
पोखरा बजारदेखि पूर्वमा ५ किलोमिटर पर विजयपुर खोला तरेपछि एउटा अजिबको गाउँ छ, ‘कन्धनीडाँडा’ । सायद कन्धनी आकारको जस्तो भएर कन्धनीडाँडा भनेको हुनुपर्छ, जहाँका मानिस कि त घरमा, कि त रुखमा झुन्डिन्छन् जसमा वयस्क पुरुष बढी, महिला तथा युवायुवतीहरू समेत छन् । फिल डुनावेले भनेझै ‘अस्थायी समस्याको स्थायी समाधान आत्महत्या हो ।’ मानिस समाधान खोज्न नसकेर बेसहारा भएर जीवन मृत्युको दोसाँधमा पुग्छ ।
मनोवैज्ञानिक तथा मानसिक कारणले पीडित मानिस निराशा, एक्लोपना, मानसिक तनाव, पीडा, कुण्ठा, बेदना, आफूलाई निरर्थक बाँचेको सोच, मनमा गहिरो चोट, आत्मबल गिरेको, लघुताभाष, आदिले आत्महत्या गर्ने गर्छन् । यो गाउँमा यतिका मान्छे झुन्डिने घटना हुँदा पनि सम्बन्धित निकाय या जनप्रतिनिधिबाट रोकथामका लागि कुनै अध्ययन अनुसन्धान पहल भएको देखिन्न । मानसिक स्वास्थ्यका विद्यार्थीका लागि यो गाउँ आत्महत्याको घटना अध्ययन अनुसन्धानको राम्रै नमूना बन्न सक्छ ।
कुनैबेला गाउँमा एकलास र एकान्तमा हिँड्न गाह्रो यो रुखमा फलानो पासो लगाएको, त्यो रुखमा ऊ पासो लगाएर मरेको देखाउने डर लाग्थ्यो तर, विकल्प थिएन । स्कूल जाँदा र आउँदा डरले तर्सेर मन भारी हुन्थ्यो । गाउँमा चैत वैशाखमा सबै खरका घर भएकाले आगलागी धेरै हुन्थ्यो । मानिस समेत आगलागीमा परेर मरेका थिए । त्यो बेला खर बिक्री हुन्थ्यो । घर कटेरो छाउन एक मुठाको ३ रूपैयाँमा बेचिन्थ्यो । अहिले त्यही खर पनि छैन ।
अर्कोतर्फ भयाउनी, भयर, निधिनी, बोक्सी, भूत, छल्ने आदि निकै हुन्थ्यो । सबै कुराको दबाब हामी केटाकेटीलाई नै । अर्को पुल बनाउन लागेको छ, भोग दिन गाउँमा केटाकेटी खोज्न मान्छे आएका छन् भन्ने सुनिन्थ्यो । आफ्नो सातो जाने । नयाँ मान्छे देख्यो भने त भागीहाल्ने । कस्तो दिन थियो भने भ्रम, डर, बालापन तथा त्रासले गाउँमा हुँदै नहुने कल्पना तथा भयले हामीलाई सताइरहन्थ्यो ।
घर नजिकै बौसी वन थियो ।दमौरा, तिजु, अंगेरी, ऐँसेलु, जम्बु चुत्रो पाइन्थ्यो। दिनदिनै भैँसीगाई हराउने । खोज्न खराने, ककरिरह, कुडहर फाँट, सुनपदाँलीसम्म पुगिन्थ्यो । फाँटमा धेरै खेत थिए । एक खेती मात्र गरिन्थ्यो अरू बेला फुकार हुन्थ्यो गाईवस्तु चराउन । पुसदेखि विद्यालयको नयाँ सत्र शुरू हुन्थ्यो । वर्षामा खेत रोप्ने बिदा, हिउँदमा धान काट्ने बिदा कति सान्दर्भिक थियो । बिदा, विद्यालय, शैक्षिक सत्र अहिले अर्थ न बर्थको छ । हुन त गाउँ, सभ्यता, खेती, अनाज, कृषि मासेर मध्यबर्खा र मध्य मंसिरमा स्कूल लगाएको होला सायद । मिन पचासको बिदा थियो, जाडोमा बच्चा घर बस्थे । त्यसैले रुघाखोकी मेनिन्जाइटिस, दम, निमोनिया, श्वासप्रश्वासबाट बच्चा जोगिन्थे । अहिले शैक्षिक सत्र पढाइ अव्यवहारिक तथा अपूरो छ । विरोध गरे कोही सुन्दैन, देश रित्तिएको कारण यही हो । समस्याको जरोमा कोही पुग्दैन, पुगे पनि चिन्तन नभएपछि केही भेटिन्न।
गाउँमा त्योबेला भूतको डर थियो, अहिले चितुवाको डर छ । मान्छे गाउँ छाडे, घर खाली भए । कोही शहरतिर सरे, ‘वल्लाघरको नरे पल्लाघर सरे’ भन्ने उखान चरितार्थ बनेको छ । गाउँलेहरू कोही काठमाडौं, कोही चितवन सरे । यसकारण गाउँ झाडी बन्यो, रुखहरू बढे, झ्याङ्ग, झाडी, बुट्ट्यानहरू बढेका छन् । यसकारण निगाले बाघ अर्थात् चितुवा आउन थाल्यो । गाउँ उनीहरूको लुक्ने ठाउँ बन्यो । पहिलो मानिसको बस्तीले किचेको थियो, अहिले सुनसान छ।
अहिले गाउँमा विकास आयो, मानिसहरू शहर पसे । गाउँमा बाटो छ, बत्ती छ, पानी छ र पनि मान्छे कम छन् । युवाहरू देश/विदेशमा छन्, बूढा र वयस्क गाउँमा छन् । गाउँमा विकासको मज्जा लिने मान्छे नै छैन ।
चालिस सालताका हो रामचन्द्रबहादुर अञ्चलाधीश हुँदा श्री ३ बाहिनी अड्डाले सरकारी मावि स्कूल रहेको स्थानसहित पहेले, गौरीया, जेठोबूढोजस्तो बास्नादार धान फल्ने खेत र विजयपुर बेगनास सिचाईं आयोजनाको नहर जाने मार्गसहित हजारौं रोपनी अधिग्रहण गर्यो । जबकि यस्ता ऊर्जाशील जवान सिपाहीलाई बस्ने स्थान त नदी खोलाका बगरमा राखे पनि हुन्थ्यो ।
मुख्य शहर केन्द्रमा ब्यारेक छ । ठूलाबडाको सुरक्षाखातिर हो कि? या सुविधा सम्पन्न ठाउँमा सेना ब्यारेक राख्ने हो ? मैले बुझ्न सकेको छैन ।ठाडोखोर, घैटेको खोर, टाउकेको खोर, डुम्रीखोर, पिपलेखोरजस्ता प्लट भएको यो फाँट उर्वरा थियो, नहर थियो तर, सबै जग्गा बाहिनीले लियो । त्यसपछि गाउँ अन्धकार बन्न गयो । धान फल्ने खेतमा बिगुल फुक्ने र बुट बर्जाने भए । यसरी गाउँ अन्धकारतर्फ उन्मुख भयो ।
उता विजयपुर खोलापारी त २०३५ सालतिर नै हवाईजहाज ग्राउण्डले लिएको थियो । अब्बल धान फल्ने खेतजति सरकारकै पहलमा घर तथा विमानस्थल बनाउन लिएपछि सरकारको नीति, अनाज र कृषि सबै बिसाएर खाऊन् भन्ने नै होला । गाउँमा क्षेत्रीको संख्या अधिक थियो ‘मौजा बुझेर मोज गरे क्षेत्री बिग्रिए’ भन्थे ।
बा प्रधान हुँदा धेरैपटक मानिस झुण्डिएर मरेकोले गाउँले बालाई बोलाउन आएको सम्झन्छु । म सानै हुदाँदेखि नै झुण्डिने क्रम निरन्तर छ । किन हो कुन्नि अन्य गाउँ ठाउँमा भन्दा हाम्रो गाउँमा धेरै झुण्डिएर मर्छन् ।
हरेक गाउँमा जुवा तास, रक्सी, घरझगडाले जरा गाडेको छ । गाउँमा अन्य गाउँजस्तै लौशीडाँडा, बरालडाँडा, थुमाको डाँडा, राखिडाँडा, माझाको डाँडा, जल्धारेडाँडा आदि छन् । यस्तैगरी ढुंगानाथर, राईथर, थापाथर, चौरथर, पतानीथर, ठूलाघरथर, गैह्राथर, बन्जाराथर, अधिकारीथर, राजभाटथर, देवकोटाथर, बरालथर, न्यौपानेथर छन् ।
पश्चिम तथा उत्तरतर्फ विजयपुर खोलाले र पूर्वतर्फ खाष्टेतालले सिमाना छुट्याएको यो कन्धनीडाँडा दक्षिणतर्फ फर्केको पृथ्विराजमार्गबाट उत्तरतर्फ रहेको छ । यो कन्धनीडाडाँको छिमेकी गाउँमा लेखनाथ, कालिका गाउँ र पोखरा नगर पर्छ । आर्वा, काहुँ, माझठाना पनि नजिक पर्छन्।
त्यो बेला गाउँमा गोरु गाईवस्तु पालन गर्ने चलन थियो । कृषि थियो केही काम पनि थियो । ‘गोरु माते कास्की, छोरी माते काँहु’ भन्थे बूढापाकाले । काँहु ठाडै उकालो थियो, अहिले त भ्युटावर छ, विकास भएको छ ।
रानाभाट, राईभाट, राजभाट, कनियलभाट, बन्जाराभाट पतानी, चौरेली, देवकोटालगायत थापा, भट्टराई, पौडेल, अधिकारी, सिग्देल, भण्डारी, ढुंगाना, न्यौपाने, बराल, दमाई कामी, घर्ती, भुजेल तथा केही थकाली परिवार समेतको बसोबास रहेको तत्कालीन राखि अर्थात् कन्धनीडाँडा हाल पोखरा महानगरपालिका २६ नम्बर वार्ड अन्तर्गत पर्छ । कन्धनीडाडाँमा विचित्र विचित्र देख्न पाइन्छ ।
ब्रिटिस नागरिक कोलोनेल रर्बटले २०४० ताका टाइगर टप होटलको लागि जग्गा लिएर शुरूआत गरेपछि केही मात्रामा गाउँ परिचित हुन पुग्यो । त्यसो त रोयल ट्रेकको पदमार्गमा पर्ने यो क्षेत्रमा फाटफुट पर्यटक हिँड्छन् । तर पनि यो गाउँमा विकास कमै छ । बेलायती युवराज चार्ल्स पदयात्रा गरेकाले यो ट्रेकरुटलाई रोयलट्रेक भन्ने गरिन्छ ।
जमानामै अर्थात २०११ साल ताका साहित्यकार एवं निबन्धकार भैरव अर्यालज्यूले पढाउनुभएको शिवशक्ति निमावि पनि छ । जुन सिलिंगे बगैँचामा अवस्थित रही अहिले सञ्चालनमा छ । जहाँ रुद्राक्षदेखि बेला, आँपसम्मका वृक्षहरू छन् । तत्कालीन राखि सर्भिसअन्तर्गत ४ वटा वडाको बीचमा रहेका दुई हाइस्कूल एक निमावि छन् । विद्यार्थी लुछालुछ छ । सरकारको व्यवस्थापन कमजोर छ । शहरका राता, नीला, पहेँला बस गाउँमा बिहानैदेखि कुद्छन् । स्कूल त छन्, विद्यार्थी छैनन् ।
हामी स्कुल पढ्नेताका गाउँमा सबै विद्यार्थीका नाम भगवानको नामबाट आउँथ्यो । शिक्षक सबै गाउँले नै थिए । अहिले बाहिरका छन् । पोखराको नजिकै अर्थात् हिँडेर एक घण्टामा महेन्द्रपुल पुगिन्छ । त्यहाँ साँच्चिकै बत्तीमुनि अध्याँरो नै छ आज पनि । विकास भए पनि चेतना कम छ, साक्षरता दर पनि कमै छ ।
शुरूआतदेखि नै कांग्रेसको गढ मानिएको यो गाउँमा सभामुखदेखि सुर्वणशम्शेरसँगै भैंसालोटनमा सत्ता परिवर्तन हेतुले निर्वासन बिताउने, गाउँफर्कका व्यक्तित्वहरू रहे पनि विकासको मामिला कमै थियो । जबकि ‘एक गाग्रो पानी लिन दुई घण्टा बिताउनुपर्ने’ अवस्था थियो ।
‘एक घर एक लाहुरे’जस्तै भएको यो गाउँका धेरै मानिस मन्द्रास र बम्बईमा थिए । अहिले नयाँ पुस्ता बम्बई मन्द्रास छाडेर कतार, साउदी, दुबई, इराक, अफगानिस्तान, जापान, तथा अन्य देशमा छन् । भारतमा केही छन् । केही भारतमै घर किनेर बसेकाहरू छन् ।
भित्ताकोरेदेखि रामायण सिलक गाउने श्यामसरेसम्म, कृषिकर्म घिरिम्लेदेखि बबरेसम्म, पराल बेच्ने लालेदेखि, दाउरा चिर्ने खान्चोकेसम्म, खरिकुनेदेखि कोठेजस्ता सिपालु, मेहनती श्रमजीवी, कर्मशील पात्र रहेको यो कन्धनीडाँडामा अनेकन विविधता छ । सबै जातजातिमा सदभाव छ । उब्जनी कम छ । पहाडमा खेती कम छ तर, फाँट अब्बल छ । तर, अहिले धानको सट्टा घर फलेका छन् । विजयपुर नहरको पानी पोखडोल तथा सेनिटेसनमा खपत भएको छ । शासकको कुबुद्धि र सनकले यस्ता सयौं गाउँको हालत यही छ । गाउँको औधी माया लाग्छ तर, शहरले छोड्दैन । शहरको दलदल टेकेपछि पाइला सार्न सकिन्न।
कन्धनीडाँडामा आउन दुईवटा बाटो छन्– एक विजयपुर तीनपिप्ले पृथ्वीराजमार्गबाट उत्तरतर्फ उकालो बाटो र अर्को बाँझापाटनबाट वनको बाटो भएर पूर्व उकालो आउने बाटो । त्यो बेला राजमार्गको विजयपुरको पुलनेर तीनवटा पिपलको बोट थिए त्यसैले तीनपिप्ले भनिन्थ्यो न अहिले पिपल छन् न चौतारा र सभ्यता ।
धान, मकै, गहुँ, कोदो, जौं, फापर, घैया, मास, भट्टमास आदि उब्जनी हुने यो गाउँमा हरियो सागपात फलफूल कम छ । सार्वजनिक बसको खडेरी नै छ । जागिरेलाई मात्र मिल्दो छ टेन टु फाइभ तर अन्य मानिसलाई बस कुर्न हैरानी छ ।
अर्कोतर्फ बादर आतंक छ । बाँदरले नै गाउँको कृषि विस्थापित गरिदिएको छ ।
नांङ्गा चौर, डाँडा, मैदान, वन, पाखापखेरा सार्वजनिक प्रतिजमिन अतिक्रमण बढेको छ । चौरभरि घरैघर छन् । हुनेले पनि लिएका छन्, नहुनेले त लिने नै भए । आखिर चौर गाउँलेकै हो तर, पनि चौर जोगाए केही वातावरण जोगिन्थ्यो कि ?
अधिकांश नेपाली फिल्म सुटिङ्गस्थल लाँकुरीको डाँडा अति रमणीय छ । जहाँ शहरबाट पिकनिक गर्न दैनिक दैनिक युवायुवती आउँछन् । उच्च भूभाग, वन हरियाली, यातायातको पहुँच खुल्ला चौर, उत्तरमा स्पष्ट हिमाल देखिने भएकाले होला यो गाउँमा धेरै छायाङ्कन भएका छन् ।
गाउँमा उत्तरी क्षेत्रमा सरकारी वन छ र पनि पानी कठिन नै छ । खेती गर्न पानीको अभाव छ । अहिलेको अवस्थामा बोरिङ्गको पानीले केही राहत छ तर, गाउँमा मान्छे कम छन्।
गाउँमा त्यो बेलाका मोतीलाल, लिले, रामचन्द्रेको चिया पसल प्रख्यात थिए। अहिले पनि विद्यमान छन् । चाहे जुवा खाल होस् या चिया पसल निकै भिड हुन्थ्यो । गाउँले सबै भेला हुन्थे । सदभाव थियो । गाउँमा जागिरे कम थिए । एक बाली लगाउने भएपछि फुर्सदै फुसर्द हुन्थ्यो । अनाजले नपुग्ने भएपछि गाउँमा बेसाएर खाने अवस्था थियो।
अहिले घर घरमा लाहुरे, वैदेशिक रोजगार छन् । गाउँ रमाइलो छ, घरघरै बाटो छन् । घरैघर मोटरसाइकल र स्कुटर गुड्छन् । सबै कुरा शहरबाट आउँछ । खेतबारी बाझै । मानिस हमेशा मोबाइलमा छन् । ‘जाँगर न सागर खाने बेलामा आँ गर’ भने झै छ ।
गाउँ नछाडौं, गाउँ नर्बिसौं, गाउँलाई बाटो होइन जन चाहिएको छ । बाँदर होइन मान्छे चाहिएको छ । यसर्थ, सरकारले गाउँमा दश वर्ष बसेर केही गर्ने योजना ल्याउने युवायुवतीलाई विनाधितो कृषि उद्यम ऋण देओस् । पढेका मानिस गाउँ पठाउन सरकारले नीति बनाओस् ।