा ‘गणतन्त्रवादी कि राजावादी ?’ भनेर प्रतिप्रश्न उठिरहेको छ । पार्टीले त्यसको आधिकारिक धारणा त दिएन । तर, केही पदाधिकारीहरूले घुइरो रूपमा रास्वपा गणतन्त्र पक्षधर भनेका छन् ।
वैकल्पिक नयाँ शक्तिको रूपमा उदाएको रास्वपा भन्ने एउटा भाष्य हो । रास्वपा स्वभाविक रूपमा गणतन्त्रकै बगैँचामा फूलेको एउटा नयाँ प्रजातिको फूल हो । स्थापना भएको छोटै समयमा हलक्क बढेको रास्वपा नेतृत्वका कार्यशैली, सही निर्णयको बन्दकी बनेपछि भने उसको शाख सर्लक्कै खस्कँदो छ । सहकारी ठगी प्रकरणको कारबाहीले रन्थनिएका सभापति रवि लामिछाने ५ महिनाको मौनतापछि सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थली फर्किए ।
आफ्नो कारबाहीलाई ‘प्रतिशोध’का रूपमा लिएका रविले पहिलो निर्णय र अभिव्यक्तिमा कित्ता खुलाएनन् । हुन त रास्वपाको गठन प्रक्रियामा सामेल अनुहारहरू पनि गणतन्त्र स्थापनका लागि ठूलो योगदान दिएको भन्ने ‘फिगर’ देखिँदैन । उल्टै गणतन्त्रका लागि दशकौं लडेका दलहरूप्रति ‘सक्कली र नक्कली गणतन्त्रवादी’ छुट्याउनतिर रवि लागे । जुन कुरा रविले भन्दै गर्दा गणतन्त्रका लागि लडेका पुस्ताप्रति उपहास गरिएको देखिन्छ ।
यसको सोझो अर्थ हुन्छ रवि नेतृत्व रास्वपा सैद्धान्तिक दृष्टिकोणमा स्पष्ट छैन । यसले लोकतान्त्रिक गणतन्त्रको आधारभूत जग भनेकै संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशीता हो । तर रविको पछिल्लो भनाइले रास्वपा गणतन्त्रको आधाभूत जगप्रति इमान्दार छैन भन्ने तथ्यहरूलाई सिद्ध गर्दछ । गणतन्त्र व्यवस्था हो । गणतन्त्रवादीहरू पात्र हुन् । पात्रहरूसँग रिसराग छ भन्दैमा सक्कली र नक्कली गणतन्त्रवादी भनेर कित्ताकाट रविले गरिदिँदा लोक हँसाउनुबाहेक अरु केही हुन सक्दैन ।
रविको अभिव्यक्तिले रास्वपा गणतन्त्रका लागि माखो नमारेर लोकरिझ्याँइमा रमेकाहरूको जमात हो भन्ने थप प्रमाणित भएको छ । हिजो त्यही ‘नक्कली गणतन्त्रवादी’हरूको बुई चढेर दुई–दुई पटक सत्तारोहण गरेका रविको पछिल्लो अभिव्यक्तिको शैली ‘कम्मलमा सातु मुछिसके पछि रौँ छ भनेर घिनाउनु’जस्तै हो । पछिल्ला यी सबै राजनीतिक दृष्यहरूले के प्रष्ट पारेको छ भने पूर्वराजा ज्ञानेन्द्र जतिबेला चलमलाए त्यति बेला गणतन्त्रको स्थापना भयो । पूर्वराजा ज्ञानेन्द्र पछिल्लो पटक फेरि सल्बलाए गणतन्त्रको जग झन् बलियो बनाइदिए ।